कञ्चनपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी बलियो र देशको एक नम्बरको पार्टी भए देशमा सुशासनको नयाँ युग सुरु हुने बताएका छन् । कञ्चनपुरको पुनर्वासमा आयोजित भ्रष्टाचार र वेथितिका विरुद्ध खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्दै उनले केपी शर्मा ओली नेतृत्वकाे सरकारले गरेका भ्रष्टाचारका हरेक काण्डलाई खोतलेर कारबाही गरिने उद्घोष गरे ।
अध्यक्ष प्रचण्डले भने - 'हामीलाई एक नम्बरको पार्टी भए मात्रै देशमा भ्रष्टाचारको अन्त्य हुने छ, ओली सरकारले यति धेरै भ्रष्टाचार गरेको छ । भ्रष्टाचारीलाई यसै छाडिने छैन। गिरीबन्धु, यति, ओन्नीमा, नक्कली भुटानी शरणार्थी बनाएर गरिएको भ्रष्टाचार, वाइडबडी खरिदमा गरिएको भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्न माओवादी केन्द्रलाई बलियो बनाउन जरुरी छ ।'
माओवादी बलियो भयो भने मात्रै देशमा सुशासनको नयाँ युग सुरु हुने उल्लेख गर्दै उनले भ्रष्टाचारीहरुलाई लखेट्ने प्रक्रिया सुरु गरिसकिएकाे बताए । आफ्नो नेतृत्वकाे सरकारले भ्रष्टाचारविरुद्ध, सुशासन, सामाजिक न्याय, समृद्धिका पक्षमा काम गरेको बताउँदै अध्यक्ष प्रचण्डले मिटर ब्याजीहरू मिटर ब्याजको नाममा जनतालाई शोषण गर्नेहरु पनि भयभीत र आतंकित भएर सरकार ढाल्ल लागि परेको बताए ।
'सरकार सुशासनका विरुद्ध भ्रष्टाचारका पक्षमा छ। भ्रष्टाचारका विरुद्ध छैन', उनले भने ।
अध्यक्ष प्रचण्डले सरकार गलत कदम र आफु नेतृत्वले गरेका कामका कारण देशभर माओवादी केन्द्रमा देशैभरि पनि माओवादीमा एकताबद्ध हुने समायोजन हुने लहर चलेको बताए । पुनर्वासमा एमाले, कांग्रेस लगायतका पार्टीमा क्रियाशिल नेता कार्यकर्तालाई माओवादी केन्द्रमा स्वागत गरेका प्रचण्डले भने - 'देशैभरि पनि माओवादीमा एकताबद्ध हुने समायोजन हुने लहर चलेको छ । पर्सि म झापा जाँदै छु। प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्रमा त्यहाँ पनि हजारौं प्रवेश गर्ने तयारी छ ।'
सो क्रममा सुदूरपश्चिमको विकासमा आफु दत्तचित भएर लागेको बताउँदै भारत भ्रमणको बेलामा सिमानाको समस्या समाधान गर्नको निम्ति कञ्चनपुरका विभिन्न भागमा रहेका सीमा समस्यादेखि लिपुलेख कालापानीको समस्या सम्म पनि मैले खुलेर भारतीय प्रधानमन्त्रीसँग कुरा गरेको स्मरण गरे ।
आफू प्रधानमन्त्री हुँदा सुदूरपश्चिममा विश्वविद्यालय स्थापना, मध्यपहाडी र हुलाकी लोकमार्ग निर्माण, कैलाली भजनीमा ४०० केबीको अन्तर देशीय प्रसारण लाइन निर्माण र कृषि तथा स्थानीय स्रोतमा आधारित उद्योग स्थापनाका लागि नीति निर्माण विद्युतको क्षेत्रमा पनि सेती परियोजना अगाडि बढाएको उनकाे भनाइ छ ।
त्यसैगरी, चीनसँग खुलेको नाकाले सुदूरपश्चिमको आर्थिक विकासमा टेवा पुग्ने बताए । हुम्लाको चीनसँगको चीनले अनुदानमा बाटो बनाउने सहमति भइसकेको र सो काम अगाडि बढ्ने उनले जानकारी दिए ।
सुदूरपश्चिममा भौतिक पूर्वाधारको क्षेत्रसँगै अन्य प्रगतिका निम्ति पनि कोसिस गरेको बताउँदै उनले कैलाली, कञ्चनपुर लगायतका क्षेत्रमा नदी नियन्त्रणसँग सम्बन्धित कामलाई दृढतापूर्वक अगाडि बढाउन आफुले पहल लिने विश्वास समेत दिलाए । राज्य सत्ताबाट विभेद र अपमानमा परेको सेती महाकालीलाई न्याय दिने उद्देश्यले नै माओवादी केन्द्रले कञ्चनपुरको पुनर्वासका समस्या समाधानमा दृढतापुर्वक लागेको उनले बताए ।

