च्याउ बेचेर बार्षिक पच्चीस लाख आम्दानी
अमरगढी, डडेल्धुरा । अमरगढी नगरपालिका–२ मौरडाका खेमराज जोशीले छ बर्षअघि रु दुई लाख ५० हजार लगानी गरेर व्यावसायिक च्याउखेती सुरु गरेको थियो ।
उनले बार्षिक च्याउ बिक्री गरेर बार्षिक रु २० देखि रु २५ लाखसम्म आम्दानी गर्दै आएको छ ।
देशमा रोजगारी नभएको भन्दै कतिपय युवा रोजगारीको खोजीमा विदेशिएका बेला जोशीले वैदेशिक रोजगारी छाडेर कृषि पेसामा भविष्य खोजिरहेको हो ।
विदेशी भूमिमा जति पसिना बगाए पनि सीमित समयका लागि मात्र हुने भन्दै स्वदेशमा स्वरोजगार बन्न कृषि पेसातर्फ आकर्षित भएको उनले बताए । जोशी अहिले ३३ बर्षका हुन । कक्षा १२ सम्म अध्ययन गरेपछि विदेश जाने योजनासहित काठमाडौँ गएको जोशीले सुनाए ।
काठमाडौँ रहँदा विभिन्न किसिममा कृषि फार्महरूको अवलोकन गरेपछि च्याउखेती गर्ने योजना बनाएर गाउँ फर्किएको उनले बताए । अहिले परिवारको सबै खर्च कटाएर बार्षिक रु आठ लाखसम्म बचत हुने गरेको उनले जानकारी दिए ।
दुई रोपनी जग्गा भाडामा लिएर च्याउको बीउ उत्पादनका साथै खेतीसमेत गरिरहेको कृषक जोशीले बताए ।
छ वर्षअघि सुरु भएको च्याउखेतीबाट उनले अहिले जिल्लाको नमूना कृषकका रूपमा स्थापित भएको छ । च्याउखेतीमा भविष्य राम्रो देखेर आफू लागेको जोशीले बताए ।
“पहिले च्याउको बीउ लिन काठमाडौं जानुपर्ने बाध्यता थियो । अहिले आफैँले फार्ममा उत्पादन गरिरहेको छु”, उनले भने, “अधिकांश साथीहरू रोजगारीका लागि भारतलगायत तेस्रो मुलुक पलायन भएका छन् । आफू कृषि पेसामा रमाइरहेको छु ।” उत्पादित च्याउ स्थानीय बजारमा खपत हुने जनाउँदै जोशीले बजारीकरणको समस्या नरहेको बताए ।
एकपटकमा तीन सय किलोसम्म च्याउ बिक्री हुने उनले जानकारी दिए । कम लगानीमा मनग्य आम्दानी लिन सकिने बताउँदै उनले जीविकोपार्जनका लागि युवा विदेश जानुभन्दा स्वदेशमा नै स्वरोजगार बन्न सकिने उल्लेख गरे ।
“डडेल्धुराको च्याउ सुदूरपश्चिमका पहाडी जिल्लासहित तराई पनि पठाउने गरेको छु”, जोशीले भने, “बर्षमा तीन पटक च्याउ उत्पादन गर्न सकिने भएकाले यसबाट प्रशस्त लाभ लिन सकिन्छ ।”
च्याउखेतीबाट सबै खर्च कटाएर बार्षिक रु सात लाखसम्म बचत भइरहेको उनले जानकारी दिए ।
“विदेशमा लगानी गर्ने श्रमले स्वदेशमा दोब्बर आम्दानी हुने रहेछ । अहिले प्रतिकिलो रु दुई सयका दरले च्याउ बिक्री गरिरहेको छु”, जोशीले भने । फार्ममा अहिले सात जनालाई रोजगारी दिएको भन्दै उनले आगामी दिनमा च्याउखेती विस्तार गर्दै लैजाने योजना रहेको उनले बताए ।
स्थानीय सरकार तथा सरोकार भएका निकायले युवालाई स्वरोजगारका अवसर सृजना गर्न, सिप विकास गर्न तालिमसहित आर्थिक, प्राविधिक सहयोग गर्नुपर्नेमा जोशीले जोड दिए ।
प्रकाशित :
मंगलबार, पौष २ २०८१११:००
मेरोभ्यूज
मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।