काठमाडौं । मध्यपुरथिमि नगरपालिकाले २६ वर्षपछि आयोजना गरेको तीनदिने ‘मध्यपुर महोत्सव’ मा अवलोकनकर्ताको घुइँचो लागेको छ । महोत्सवमा शङ्खधर साख्वाः चोकबाट बालकुमारी, चपाचो, बाहाखा बजार सम्म अवलोकनकर्ताकोको घुइँचो लागेको हो ।योमरी, बारा, चटामरी, नेवारी खाजा लगायत स्थानीय परिकारका स्थल राखिएका कक्षमा अवलोकनकर्ताको बढी उपस्थिति देखियो । महोत्सवमा आउनेहरूको आकर्षण अैँला, छ्याङका साथै नेवारी परिकारका खानाका स्टलमा बढी देखियो । अवलोकनका लागि सांसद, नगरपालिकाका प्रमुख, विभिन्न दलका नेता तथा जनप्रतिनिधि लगायत आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य उपस्थिति भए ।
यहाँका सम्पदाको संरक्षण र प्रचारप्रास गर्दै पर्यटन र आर्थिक विकासमा टेवा पुग्नेगरी महोत्सव आयोजना गरिएको छ । महोत्सव हेर्न आएका अवलोकनकर्ताको घुइँचो र उत्साहले पर्यटन प्रवर्द्धनमा सकारात्मक उर्जा थपेको बताउँदै यसले यहाँका धार्मिक तथा ऐतिहासिक सम्पदा, कला र संस्कृतिको महत्वलाई दर्शाएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले उल्लेख गरे ।
नगरमा दीर्घकालीन रूपमा आर्थिक समृद्धि हासिल गर्न, मध्यपुरको पर्यटनलाई स्थानीय विकासको साझेदार बनाउँदै स्थानीय मौलिकतालाई केन्द्रमा राखेर महोत्सव सञ्चालन गरिएको छ । यसले स्थानीयको जीवनस्तर उकास्न टेवा पुर्याउनुका साथै नगरको दिगो विकासमा सहयोगी बन्ने छ ।
महोत्सव अवधिभर नगरको ऐतिहासिक कला, संस्कृति, जात्रा, पर्व र सम्पदाको प्रदर्शन गरिने छ । स्थानीय मौलिक खाना, पेसा र उत्पादनको प्रवर्द्धन गर्दै मध्यपुरलाई स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्यका रूपमा परिचित गराउने उद्देश्य रहेको छ । महोत्सव शङ्खधरचोकबाट सुरु भई विभिन्न कार्यक्रम र प्रदर्शनी गरिँदै बालकुमारी, चपाचो, नगदेश, बोडे, टिगनी, नीलबाराहीसम्मका ऐतिहासिक बस्ती क्षेत्रमा गतिविधि सहित सञ्चालन भएको छ ।
मध्यपुरलाई पर्यटकीय गन्तव्यका रूपमा परिचित गराउन २६ वर्षपछि महोत्सव आयोजना गरेका हो । महोत्सवमा नगरभित्र पाँच सयभन्दा बढी स्टल छन्, स्थानीय कला, संस्कृति र सम्पदाको प्रदर्शन गर्ने, स्थानीय मौलिक पेसा, परिकार र उत्पादनको प्रवर्द्धनलाई जोड दिएको छ ।
यस महोत्सवमा एक सय पाँच ठाउँमा घरेलु उत्पादनका सामान, विभिन्न २५ प्रकारका नाचका साथै माटाका भाँडा बनाउने कला प्रदर्शनी, प्रत्येक पाटीपौवामा दाफाभजन लगायत कला, संस्कृति समावेश गरिाइएको छ।
थिमिमा २६ वटा सांस्कृतिक बाजागाजा, ५० पार्टीमा दाफाभजन, भगवान् गौतमबुद्धको अस्तुधातु, चपाचोको पाटी विहार र नगदेशको बुद्ध विहारमा प्रदर्शन, थिमि भैलः ताहननीको डमीसँग सेल्फी लिन सक्ने, जिब्रो छेड्ने जात्राको प्रतिमूर्ति प्रदर्शनमा छन् । लिच्छवीकालदेखि हालसम्मको नेपाली मुद्रा र सिक्का, माटोको करिब पाँच फिट अग्लो सुकुन्दा, नेपालको पहिलो माटोको आशा हिटरको मौलिक ढोका, टिगनीमा टिकँबजी (चिउरा)को प्रदर्शनी, नगदेशमा सुनको झ्याल, बालकुमारीमा गेडागुडी, नेवारी संस्कृतिमा जन्मदेखि मृत्युसम्मका संस्कार र अन्य चाडपर्वमा उपयोग हुने भोजका परिकारलगायत सामग्री महोत्सवका मुख्य आकर्षणका रूपमा रहेको छ ।

