२०८३, कार्तिक १७ गते मंगलबार

बगानबाटै उठाउँछन् सुन्तला

बगानबाटै उठाउँछन् सुन्तला


  • मेरोभ्यूज
  • माघ १, २०८१ मंगलबार

  • बगानबाटै उठाउँछन् सुन्तला

    पर्वत । सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरका कृषकलाई आजभोलि सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ ।

    यहाँ काठमाडौँ, पोखरा, नारायणगढदेखि बुटवलबाट व्यापारीहरू बगानमै सुन्तला किन्नका लागि आउने गरेका छन् । मोदी गाउँपालिका–२ देउपुरमा चार वर्षअघिसम्म सहकारीमार्फत बिक्री गर्दै आए पनि पछिल्ला वर्षहरूमा भने कृषकले आफ्नै ढङ्गले व्यापारीसँग कारोबार गर्ने गरेका छन् ।

    पहिले माछापुच्छ्रे सुन्तला सहकारी संस्थामार्फत बिक्री गरे पनि अहिले निजी हिसाबले नै बिक्री गर्न थालेका अगुवा कृषक दाताराम चापागार्इंले जानकारी दिए ।

    सुन्तला टिप्नका लागि व्यापारीका प्रतिनिधिहरूको चहलपहल बढ्दो छ । स्थानीय शिक्षक भूमिराज शर्मा सुन्तला टिप्ने र लैजानेहरूका कारण यहाँ मेला लागे जस्तै हुने गरेको र थोक व्यापारीले बगैँचाबाट नै खरिद गरेपछि कृषकलाई पनि सहज भएको बताउछ ।

    “देउपुरका धेरैजसो सुन्तला यसपटक पोखरा पुगेका छन । केही नारायणगढ, काठमाडौं र बुटवल तथा स्थानीय बजारमा बिक्री हुने गर्छन्”, उनले भने ।

    यहाँका किसानमम्धये स्थानीय ख्यामराज पौडेलले सुन्तला बिक्रीबाटै राम्रो आम्दानी गर्छ । उनले गत वर्ष रु पाँच लाखको सुन्तला बिक्री गरेको थियो । एक वर्ष बढी उत्पादन भयो भने अर्को वर्ष कम उत्पादन हुने भएकाले यसवर्ष केही कम कारोबार हुने उनको भनाइ छ ।

    यहाँका अधिकांश किसानले व्यापारीलाई बगैँचा नै जिम्मा लगाउने गरेका छन् । त्यसमध्ये भोजकुमारी चापागार्इं, बाबुराम तिमिल्सिनासमेत हुन । दैनिकजसो ट्रकहरू आएर सुन्तला टिपेर लैजाने गरेको स्थानीय प्रकाश चापागाईंले बताए ।

    यहाँका सबै किसानको कारोबारको कुरा गर्दा गतवर्ष करिब रु पाँच करोडका सुन्तला बिक्री भएका थिए । यसपटक पनि सोही हाराहारीमा कारोबार हुने अपेक्षा गरेका छन् । व्यवसायीले बगैँचामै ‘ग्रेडिङ’ गरेर सुन्तला लैजान थालेको कृषक दाताराम चापागार्इंले बताए ।

    विगत दुई दशकदेखि गरिएको व्यावसायिक सुन्तला खेतीबाट यहाँका कृषकले मनग्य आम्दानी गर्दै आएका छन् । परम्परागतरूपमा कोदो र मकै लगाउने गरेका यहाँका कृषकहरूले सुन्तलाखेती गरेपछि जीवनस्तरमा समेत परिवर्तन आएको बताउन थालेका छन् ।

    यहाँका एक सय ६० भन्दा बढी कृषक अन्य खेती छाडेर व्यावसायिक सुन्तलाखेतीमा लागेका हुन् । गाउँमा पक्की मोटरबाटोको सुविधा पुगेपछि सुन्तला खेतीतर्फ थप आकर्षण बढ्दै गएको छ ।

    सुरुमा कोदो मकै मात्र लगाएर बस्ने गरेको ठाउँमा सुन्तला लगाएपछि वार्षिकरूपमा प्रत्येक परिवारले रु दुई लाखदेखि पाँच लाखसम्म कमाई हुन थालेको चापागाईंले बताए ।

    “मकै, कोदो लगाउँदा रु वीस हजार कमाई नहुने ठाउँमा सुन्तला लगाउँदा रु पाँच लाख कमाई हुन्छ,” उनले भने, “अहिले देउपुरका सबै घरमा रु दुई लाखभन्दा बढी कमाउने कृषकहरू धेरै छन् ।”

    सुरुमा केहीले परीक्षणका लागि सुन्तलाको बिरुवा रोपेको र राम्रो उत्पादन हुन थालेपछि गाउँभरि नै त्यसको विस्तार भएको हो । आम्दानी राम्रै छ तर जलवायु परिवर्तनको असरसँगै सुन्तलामा रोगकिराको प्रकोप बढ्ने र रूखहरु सुक्दै जान थालेपछि कृषक चिन्तित छन् । यस वर्ष पनि औँसा किराको प्रकोपले केही सुन्तला झरेर नष्ट भएका स्थानीयको गु्नासो छ ।


    प्रकाशित : मंगलबार, माघ १ २०८१११:३६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार