२०८३, कार्तिक १२ गते बिहीबार

किबीभन्दा अलैँचीबाट नै फाइदा

किबीभन्दा अलैँचीबाट नै फाइदा


  • मेरोभ्यूज
  • पौष ४, २०८१ बिहीबार

  • किबीभन्दा अलैँचीबाट नै फाइदा

    मङ्गलबारे । ‘अब यो किबी उखेलेर अलैँची नै लगाउने हो’ मकै बारी मासेर किबी लगाएका किसान विनोद खतिवडाले भने ।

    करिब सातदेखि १० वटा किबीका झाङ अटाउने जग्गामा एक मन अलैँची फल्ने भन्दै उनले किबीभन्दा अलैँचीबाट नै दशौँ गुणा फाइदा हुने बताए । सुरुमा मकै छर्ने टार बारीमा हाल करिब २० बोट रोपेको छ ।

    किबी र अलैँची तुलना गर्दै उनी भन्छ, “ऊ बेला किबी लगाएको ठाउँमा अलैँची लगाएको भए दुई मन माथि फल्ने थियो, ऐलेको भाउमा पनि दुई लाख माथि नै हुन्थ्यो ।” करिब २० बोट किबीबाट पाँच हजारको पनि आम्दानी नभएको उनको भनाइ छ ।

    इलाम सन्दकपुर गाउँपालिकाका किसान विनोद खतिवडाले मात्र होइन, सो क्षेत्रका अधिकांश किसानले बारीमा किबी लगाएका छन् । अलैँची बराबरको मूल्य अन्य खेतीबाट हुन नसक्ने किसान बताउँछन् । अहिले राम्रो गुणस्तरीय किबी प्रतिकिलो एक सयदेखि डेढ सयसम्ममा बिक्री भइरहेको छ तर अलैँची प्रतिकिलो दुई हजार आठ सय माथिले बिक्री भइरहेको छ । अलैँचीको मूल्य हाल रु एक लाख १५ हजारसम्मले कारोबार भइरहेको छ । कुनै बेला प्रतिकिलो छ सय माथिले कारोबार भएको किबी हाल बिक्नसमेत समस्या भइरहेको किसानहरुको भनाइ छ ।

    बिक्री भएको किबीसमेत कम मूल्यमा गइरहेको किसान बताउँछन् । किबीमा जुन लागत छ सो अनुसारको आम्दानी नहुने गरेको उनीहरु बताउँछन् । किबीको बजारीकरणमा समस्या रहेको किसान ठाकुर खतिवडाको भनाइ छ । किसान आफैँले बजारीकरण गर्नुपर्ने, मूल्यसमेत आलु बराबर मात्र पाइने गरेको उनले बताए ।

    सुरुमा किबी गर्ने किसानहरुले बिरुवा र दानाबाट राम्रो आम्दानी गरेको भए पनि हाल सो मूल्य कायम हुन नसक्दा किसानमा निराशा पैदा भएको छ । सोचेजस्तो आम्दानी नभएको किसान रुद्र खतिवडाले बताए ।

    किबीलाई फलफूलको राजासमेत उपनाम दिइएको छ । एउटै किबीबाट धेरैवटा फलफूलमा पाइने भिटामिन र स्वाद हुने भएकाले यसलाई उच्च गुणस्तरको फलका रुपमा लिइन्छ । तर बजारीकरणमा सरकार तथा सम्बन्धित निकायले चासो नदिएको किसानहरुको आरोप छ ।

    धेरै पौष्टिक तत्वले भरिपूर्ण मानिएको किबी फल इलामसहित काभ्रे, पाँचथर, सङ्खुवासभालगायत जिल्लामा समेत खेती हुँदै आएको छ ।

    पश्चिमी जिल्लाहरुमा समेत पछिल्लो समय इलामबाट नै बिरुवा जान थालेको छ । किबी फलको खेती तथा उपभोग दर विस्तार हुँदै गएको पाइन्छ । यस फलको बोट रोप्दा नै भाले र पोथी प्रजाति पहिचान गरी सँगसँगै रोप्नु पर्दछ । भालेपोथीको परागशेचन नभएमा यसको उत्पादन हुँदैन ।

    भमरा, माहुरीलगायतले फूलमा भएको रस चुस्ने क्रममा यसको परागशेचन हुने गरेको छ ।

    सामुन्द्रीक सहतदेखि एक हजार दुई सय मिटरदेखि माथि दुई हजार चार सय मिटरसम्मको उचाइमा किबी फलको खेती गर्न सकिने बताइएको छ । यसलाई हाँगा (डाँठ) र दिउलबाट पनि थप बिरुवा उत्पादन गर्ने गरिएको छ । रोपेको चौथो वर्षदेखि नै किबी फलको आम्दानी लिन सकिन्छ । पहाडी भू-भागमा यसको उत्पादन राम्रो हुन्छ ।

    इलाममा करिब कुल सात सय ८० हेक्टरमा किबीखेती हुने गरेको कृषि ज्ञान केन्द्र इलामका सूचना अधिकारी तथा कृषि प्रसार अधिकृत जीवन ठाडा मगरले बताए । अघिल्लो वर्ष दुई हजार आठ सय ५२ मेट्रिकटन किबी उत्पादन भएको उनले जानकारी दिए ।

    किबीलाई प्रशोधन गरेर जुस, जामसमेत बनाउन सकिन्छ । जुस, जाम वा अचार बनाउनसमेत पहल गर्ने हो भने किबीलाई पुरानो मूल्यमा फर्काउन सकिने किसानहरुको भनाइ छ ।


    प्रकाशित : बिहीबार , पौष ४ २०८११२:०३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार