२०८३, कार्तिक ११ गते बुधबार

पर्यटकको आकर्षक केन्द्र बन्दै जखेरा ताल

पर्यटकको आकर्षक केन्द्र बन्दै जखेरा ताल


  • मेरोभ्यूज
  • माघ ४, २०८१ शुक्रबार

  • पर्यटकको आकर्षक केन्द्र बन्दै जखेरा ताल

    दाङ । लमही नगरपालिका–३ मा पर्ने जखेरा ताल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । तालको मनमोहक दृश्यले यहाँ पुग्न सबैलाई आकर्षित गर्दछ ।

    चुरे पहाडको फेदमा रहेको पूर्व–पश्चिम सिमानामा वन तथा जङ्गल, दक्षिणतर्फ चिटिक्क परेको मुसुण्डी गाउँ, उत्तरतर्फ चुरे पहाड र सो पहाडको फेदको बीचमा पर्ने जखेरा ताल अवस्थित छ । यहाँको मनमोहक दृश्य, पूर्वाधार विकासलगायत कारणले आन्तरिक पर्यटकको आकर्षक गन्तव्यका रूपमा जखेरा ताल रहेको स्थानीय बताउँछन् ।

    अहिले ताल अवलोकन, घुमघाम गर्ने, वनभोज खानेलगायत प्रयोजनका लागि दैनिक दुई सयदेखि तीन सयको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेका जखेरा तालका कर्मचारी ओमभक्त चौधरीले बताए । उनका अनुसार बिदाको दिनमा छ–सात सयसम्म पर्यटकहरू आउने गर्दछन् ।

    लुम्बिनी प्रदेशको राजधानीबाट नजिक पर्ने सो ताल अहिले पर्यटकको आकर्षक केन्द्र बन्दै गएको हो । प्रदेश राजधानीमा आएका अन्य जिल्लाका सरकारी, सङ्घ/संस्थाका प्रतिनिधिहरू समय अनुकूल पारेर जखेरा अवलोकनका लागि यहाँ आउने गरेका चौधरीले बताए । बाह्र बिघा क्षेत्रफल रहेकामा अहिले साढे सात बिघा ताल फैलिएको छ ।

    तालको वरिपरि बाँकी ठाउँमा वन जङ्गल छ । तालको गहिराइ छदेखि सात फिटसम्म रहेको जनाउँदै कर्मचारी चौधरीले उत्तरतर्फ गणेशको र पूर्वमा सिद्देश्वर महादेवको मन्दिर अवस्थित रहेकाले धार्मिक पर्यटकको आकमन पनि हुने गरेको बताए । यहाँ आउने पर्यटक ढुङ्गा चढेर मन्दिर दर्शन गर्दछन् ।

    तालको मुख्य आकर्षणमा वनभोजस्थल, फूल बगैँचा, जलविहार, प्राकृतिक पदयात्रा, चरा तथा अन्य जीवजन्तुको अवलोकनलगायत हुन् । “तालमा ढुङ्गा चढ्नका लागि पर्यटक निकै उत्साहित हुन्छन् । सात वटा मात्र डुङ्गा भएकाले सिजनमा पालो कुर्नुपर्दछ । केही पर्यटक ढुङ्गा चढ्न नपाएर फर्केने गर्छ”, कर्मचारी चौधरीले भने । एक जनाले पूरै तालमा ढुङ्गा चढेर जलविहार गरेमा रु एक सय शुल्क लिने गरिएको जनाउँदै उनले यहाँ सात जनाले रोजगारी पाएका उल्लेख गरे ।

    “जखेरा ताल यति सुन्दर ताल रहेछ यसले फेवा तालको झल्को दिन्छ । यसलाई जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरोकार भएका सबै निकायबीच समन्वय गरी लाग्नुपर्छ ।”

    ताललाई अझै सफा, स्वच्छ राखी थप भौतिक पूर्वाधार निर्माण गर्नसके यस क्षेत्रको पर्यटन प्रवर्द्न हुनुका साथै स्थानीयको आयस्तर वृद्दि हुने उनले बताए । यस क्षेत्रको प्रचार-प्रसारमा स्थानीय निकायले सहयोग गर्नुपर्ने भन्दै पूर्वाधार विकास गरी बाह्य पर्यटक आगमन बढाउने योजनाअनुसार काम गर्नुपर्ने सुझाव दिए ।

