२०८३, कार्तिक १२ गते बिहीबार

प्याजका बिरुवा बेचेर रु डेढ लाख कमाइ

प्याजका बिरुवा बेचेर रु डेढ लाख कमाइ


  • मेरोभ्यूज
  • पौष ५, २०८१ शुक्रबार

  • प्याजका बिरुवा बेचेर रु डेढ लाख कमाइ

    रामपुर, पाल्पा । रामपुरका गोविन्दप्रसाद दुवाडीले एक मौसममा प्याजका बिरुवा बेचर रु एक लाख ५० हजा बढी आम्दानी गर्छ ।

    विगत २८ बर्षदेखि व्यावसायिकरूपमा प्याजका बिरुवा उत्पादन गर्दै आएका उनी गाउँमा असल बिरुवा उत्पादक किसानका रूपमा चिनिन्छ ।

    रामपुर नगरपालिका–३ गण्डकीढिकस्थित कालीगण्डकी करिडोरको सडक छेउमा दुवाडीको घर छ । करिब एक रोपनी जग्गा प्याजका बिरुवा उत्पादन गर्न छुट्याएको उनले बताए ।

    लामो समयदेखि निरन्तररूपमा नर्सरी तयार गरी प्याजका बिरुवा उत्पादन तथा बिक्री गर्दै आएको उनको भनाइ छ । उनका अनुसार बिरुवा बिक्री गरेर एक सिजनमा रु एक लाख ५० हजारबढी आम्दानी हुन्छ ।

    “बिरुवा उत्पादन गर्न धेरै समय नलाग्ने, कम लगानीमा मनग्ये आम्दानी लिन सकिन्छ”, दुवाडीले भने, “स्थानीय तथा बाहिरबाट आउने व्यापारीले यहाँबाट बिरुवा खरिद गरी लैजान्छ ।”

    प्याज खरिद गर्न आउने ग्राहकले बन्दा, काउली, ब्रोकाउली, गोलभेँडालगायत बिरुवा खोज्ने भएकाले यी बिरुवा पनि उत्पादन थालेको उनले जानकारी दिए । दुवाडीका अनुसार प्याज रु एकको तीनवटा, काउली रु पाँचको एउटा, हाइब्रिड बन्दा रु पाँचको एउटा, स्थानीय बन्दा रु पाँचको दुईवटा, ब्रोकाउली रु १० को एउटा बिक्री भइरहेको छ ।

    “प्याजका बिरुवा उत्पादनलाई प्रमुख व्यवसाय बनाएको छु । यहाँ आउने ग्राहकको सजिलोका लागि अन्य तरकारीका बिरुवा पनि उमार्ने गरेको हुँ”, उनले भने, “एकै ठाउँमा आफूलाई चाहिएको सबै जातका बिरुवा पाइने भएपछि ग्राहकलाई पनि सहज भएको छ ।” आफूले रोप्न बिरुवा खरिद गर्दा रोजेर लैजान नदिएपछि अर्को बर्षदेखि आफैँले उत्पादन थालेको दुवाडीले बताए ।

    आधाकिलो प्याजको बिउबाट व्यवसाय सुरु गरेको भन्दै बिरुवा उत्पादन राम्रो हुँदै गएपछि क्षेत्रफल पनि बढाउँदै लगेको उनले उल्लेख गरे । यहाँ उत्पादित बिरुवा काठमाडौँ, पोखरा, नारायणगढ, तानसेन, बुटवल, स्याङ्जा, तनहुँ, नवलपरासीलगायत विभिन्न स्थानमा खपत हुने गरेको छ ।

    यसबर्ष रु एक लाख ५० हजार बढीको आम्दानी हुने अनुमान गरिएको उनकी श्रीमती मतिकला दुवाडीले बताए ।

    बिरुवा उखेल्ने र बिक्री गर्ने काममा श्रीमान श्रीमती दिनभर खटेर काम गर्छन । यात्रुले गाडी रोकेर बिरुवा खरिद गर्नाले उनीहरूलाई उखेलेर बेच्न भ्याइनभ्याइ हुने मतिकलाले बताइन ।

     “यात्रुले हरियाली बिरुवा देखेपछि गाडी रोकेर लैजाने गर्छ । हामीले तयारी बनाएर राखिदिने गरेका छौँ”, उनले खुसी हुँदै भने ।

    रामपुर–६ स्थित प्याक्लुक बस्ने राधिका बस्यालले पनि करिब एक रोपनी जग्गामा नर्सरी तयार पारेर बिरुवा उत्पादन गर्छिन ।

    प्याज, काउली, बन्दा, ब्रोकाउली, गोलभेँडा उत्पादन सँगसँगै हुने भएकाले एक सिजनमा रु एक लाखबढी आम्दानी हुने गरेको उनले जानकारी दिए । तरकारी खेतीको तुलनामा छोटो समयमा बढी आम्दानी हुने भएकाले बिरुवा उत्पादनमा जोड दिएको उनको अनुभव छ ।

    पछिल्लो समय घरायसी प्रयोजनका लागि घर–घरमा काउली, बन्दा, ब्रोकाउली, प्याज, गोलभेँडालगायत बिरुवा लगाउने चलन बढेकाले बजारीकरणको समस्या नभएको बस्यालले बताए ।

    छोटो समयमा धेरै आम्दानी गर्न सकिने भएकाले पछिल्लो समय बिरुवा उत्पादनमा किसानको आकर्षण बढेको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले बताए । ठूलो परिमाणमा उत्पादन गर्ने किसानलाई शाखाबाट प्राविधिक तथा तालिमलगायतमा सहयोग गरिने उनको भनाइ छ ।


    प्रकाशित : शुक्रबार, पौष ५ २०८११०:३३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार