२०८३, कार्तिक १२ गते बिहीबार

सुन्तला किन्न व्यापारी बगैँचामा

सुन्तला किन्न व्यापारी बगैँचामा


  • मेरोभ्यूज
  • पौष १३, २०८१ शनिबार

  • सुन्तला किन्न व्यापारी बगैँचामा

    वालिङ, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–५ पाँडेथोकका अगुवा कृषक हुमनाथ लामिछाने यस वर्ष बगैँचाबाटै सुन्तला बिक्री गरे ।

    आफ्नो फार्ममा उत्पादित सुन्तला काठमाडौँस्थित अकिष्टा नेपाल प्रालिले खरिद गर्ने सम्झौता गरेसँगै बजारीकरणमा सहज भएको हो ।

    पित्लेक कालिका कृषि फार्म र अकिष्टा नेपाल प्रालिबीच यहाँ उत्पादित सुन्तला खरिद बिक्री गर्ने सम्झौताअनुरुप कार्यान्वयन भएकाले उत्पादित सुन्तलाको बजारीकरणमा सहज भएको अगुवा कृषक लामिछानेले बताए ।

    “कम्पनीसँग यसवर्ष सम्झौता भएबमोजिम प्रतिकेजी रु ६५ का दरले हामीले बिक्री गर्यौँ”, उनले भने, “कम्पनीबाट दुई/तीन जना कामदारसहित गाडी आयो, सुन्तला टिपेर लोड गरेर पठायौँ, ग्राहक खोज्नुपर्ने झन्झट भएन ।”

    कम्पनीसँग सम्झौता गरेर काम गर्दा अझै विश्वासिलो आधार भएकाले आफ्नोसहित अन्य छिमेकीहरुको पनि सुन्तला टिपेर पठाएको उनले बताए । किसान लामिछानेले यस वर्ष ६० क्विन्टल सुन्तला प्रतिकेजी रु ६५ का दरले बिक्री गरिसकेको छ ।

    “दुई पक्षबीच भएको सम्झौताबमोजिम आफ्नोमात्रै अहिलेसम्म ६० क्विन्टल सुन्तला काठमाडौँ पठाइसकेको छु”, उनले भने, “अब तीन/चार क्विन्टल सुन्तला टिप्नै बाँकी छ त्यो पनि पठाउने तयारी भइरहेको छ ।”

    यस वर्ष बिक्री भएको सुन्तलाबाट रु तीन लाख ९० हजार आम्दानी भइसकेको र अब रु २५/३० हजारको सुन्तला बिक्री हुन बाँकी रहेको उनले बताए ।

    गत वर्ष पनि सुन्तला बिक्रीबाट रु तीन लाख २५ हजार आम्दानी गरेका लामिछानेले यस वर्ष रु चार लाखभन्दा बढी आम्दानी गरेको हो ।

    दश वर्ष पहिला व्यावसायिकरुपमा सुन्तलाखेती थालेका लामिछानेको बगैँचामा हाल पाँच सय ५० बोट सुन्तला छन् । ती बोटमध्ये हाल तीन सय ५० बोटले फल दिन्छन् भने अरु बोट सानै छन् । विगत पाँच वर्षदेखि सुन्तला बिक्री गरी आम्दानी लिन थालेको हो ।

    “तेह्र रोपनी क्षेत्रफलमा सुन्तला बगैँचा फैलिएको छ”, उनले भने, “सबै बोटले उत्पादन दिँदा आम्दानी झण्डै दोब्बरले वृद्धि हुन्छ ।” गत वर्ष पनि काठमाडौँकै एक कम्पनीसित सुन्तला खरिद बिक्रीको सम्झौता भएर बिक्री गरेको उनले बताए ।

    लामिछानेले जस्तै जिल्लाका अधिकांश व्यावसायिकरुपमा सुन्तला उत्पादन गर्ने कृषकले व्यापारीसित सम्झौता गरेर बजारीकरण गर्दै आएका छन् ।

    स्वादका दृष्टिले छुट्टै पहिचान बनाएको स्याङ्जाको सुन्तला काठमाडौँ, पोखरा, नारायणगढ, बुटवललगायतका ठूला सहरका व्यापारी तथा कम्पनीले बगैँचाबाटै खरिद गर्ने गरेका छन् । व्यापारीले बगैँचाबाटै सुन्तला खरिद गरिदिने भएकाले पनि जिल्लामा उत्पादित सुन्तलाको बजारीकरणमा समस्या नभएको हो ।


    प्रकाशित : शनिबार, पौष १३ २०८११०:००
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार