२०८३, कार्तिक १२ गते बिहीबार

एक वर्षमा रु ३४ लाखको अलैँची उत्पादन

एक वर्षमा रु ३४ लाखको अलैँची उत्पादन


  • मेरोभ्यूज
  • माघ ७, २०८१ सोमबार

  • एक वर्षमा रु ३४ लाखको अलैँची उत्पादन

    मङ्गलबारे । नेपालमा भएन र राज्यले गरेन भन्नेको जमात उस्तै छ । कसैको मुख नताकी गर्नसके वार्षिक लाखौँ कमाउनेहरुको सङ्ख्या पनि कम छैन । पछिल्लो समय कृषि पेसा छोड्नेको सङ्ख्या बढ्दै गएको छ तर कृषि पेसाबाटै मनग्ये कमाउने किसानसमेत गाउँमा नै रमाइरहेका छन् ।

    कृषि पेसाबाट नै गर्नसके स्वदेशमा नै बसेर विदेशमा भन्दा दोब्बर बढी आम्दानी गर्न सकिन्छ भन्ने उदारहण बनेको छ इलाम सन्दकपुर गाउँपालिका–२ का निवर्तमान वडाध्यक्ष गिरिराज खनाल । उनले यसै वर्ष रु ३४ लाख माथिको अलैँची उत्पादन गरेको छ ।

    सन्दकपुर गाउँपालिका–२ माइमझुवाका किसान खनालले मकैबारी मासेर लगाएको खेतीबाट ३० मन उत्पादन गरेको बताए । अलैँचीको मूल्य हाल १२ वर्षयताकै उच्च अर्थात प्रतिमन एक लाख १५ हजार रहेको छ । ३० मन अलैँचीको प्रतिमन रु एक लाख १५ हजारको दरले पनि रु ३४ लाख ५० हजार पर्न जान्छ । यो उनको एकै वर्षको आम्दानी हो ।

    गाउँ-गाउँमा पुगेका ब्यापारीले महँङ्गो मूल्य लगाउने गरेका छन् । बजारमा व्यापारीले एक लाख दस हजारमाथि खरिद गर्ने गरेका छन् । निवर्तमान वडाध्यक्षसमेत रहेका खनालले लामो समयदेखि अलैँची खेती गर्दै आएको छ ।

    बीचमा किसानले लगाएको अलैँची मासिँदा पनि आफूले सो खेती नछोडेको उनले बताए । केही वर्षअघि दानाबाट समेत अलैँची उत्पादन गरेर जिल्ला तथा जिल्ला बाहिरका किसान समक्ष बिरुवा पुर्याएको उनको भनाइ छ ।

    धेरै मेहनतसमेत नलाग्ने अलैँची खेतीबाट मनग्गे आम्दानी लिन सकिन्छ । सुरुमा बिरुवा रोप्दा बारी फँडानी गर्न र बिरुवा लगाउन केही खर्च हुने र अलैँची उत्पादन भएपछि टिप्न र छोडाउन खर्च हुने गरेको किसान खनालको भनाइ छ । समय-समयमा गोडमेल, मलजल र पानी लगाउनुपर्ने हुन्छ ।

    हाल उनले ३३ रोपनी र २४ रोपनीका दुईवटा प्लटमा अलैँची खेती गरेको छ । हिउँद्को समयमा तुसारो पर्ने भएकाले यहाँ हिउँदका दिनमा तुसारोबाट जोगाउन ग्रिन नेट लगाउने गरिन्छ । उनले यसवर्ष करिब ३० मन अलैँची उत्पादन गरेको छ । आगामी वर्षबाट अझैँ उत्पादन बढ्ने उनले बताए । अलेँची लगाएको तीन वर्षदेखि उत्पादन सुरु हुन्छ । गएको वर्ष लगाएको नयाँ बिरुवाबाट समेत उत्पादन बढ्ने उनले बताए ।

    राजनीति गर्ने मान्छेले केही न केही काम गर्नुपर्ने उनले जानकारी दिए । राजनीति गर्न खर्च आवश्यक पर्ने भएकाले पनि केही काम गर्नुपर्छ भन्ने सोचका साथ आफूले कृषि पेसा रोजेको उनले बताए ।

    उनले जस्तै जिल्लाका अन्य किसानले समेत यस वर्ष अलैँचीबाट राम्रो रकम कमाइ गरेका छन् । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार बर्सेनी सवा चार अर्ब रुपैयाँ बराबरको अलैँची निकासी हुने गर्दछ । चालु आव २०८१/८२ को पहिलो तीन महिनामा सात सय ८३.७५ मेट्रिक टन अलैँची मेची भन्सारबाट निर्यात भएको छ ।

    यो अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशत कमी हो । आव २०८०/८१ को सोही अवधिमा एक हजार पाँच सय २५.९६ मेट्रिक टन अलैँची निर्यात भएको थियो ।

    अलैँची औषधिय गुण भएको नगदे बाली हो । यसबाट विशेष गरेर औषधिजन्य वस्तु निर्माण हुने गर्दछ । गर्मीमासमेत अलैँचीलाई शीतलता प्रदानका लागि प्रयोग गरिन्छ । मसलाका रुपमा समेत अलैँचीको प्रयोग हुन्छ । गाउँघरमा मासु पकाउँदा अलैँचीलाई जिरासँग मिसाएर पकाउने गरिन्छ । सर्बत पानीमासमेत यसलाई प्रयोग गर्ने गरिन्छ ।

    नेपालबाट विदेश निर्यात हुने अलैँचीबाट पर्फिम वा सुगन्धित तेल निर्माण हुने गर्दछ । विकसित मुलुकमा यसबाट निर्माण भएको पर्फिम निकै मूल्यमा बिक्री हुने गर्दछ । नेपालमा उत्पादित अलैँचीको उचित प्रशोधन र प्रमाणीकरण नहुँदा अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न समस्या भइरहेको छ । झापामा यसको प्रशोधनका लागि एउटा मात्र प्रशोधन केन्द्र हुँदा ब्यवसायी समस्यामा परेको बताउँछन् ।


    प्रकाशित : सोमबार, माघ ७ २०८११०:२८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार