२०८३, कार्तिक १२ गते बिहीबार

थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी

थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी


  • मेरोभ्यूज
  • पौष १७, २०८१ बुधबार

  • थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी

    गलकोट, बागलुङ । यहाँको बागलुङ नगरपालिका-१२ अमलाचौरका मुकुन्द ढकाल ४४ वर्षको भए ।

    मलेसियामा १२ वर्ष बिताएका ढकालले गाउँमै पशुपालन सुरु गरेको चार वर्ष भएको छ ।

    सुरुमा चारवटा गाई र दुईवटा भैँसी किनेर बलेवा एकीकृत पशुपालन फार्म दर्ता गरेका उनले सुरुका दुई वर्षसम्म पशुलाई दाना, चापट र घाँससमेत ऋण खोजेर किने ।

    बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घसँग जोडिएपछि भने उनले व्यावसायिक अप्ठ्यारोको समाधानसँगै आम्दानी गर्न थालेको छन् ।

    उनको फार्ममा हाल पाँचवटा भैँसी र चारवटा गाई छन् । दैनिक ६० लिटर दूध उत्पादन हुन्छ । उत्पादित दूध गाउँको सहकारीमार्फत बागलुङ दुग्ध उत्पादक सहकारीलाई बेच्ने गरेको छ । ढकालको फार्ममा हुर्कँदै गरेका चारवटा पाडी छन् ।

    दूध बेचेर मासिक रु एक लाख ३० हजार बढी आम्दानी गर्न थालेको उनले बताए । गत वर्ष मात्र रु १७ लाख बढी आम्दानी भएको उनले जानकारी दिए ।

    दूध मात्र नभएर ढकालको फार्मबाट मलमूत्र पनि बिक्री हुने गरेको छ ।

    प्रतिट्याक्टर पाँच हजारका दरले मल बिक्री गर्ने गरेको छ । राम्रो स्याहारसुसार गरेमा थोरै पशुपालनबाट पनि मनग्गे आम्दानी लिन सकिने उनको अनुभव छ ।

    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा घाँस लगाउने, पशु स्याहार गर्ने तालिम लिएर उनले दुई रोपनीमा घाँस लगाएको छ ।

    प्राक्टिकल एक्सन नेपालको सहयोगमा सामुदायिक स्रोत विकास केन्द्र (डिसीआरडिसी)ले अनुदानमा दिएको पाँच सय लिटरको तीन सोलर वाटर हिटरले समय र पैसाको बचत भएको उनको भनाइ छ ।

    पशुपालनमा श्रीमती दुर्गादेवीले मुकुन्दलाई सहयोग गर्दै आएकी छिन । परिवारको साथसँगै उत्पादनले उचित मूल्य प्राप्त गर्न थालेपछि व्यावसायिक पशुपालन सम्भव भएको उनले जानकारी दिए ।


    प्रकाशित : बुधबार, पौष १७ २०८११०:३२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार