राजविराज, सप्तरी । लोकेन्द्र स्मृति दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीद्वारा हरेक वर्ष उपलब्ध गरिँदै आइएको पत्रकारिता पुरस्कार यस वर्ष अरुणकुमार यादवलाई प्रदान गरिएको छ ।
एकतिसौँ स्मृति दिवसका शुक्रबार यहाँ आयोजित एक कार्यक्रममा १६ वर्षदेखि पत्रकारिता गर्दै आएका यादवलाई रू पाँच हजार पाँचसहित उक्त पुरस्कार प्रदान गरिएको हो । पत्रकार महासङ्घ जिल्ला शाखाद्वारा स्व पत्रकार लोकेन्द्र बुढाथोकीको स्मृतिमा उक्त पुरस्कारको स्थापना गरिएको थियो ।
कार्यक्रममा उच्च अदालत जनकपुर राजविराज इजलासका मुख्य न्यायाधीश वामदेव ज्ञवालीले हनुमाननगर कङ्कालिनी नगरपालिका-२ का पत्रकार यादवलाई नगदसहित सम्मानपत्र प्रदान गरेको थियो । न्यायाधीश ज्ञवालीले पत्रकारिता पेसा सत्यतथ्यमा आधारित भइ समाज परिवर्तनका लागि हुनुपर्नेमा जोड दिए ।
जिल्लास्थित नेपाल पत्रकार महासङ्घको अध्यक्ष श्रवणकुमार देवकको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय सदस्यद्वय राजु विश्वकर्मा, ललिता साह, पूर्वअध्यक्ष धीरेन्द्र साह, विष्णुकुमार मण्डल, मुरलीप्रसाद यादव, वैद्यनाथ झा, प्रेस युनियनका अध्यक्ष विनयलाल कर्ण, प्रेस मञ्चका अध्यक्ष भुषण सिंह, प्रेस समाजवादी सङ्गठनका अध्यक्ष अनिल पोखरेल, प्रेस सङ्गठनका अध्यक्ष विन्दु यादव, पत्रकार अनिलअनल विन्दु यादव, अनिल पोखरेललगायत व्यक्तिको सहभागिता थियो ।

