२०८३, कार्तिक १२ गते बिहीबार

दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री

दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री


  • मेरोभ्यूज
  • पौष १३, २०८१ शनिबार

  • दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री

    बेनी, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजाले यस वर्ष रु सात लाख ५० हजार बराबरको सुन्तला बिक्री गरेको छ ।

    तीन सय ५० बोट सुन्तला लगाएका उनले गत वर्ष रु दुई लाख ५० हजारको मात्रै सुन्तला बिक्री गरेको थियो । सुन्तला उत्पादन वृद्धि भएसँगै सुन्तलाबाट आम्दानी बढेको उनले बताए ।

    दोसल्लेमा विगत करिब १३ वर्षदेखि सुन्तला खेती हुन थालेको थियो । सुन्तलाबाट मनग्य नगद आम्दानी हुन थालेपछि यहाँका किसानहरु परम्परागत अन्नबाली लगाउन छाडेर सुन्तला खेती विस्तारमा जुटेका छन् ।

    सुन्तला खेतीलाई विस्तार र व्यावसायिक बनाउन दोसल्ले व्यावसायिक सुन्तला जात कृषक समूह गठन गरेर यहाँका स्थानीय सुन्तला खेतीमा लागेका छन् ।

    समूहका अध्यक्षसमेत रहेका पाइजाले गत वर्ष गाउँबाट रु ८० लाखको सुन्तला निकासी भएकोमा यस वर्ष रु एक करोड ५० लाख बढीमा व्यवसायीले बोटबाटै सुन्तला ठेक्का लिएको जानकारी दिए ।

    “यस वर्ष सुन्तलाको उत्पादन अति नै राम्रो छ, अधिकांश किसानको सुन्तला बोटबोटै बिक्री भएको छ, व्यवसायीले पेस्की रकम किसानलाई उपलब्ध गराइसकेका छन्”, पाइजाले भने ।

    दोसल्ले गाउँमा करिब दस हजार सुन्तलाका बोट छन् । दोसल्ले गाउँमा मात्रै होइन, जिल्लाभरमै सुन्तलाको उत्पादन बढेको छ भने किसानले मूल्य विगतको तुलनामा राम्रो पाएका छन् ।

    सुन्तला बोटमा पहेँलपुर बनेर पाकेसँगै व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गर्न थालेका छन् । अनुकूल मौसम, बगैँचाको राम्रो गोडमेल र व्यवस्थापनको कारण सुन्तलाको उत्पादन बढेको कृषि प्राविधिकहरुको भनाइ छ ।

    बेनी नगरपालिका–३ राखुका किसान डेकबहादुर घर्तीले गाउँबाट गत वर्ष रु एक करोडको सुन्तला बिक्री भएकोमा यस वर्ष रु एक करोड ६० लाख बढी आम्दानी हुने अनुमान गरिएको बताए ।

    “सुन्तला टिप्न व्यवसायी बगैँचामा आइसकेका छन्, उत्पादन राम्रो छ, गत वर्षको तुलनामा दोब्बरजस्तै फल लागेको छ, उत्पादन भएको सुन्तलाको बजारको अभाव छैन”, उनले भने ।

    उनका अनुसार ६२ घरधुरीको बसोबास रहेको राखुका सबैले सुन्तला खेतीलाई व्यावसायिक बनाएका छन् । यहाँका अगुवा किसान रामबहादुर घर्तीले रु सात लाख ५० हजार, जीतबहादुर आलेले रु सात लाखमा आफ्नो बगैँचाको सुन्तला ठेक्कामा बिक्री गरिसकेको छ ।

    जिल्लाको राखु, मरेक, बास्कुना, सुर्केमेला, बरङ्गजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना, नारच्याङलगायतका क्षेत्रमा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ ।

    बेनी–४ बास्कुना गाउँमा मात्रै यस वर्ष सुन्तला बिक्रीबाट रु एक करोड भित्रिएको छ । यहाँका १६ घरधुरीले व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् । अगुवा किसान रहेका वडासदस्य सन्दीप खत्रीले गत वर्ष बास्कुनाबाट रु ८० लाखको सुन्तला बिक्री भएकोमा यस वर्ष उत्पादन बढेको कारण किसानको आम्दानी बढेको बताए ।

    जिल्लामा उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, नारायणगढलगायतका बजारमा निकासी हुने थालेको छ । गत वर्षको तुलनामा डेढ गुणाले सुन्तलाको उत्पादन बढेको अनुमान गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

    जिल्लामा यस वर्ष सुन्तला उत्पादन बढेको र क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अवस्था अध्ययन गरी विवरण सङ्कलन भइरहेको केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले जानकारी दिए ।

    म्याग्दीमा आठ सय दस हेक्टर जमिनमा सुन्तला खेती हुँदै आएकोमा चार सय २० हेक्टर जमिनको सुन्तलाका बोटले मात्रै फल दिने गर्छ । गत वर्ष जिल्लाबाट तीन हजार छ सय मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।


    प्रकाशित : शनिबार, पौष १३ २०८११०:०२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार