काठमाडौं । प्रहरी सेवाबाट सेवानिवृत्त चार प्रहरी अतिरिक्त महानिरीक्षक र दुई प्रहरी नायब महानिरीक्षकको बिदाइ गरिएको छ ।
प्रहरी प्रधान कार्यालयमा आज आयोजित समारोहमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सेवा निवृत्त प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य, भीमप्रसाद ढकाल, केदार ढकाल र भरतबहादुर बोहरा तथा प्रहरी नायब महानिरीक्षक विकासराज खनाल र डा देउती गुरूङलाई बिदाइ गरे ।
सो क्रममा प्रहरी महानिरीक्षक कुँवरले सङ्गठनले सुम्पिएका हरेक जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवानिवृत्त भएका वरिष्ठ प्रहरी अधिकृतको व्यावसायिकता, सङ्गठनप्रतिको निष्ठा, बहुआयामिक प्रतिभा, लगनशीलता, नैतिकता र इमानदारीताको प्रसंशा गरे ।
प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्य विसं २०५१ चैत ५ गते, भीमप्रसाद विसं २०५२ भदौ १९ गते, केदार र भरतबहादुर विसं २०५१ चैत ५ गते तथा प्रहरी नायब महानिरीक्षक खनाल २०५१ चैत ५ गते र गुरुङ २०५१ पुस १५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए ।