२०८३, कार्तिक १२ गते बिहीबार

नरहरिनाथको घ्यूले बजार पाएन

नरहरिनाथको घ्यूले बजार पाएन


  • मेरोभ्यूज
  • पौष २, २०८१ मंगलबार

  • नरहरिनाथको घ्यूले बजार पाएन

    मान्म, कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिकाका किसानले उत्पादन गरेको घ्यूले बजार पाउन सकेको छैन ।

    यहाँका किसानले पुस्तौदेखि पशुपालन गर्दै आएका छन् । वडा नं ९ लालुका भैँसीपालक किसान रजबहादुर शाहीले आफूहरूले उत्पादन गर्ने दूध, दही र घ्यूले बजार पाउन नसकेको बताए ।

    “मैले जन्मेदेखि नै भैँसीपालन गर्दै आएको छु । विगतमा हामीले उत्पादन गरेको घ्यू बर्दियाको राजापुर र कैलालीको चिसापानी बजारमा लगेर बेच्ने गरेका थियौँ तर बजारमा आउने नयाँ, नयाँ आधुनिक तेलहन वस्तुका कारणले पनि घ्यूको महत्व घटेको होला, अचेल बिक्री हुँदैन”, उनले भने ।

    यस क्षेत्रमा प्रशस्त चरिचरन क्षेत्र भएका कारण अधिकांश परिवारले पशुपालन गर्ने गरेको तर दुग्धजन्य उत्पादनले बजार नपाउँदा समस्या भएको वडा नं ७ का किसान रामबहादुर बटालाले गुनासो गरे ।

    “बजार अभावमा स्थानीयले उत्पादन गरेको घ्यू घरमै थन्किने गरेको छ”, उनले भने, “दूध बिक्री नहुने भएकाले घ्यू बनाउनु यहाँका किसानको बाध्यता छ । अब त्यही पनि बिक्री नभएपछि के गरेर जीविकोपार्जन गर्नु ।”

    गाउँपालिका–५ रुप्साका कृषक रणबहादुर सहकारीले सबैको घरमा पशुपालन हुने भएकाले स्थानीयस्तरमा उत्पादन बिक्री नहुने र बाहिर पनि खासै बजार व्यवस्थापन गर्न नसकिएको बताए ।

    गाउँपालिका पशु सेवा शाखा प्रमुख कटकबहादुर बुढाले पनि यहाँका अधिकांश किसानले गाईभैँसी पालन गरिरहेकाले बजार पाउन कठिनाइ भएको बताए ।

    गाउँपालिकाका पूर्वअध्यक्ष धीरबहादुर विष्टले स्थानीय उत्पादनको बजारका लागि पालिकाले नै व्यवस्थापन गर्न जरूरी रहेको बताए ।

    गाउँपालिका उपाध्यक्ष कमलबहादुर शाहले गाउँपालिकाले पशुपालन गर्ने किसानका लागि प्रोत्साहन दिने गरेको र यहाँ उत्पादन हुने दुग्धजन्य वस्तुको बिक्रीका लागि पहल थालिएको जानकारी दिए ।

    “पशुपालन क्षेत्र बढाउनका लागि गाउँपालिकाले विशेष योजना ल्याएर काम गरिरहेको छ, हाल पशुपालक किसानलाई मासिक रु एक हजार प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ । अब उत्पादनको बजार व्यवस्थापनमा लाग्छौँ”, उनले भने, “पालिकाले यहाँ उत्पादन हुने दुग्धजन्य वस्तुको बजारको खोजी रहेको छ । जुम्ला र हुम्ला जिल्लामा पठाउने विषयमा छलफल भइरहेको छ ।”


    प्रकाशित : मंगलबार, पौष २ २०८११०:४९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार