२०८३, कार्तिक १२ गते बिहीबार

एउटै परिवारद्वारा ३४ लाखको अलैँची उत्पादन

एउटै परिवारद्वारा ३४ लाखको अलैँची उत्पादन


  • मेरोभ्यूज
  • पौष १७, २०८१ बुधबार

  • एउटै परिवारद्वारा ३४ लाखको अलैँची उत्पादन

    मङ्गलबारे, इलाम । नेपालमा केही गर्न सकिएन । राज्यले केही पनि गरेन भन्ने जमात उस्तै छ । तर गर्नसके कसैको मुख नताकी वार्षिक लाखौँ रुपैयाँ कमाउनेको सङ्ख्या पनि नेपालमा उत्तिकै मात्रामा पाइन्छ । पछिल्लो समय कृषि पेशा छाड्नेको सङ्ख्या त बढ्दै गएको छ । तर कृषि पेशा गरेर मनग्य कमाउने किसान गाउँमा नै रमाइरहेका छन् ।

    कृषि पेशाबाट नै गर्न सके स्वदेशमै बसेर विदेशमा भन्दा बढी आम्दानी गर्न सकिन्छ भन्ने उदारहणको पात्र भएको छ इलामको सन्दकपुर गाउँपालिका–२ का गिरीराज खनाल ।

    उनले यसै वर्ष रु ३४ लाखभन्दा बढीको अलैँची उत्पादन गरेको छ । उनी पूर्व वडाध्यक्षसमेत हुन ।

    सन्दकपुर–२ माइमझुवाका किसान खनालले मकैबारी मासेर लगाएको खेतीबाट ३० मन अलैँची उत्पादन गरेको बताए ।

    अलैँचीको मूल्य हाल १२ वर्षयताकै उच्च अर्थात् प्रतिमन रु एक लाख १५ हजार छ । तीस मन अलैँचीको प्रतिमन रु एक लाख १५ हजारको मूल्यले पनि रु ३४ लाख ५० हजार पर्न जान्छ । यो उनको एकै वर्षको आम्दानी हो ।

    गाउँगाउँमा पुगेका व्यापारीले महँगो मूल्य लगाउने गरेका छन् । बजारमा व्यापारीले अलैँची प्रतिमन रु एक लाख दस हजारमा खरिद गर्ने गरेका छन् ।

    खनालले लामो समयदेखि अलैँचीखेती गर्दै आएको छ । बीचमा किसानले लगाएको अलैँची मासिँदा पनि आफूले सो खेती नछाडेको उनले बताए । बीचमा दानाबाट समेत अलैँची उत्पादन गरेर जिल्ला तथा जिल्ला बाहिरका किसान समक्ष बिरुवा पुर्याएको खनालले बताए ।

    धेरै मेहनत नलाग्ने अलैँचीखेतीबाट मनग्य आम्दानी लिन सकिन्छ । सुरुमा बिरुवा रोप्दा बारी फडानी गर्न र बिरुवा लगाउन धेरै खर्च हुने भए पनि त्यपछि अलैँची उत्पादन भएपछि टिप्न र छोडाउन बढी खर्च हुने गरेको किसान खनालको भनाइ छ । बीचमा गोडमेल, मलजल र पानी लगाउनुपर्ने हुन्छ । सो कार्यमा खास खर्च नलाग्ने उनले बताए ।

    हाल खनालले ३३ रोपनी र २४ रोपनीका दुई प्लटमा अलैँची खेती गरेको छ । हिउँदको समयमा तुसारो पर्ने भएकाले यसबाट जोगाउन ‘ग्रीन नेट’ लगाउने गरिन्छ ।

    आगामी वर्षदेखि उत्पादन बढ्ने उनले बताए । अलैँची लगाएको तीन वर्षदेखि उत्पादन सुरु हुन्छ । गएको वर्ष लगाएको नयाँ बिरुवाबाट पनि उत्पादन बढ्ने उनले बताए ।

    राजनीति गर्ने मान्छेले केही न केही काम गर्नुपर्ने खनाल बताउछ । राजनीति गर्न खर्च आवश्यक पर्ने भएकाले पनि केही काम गर्नुपर्ने भएकाले आफूले कृषि पेशा गर्ने गरेको उनले बताइन । खनाल जस्तै जिल्लाका अन्य किसानले समेत यस वर्ष अलैँचीबाट मनग्य आम्दानी गरेका छन् ।

    व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार बर्सेनी रु चार अर्ब १५ करोड बराबरको अलैँची निकासी भइरहेको छ ।

    चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा सात सय ८३ दशमलव ७५ मेट्रिक टन अलैँची मेची भन्सारबाट निर्यात भएको छ । यो अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशत कम हो । आव २०८०/८१ मा एक हजार पाँच सय २५ दशमलव ९६ मेट्रिक टन अलैँची निर्यात भएको तथ्याङ्कमा उल्लेख छ ।

    अलैँची औषधीय गुण भएको नगदेबाली हो । यसबाट विशेषगरेर औषधिजन्य वस्तु निर्माण हुने गरेका छन् । गर्मीमा अलैँचीलाई शीतलता प्रदानका लागि प्रयोग गर्ने गरिन्छ ।

    मसलाका रूपमा पनि अलैँचीलाई प्रयोग गर्ने गरिन्छ । गाउँघरमा विशेष गरेर मासु पकाउँदा अलैँचीलाई जिरासँग मिसाएर पकाइने गरिन्छ । सर्वत पानीमा समेत यसलाई प्रयोग गरिन्छ । तर नेपालबाट विदेश निर्यात हुने अलैँचीबाट अत्तर (पर्फ्युम)समेत निर्माण हुने गरेको छ ।

    भारतको बाटो भएर विदेश निर्यात हुने अलैँची धेरै मात्रामा चाहिँ औषधिका रूपमा प्रयोग हुने गरेको छ । नेपालमा अलैँची प्रशोधन नहुँदा पनि समस्या भइरहेको छ । झापामा एउटा प्रशोधन केन्द्र भए पनि यो पर्यात नभएको व्यवसायीको भनाइ छ ।


    प्रकाशित : बुधबार, पौष १७ २०८११०:३६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार