२०८३, कार्तिक १७ गते मंगलबार

धार्मिक पर्यटनको केन्द्र बन्दै भैरवी मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै भैरवी मन्दिर


  • मेरोभ्यूज
  • पौष ६, २०८१ शनिबार

  • धार्मिक पर्यटनको केन्द्र बन्दै भैरवी मन्दिर

    मलेखु, धादिङ । यहाँको नीलकण्ठ नगरपालिका–६ स्थित भैरवी मन्दिर पर्यटनको गन्तव्य बनेको छ  ।

    पहाडको चुचुरोमा रहेको यस मन्दिरबाट गणेश, मनास्लु, मानापाथीलगायत हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ मन्दिरको दर्शन गर्न, बिदा मनाउन, रमणीय दृश्यावलोकन गर्न आउनेहरुको भीड लाग्न थालेको छ ।

    “राम शाहले विसं १६६६ मा स्थापना गरेको आठ शक्तिपीठमध्ये भैरवी मन्दिर पनि एक हो । उनले स्थापना गरेको कुरा लालमोहरमा लेखिएको छ ”, भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव कृष्णबहादुर श्रेष्ठले भने, “पृथ्वीनारायण शाहले नुवाकोट विजय गर्न नसकेपछि भैरवी मन्दिरमा बासबसी भाकल गरेको र त्यसपछि विजय भएको किम्वदन्ती छ ।”

    पूजारी र बाजा बजाउनेलाई शाहले गुठीको नाममा ९० रोपनी ११ आना दुई पैसा जग्गा व्यवस्थापन गरिदिएका थिए ।

    जिल्ला प्रशासन कार्यालयले हाल पूजा सञ्चालनका लागि हरेक बर्ष छ हजार सात सय ३२ रुपैयाँ ५० पैसा उपलब्ध गराउने गरेको छ ।

    यस मन्दिरमा पूजासहित बडादसैँ र चैते दसैँमा विशेष मेला लाग्छ । मन्दिरमा विशेष पूजा, भाकल तथा बलि चढाउने परम्परा छ  । बडादसैँको नवमीका दिन यहाँ सुङ्गुर बलि गरिन्छ । मन्दिर पुग्न सदरमुकामबाट १८ किलोमिटर पार गर्नुपर्छ ।    

    भैरवी मन्दिरलाई नीलकण्ठ नगरपालिकाले विशेष प्राथमिकताका साथ संरक्षण तथा प्रवर्द्धन गर्दै आएको नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माले जानकारी दिए ।

    “भूकम्पले जीर्ण मन्दिर पुनःनिर्माण गरिएपछि मन्दिर घुम्न तथा दर्शन गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको छ । यहाँबाट चारैतिर हिमशृङ्खला देखिने भएकाले पर्यटक आकर्षित भएका हुन्”, उनले भने ।

    यहाँ भारतदेखि पर्यटक मन्दिर दर्शन तथा अवलोकनका लागि आउने गरेको मन्दिरका पूजारी भगवान राना मगरले जानकारी दिए ।

    जिल्लाका विभिन्न सङ्घ संस्थाले भैरवी मन्दिरसम्म पदयात्रा गर्न थालेपछि मन्दिरको थप प्रचार-प्रसार भएको छ ।

    नीलकण्ठ नगरपालिका–३ का वडाध्यक्ष राजकुमार श्रेष्ठले पदयात्रा र मन्दिरको प्रचार-प्रसारले यस ठाउँको प्रचारमा सहयोग पुगेको बताए ।


    प्रकाशित : शनिबार, पौष ६ २०८११०:१३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार