२०८३, कार्तिक १७ गते मंगलबार

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको प्रथम वार्षिकोत्सव

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको प्रथम वार्षिकोत्सव


  • मेरोभ्यूज
  • पौष २३, २०८१ मंगलबार

  • राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको प्रथम वार्षिकोत्सव

    काठमाडौँ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको प्रथम वार्षिकोत्सव सम्पन्न भएको छ ।

    राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (गठन) आदेश, २०८० जारी भएपछि बनेको प्रतिष्ठानले पहिलो वार्षिकोत्सव मनाएको हो ।

    सो वार्षिकोत्सवमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूले विदेशमा रहँदा सिकेका सीप, वर्किङ कल्चर तथा कमाएको पूँजीलाई स्वदेशमा परिचालन गर्नुपर्ने बताए ।

    त्यसका लागि प्रतिष्ठानले प्रदान गर्ने तालिमलाई आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट मान्यता दिलाउने कार्यमा अग्रसर भएर लाग्नुपर्ने बताए ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिएर गएका र तालिम नलिइ ईपीएसमार्फत कोरिया जानेहरूको कार्यसम्पादन कस्तो रहेको छ भन्ने विषयमा अध्ययन गर्नुपर्ने बताए ।

    प्रतिष्ठानको कार्यसञ्चालनका लागि आवश्यक पर्ने नियम, निर्देशिका तथा कार्यविधि तयारीमा मन्त्रालयको तर्फबाट पूर्ण सहयोग हुने विचार व्यक्त गरे ।

    प्रतिष्ठानका कार्यकारी निर्देशक रमेशकुमार बखतीले प्रतिष्ठानको गतिविधिमाथि जानकारी दिएका थिए ।

    राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैंसेपाटी, ललितपुर तथा व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरी र बुटवलबाट छोटो अवधिको आधारभूत तथा एड्भान्स तहका सीपमूलक व्यावसायिक तालिमहरू सञ्चालन भइरहेको जनाए ।

    कार्यस्थलमा आधारित (एप्रेन्टिसिप) तालिम सञ्चालन कार्यविधि, २०८१ स्वीकृतिको क्रममा रहेको उनको भनाइ थियो ।

    राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैंसेपाटी, ललितपुर तथा व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरी, बुटवल र वलवाको लागि आवश्यक स्थायी जनशक्ति व्यवस्थापन गर्न सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य भइरहेको बखतीले बताए ।

    वर्तमान अवस्थामा छिमेकी मुलुकका कालीगढ र सीपयुक्त श्रमिकहरूले नेपाली श्रम बजारमा प्रभुत्व जमाइरहेको स्थिति छ ।

    यसको समाधानका लागि स्वदेशी युवालाई सशक्त बनाउनु पर्ने आवश्यकता रहेको भन्दै मन्त्रालयले प्रतिष्ठानमार्फत ती कार्य अघि बढाएको छ । 


    प्रकाशित : मंगलबार, पौष २३ २०८१११:०८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार