काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेड तिनकुने, काठमाडौंको २३औं र २४औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शुक्रबार नयाँ बानेश्वर, काठमाडौंमा सम्पन्न सो साधारणसभाले कम्पनीको संचालक समितिको तर्फबाट अध्यक्ष हरिप्रसाद पाण्डेद्वारा प्रस्तुत आव २०७९/०८० र २०८०/०८१ को सयुक्त बार्षिक प्रतिबेदन पारित गरेको छ ।
त्यसैगरी लेखापरीक्षक प्रतिबेदनसहित आव २०७९/०८० र आव २०८०/०८१ को वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण साधारणसभाले पारित गर्दै आव २०८१/०८२ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध, निर्वाचन सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।
साधारणसभामा प्रस्तुत प्रतिबेदनमा जनाइए अनुसार आव २०८१ मा कम्पनीको उपल्लो खिम्ती १२ मे.वा. ले १३ करोड १३ लाख ५७ हजार ५४९ रुपैयाँ ६८ पैसा र अपर खिम्ती ७ मे. वा. ले १४ करोड २८ लाख ६६ हजार ७४२ रुपैयाँ ८० पैसा गरी २७ करोड ४२ लाख २४ हजार २९२ रुपैयाँ ४८ पैसा कम्पनीले आम्दानी गर्न सफल भएको छ ।
यसैगरी कम्पनीको अधिकृत पूँजी २ अर्व ५० करोड हुन गएको छ भने जारी पूजी १ अर्व ९८ करोड हुँदा चुक्ता पूजी ९९ करोड कायम भएको आयोजित साधारणसभामा जानकारी गराइएको थियो ।
त्यसैगरी आव २०७९/०८० मा कम्पनीको शेयर अधिकतम रु. ४१५ र न्यूनतम रु. १९४ मा कारोबार भएको कम्पनीले जनाएको छ भने आव २०८०/०८१ मा अधिकतम रु. ३३५.५० र न्युनतम रु.१९९ र आव २०८१/०८२ को पहिलो त्रैमासिक अवधिमा शेयर बजार मूल्य अधिकतम रु. २९१ र न्यूनतम रु.१९६ मा कारोबार भएको कम्पनीले बताएको छ ।
यसैबीच कम्पनीले २५ करोड ७४ लाख २ हजार ३२५ शेयर पूँजी प्राप्त गरेको छ ।
साधारणसभामा शेयरधनीहरुबाट आएका जिज्ञासाको जवाफ कम्पनी अध्यक्ष पाण्डेले दिएका थिए भने साधारणसभाले कम्पनीको आगामी कार्यकालका लागि संचालक सदस्यहरुमा हरिप्रसाद पाण्डे, रमेशप्रसाद न्यौपाने, सोमनाथ पाठक, श्रीराम पान्डे, सुमन शर्मा र प्रमिला चौहानलाई चयन गरेको छ । साथै अन्य विविध कार्यक्रम गरी साधारणसभा सम्पन्न भएको थियो ।