    घुमघाम गर्न दङ्गीशरणबाट यहाँ पुगेका ३६ वर्षीय कमल नेपालीले अहिले ताल क्षेत्रमा पहिलेको तुलनामा अहिले धेरै सुधार भएको देख्दा खुसी लागेको बताए । “पाँच वर्ष पहिले यो ताल घुम्न आएको थिए, यहाँ धेरै समस्या थियो, अहिले पूर्वाधारका क्षेत्रमा धेरै विकास भएको रहेछ”, उनले भने ।

    छोराछोरीले जखेरा ताल घुम्न जाने भनेपछि छुट्टीको समयमा यहाँ आएको भन्दै नेपालीले यहाँ पुगेपछि दृश्यले आफू आनन्दित बनाएको बताए । उनले भने, “तालको सुन्दरता बढाउन यहाँ धेरै पर्यटक भित्र्याउन स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले भौतिक पूर्वाधारका क्षेत्रमा थप लगानी गर्नुपर्दछ ।”

    विगतका वर्षमा नागरिकहरूको श्रमदान र राज्यका निकायले गरेको सहयोगले अहिले यो ताल जिल्लाको मुख्य पर्यटकीय केन्द्रका रूपमा परिचित हुँदै गएको जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए ।

    “ताल जलकुम्भी झार र माटोले पुरिएको थियो । तत्कालीन जिल्ला भू–संरक्षण कार्यालय दाङ, कृषि विकास कार्यालय, संरक्षण समिति, लमही नगरपालिका, राष्ट्रिपति चुरे संरक्षण कार्यक्रम, डिभिजन वन कार्यालय, लुम्बिनी प्रदेश सरकार तथा यहाँका नागरिकहरूको सहयोग तथा संरक्षणले यो अवस्थामा आउन सफल भएका हौँ”, अध्यक्ष उपाध्यायले जानकारी दिए ।

    अध्यक्ष उपाध्यायका अनुसार गत वर्ष सहरी विकास मन्त्रालयअन्तर्गत सघन सहरी तथा भवन निर्माण कार्यालय दाङले रु चार करोड रकम उपलब्ध गराएको र उक्त रकमबाट तालको संरक्षण, मर्मत सम्भार, सुरक्षाका लागि तालको छेउछेउमा जाली, पक्की नालालगायत पूर्वाधार विकास निर्माण गरिएको हो ।

    यस तालको आफ्नै ऐतिहासिक पृष्ठभूमि रहेको छ । स्थानीय थारू भाषामा जुन ठाउँमा आकाशे पानी सङ्कलन भएर जम्मा हुन्छ, त्यस ठाउँलाई ‘जखेरा’ भनिन्छ ।

    विसं २०३० मा साविकको सोनपुर गाउँ विकास समिति हालको लमही नगरपालिका–३ निवासी स्व. दीपु चौधरीको नेतृत्वमा सोनपुर, टिकुलीगढ, फल्कापुर, श्री गाउँका स्थानीय बुद्दीजीवी मिलेर खेर गइराहेको आकाशे पानी तथा वन क्षेत्रबाट बगिरहेको पानी सङ्कलन गरी सिँचाइ गर्ने उद्देश्यले चुरे पहाडको फेदीमा कृत्रिम खाडल खनी मानव निर्मित जलभण्डारणका रूपमा राखिएको थियो । सोही ताल अहिले जखेरा तालका नाममा परिचित भएको हो ।

    दाङको लमही बजारबाट छ किलोमिटर पूर्वमा रहेको सुनडबरी गाउँ हुँदै उत्तरतर्फ करिब दुई किमी दूरी यात्रा गरेपछि ताल भएको स्थानमा पुगिन्छ । पूर्व-पश्चिम राजर्मागबाट नजिक रहेकाले पनि भारत तथा तेस्रो मुलुकबाट ताल हेर्न पर्यटक आउने गर्दछन् ।


    प्रकाशित : शुक्रबार, माघ ४ २०८११०:४०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार