२०८३, कार्तिक ११ गते बुधबार

पर्यटकको रोजाइ बन्दै ‘बुलबुले ताल’

पर्यटकको रोजाइ बन्दै ‘बुलबुले ताल’


  • मेरोभ्यूज
  • माघ १०, २०८१ बिहीबार

  • पर्यटकको रोजाइ बन्दै ‘बुलबुले ताल’

    सुर्खेत । “सुर्खेतमा बुलबुले ताल, चौतारीमा भेट भयो यो साल” अर्जुन नेपाली र सङ्गीता प्रधानको बन्धकी फिल्मको यो गीत सुन्नेबित्तिकै बुलबुलेको झल्को आउँछ ।

    यो ताल नघुमेका व्यक्तिलाई घुमौँघुमौँ लाग्छ । चारैतिर पहाडले घेरिएको वीरेन्द्रनगर उपत्यकाको तल्लो क्षेत्र बुलबुल गरेर जमिनमुनिबाट निस्किएको पानीले बनेको तालको नाम हो– बुलबुले ।

    यो ताल पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ भने वीरेन्द्रनगर नगरपालिकाको आन्तरिक आम्दानीको स्रोत पनि बनेको छ ।

    पहिलोपटक कर्णालीको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा आउने जोकोही पनि बुलबुले ताल हेर्न जाने गर्छन् । एक पटक गएपछि फेरि पनि घुम्न मन लाग्ने बुलबुले उड्डयन क्षेत्र पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको रोजाइ बनेको छ ।

    समुद्री सतहबाट करिब छ सय ५७ मिटरको उचाइमा अवस्थित बुलबुले तालमा मोटरेबलसमेत सञ्चालनमा आएपछि झनै पर्यटकको रोजाइ बनेको हो ।

    सुर्खेतको प्रमुख पर्यटकीयस्थल बुलबुले ताल विस्तार गरेर फराकिलो बनाइएको छ भने चारैतिर घुम्न र हेर्नलायक बन्दै छ । तालमा अहिले मोटरबोट शयर गर्नसमेत सकिन्छ ।

    बाह्र हजार वर्गमिटर क्षेत्रफलमा रहेको उक्त तालको क्षेत्र बढाएर २८ हजार पाँच सय वर्गमिटर बनाइएको छ ।

    अहिले यही तालमा दुईवटा मोटरबोट सञ्चालनमा ल्याइएपछि आन्तरिक पर्यटक बढ्न थालेका हुन् । साढे ३१ बिघा क्षेत्रफलमा फैलिएको बुलबुले कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ ।

    कर्णाली आउने हरेक पर्यटकको रोजाइमा बुलबुले पनि पर्छ । बुलबुलेमा बिदाका दिनमा बढी पर्यटक आउने गर्छन् । दैनिक पाँच सयभन्दा बढी पर्यटकले बुलबुलेको अवलोकन गर्ने बताइएको छ । विसं २०२९ देखि सरकारी तवरबाट बुलबुलेको संरक्षण हुन थालेको हो ।

    नजिकै रहेको काँक्रेबिहारले पनि रमाइलो थपिदिन्छ । यहाँ वनभोजस्थलदेखि घुमघाम गर्न जानेहरूको घुइँचो बढ्न थालेको छ । विशेषगरी बिदाको दिन बुलबुले घुम्न जाने पर्यटकको सङ्ख्या बढ्ने गरेको छ । अहिले बिदाको दिन पाँच हजारभन्दा बढी व्यक्ति बुलबुले घुम्न आउने गरेको वीरेन्द्रनगर नगर विकास समितिअन्तर्गत टिकट काउन्टरमा कार्यरत माली निर्मला बास्तोला बताउछिन ।

    “अहिले दैनिक औषतमा पाँच सयभन्दा धेरै व्यक्ति बुलबुले अवलोकन गर्न आउने गर्छन, दैनिक टिकट बिक्रीबाट रु १५ हजार आम्दानी हुने गरेको छ । बिदाका दिनमा रु ३५ हजारसम्मको आम्दानी हुने गरेको निर्मला भन्छिन ।

    अझै व्यवस्थित गर्न सुझाव

    बुलबुले घुम्न आएका आन्तरिक पर्यटकले भने नगरपालिकाले अझै उड्डयन क्षेत्र व्यवस्थित गर्न आवश्यक रहेको औँल्याएका छन् । वनभोजका लागि आएका शिव माध्यमिक विद्यालय धुलियाबिटका प्रधानाध्यापक पूर्णप्रसाद पौडेलले उड्डयनसँगै सार्वजनिक शौचालयलगायतका संरचना बनाएर व्यवस्थित गर्नुपर्ने सुझाव दिए ।

    “अहिलेको समय भनेको हरेक नागरिकका लागि रमाइलो चाहिएको छ, त्यसका लागि उपयुक्त ठाउँ बुलबुले बनिरहेको छ, तर यसको व्यवस्थापन अझै गर्न आवश्यक देखिन्छ”, उनले भने ।

    प्रधानाध्यापक पौडेलले सार्वजनिक शौचालयदेखि रातिको समयमा घुम्न मिल्ने वातावरण बनाउनुपर्ने सुझाव दिए ।

    बत्ती, पानीसहित चार्चिङ स्टेशनलगायत संरचना बनाएर अझै प्रचार-प्रसार गर्न सके वीरेन्द्रनगरको आन्तरिक आम्दानीको ठूलो स्रोत बुलबुले बन्न सक्ने उनको भनाइ छ ।

    बुलबुले घुम्न आएका टङ्कप्रसाद पोख्रेलले पनि बुलबुले आफैँमा महत्त्वपूर्ण र घुम्नलायक ठाउँ रहेको भन्दै आन्तरिक पर्यटकसँगै बाह्य पर्यटक भित्र्याउनेगरी सरकारले काम गर्नुपर्ने सुझाव दिए ।

    “अझै आकर्षक र हेर्नलायक बनाउन सक्नुपर्छ, यही प्रदेश सरकार पनि भएको हुँदा स्थानीय र प्रदेश सरकारले विशेष योजना ल्याउनुपर्छ”। उनले भने ।

    बाहिरबाट सुर्खेत आएपछि बुलबुले घुम्न जाने गरेको उल्लेख गर्दै शिक्षका कमला खतिवडाले पनि अझै सबैको रोजाइ हुनेगरी बुलबुले उड्डयन निर्माण गरिनुपर्नेमा जोड दिइन ।

    व्यवसायी ओमप्रकाश तिवारीले बुलबुले, काँक्रेबिहारलगायत पर्यटकीय क्षेत्रलाई पर्यटकको रोजाइ बन्नेगरी योजना बनाउनुपर्ने भन्दै यसले अर्थतन्त्रलाई टेवा पुग्न सक्ने सुझाव दिए ।

    पर्यटकको आकर्षक बनाउन सके कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा व्यवसाय पनि बढ्थ्यो, रोजगारी सृजना हुन्थ्यो भने अर्कातर्फ विदेशिनुपर्ने बाध्यता कम हुने थियो ।

    अर्का व्यवसायी रमेश खड्काको मत पनि त्यस्तै छ । बुलबुलेको पहिचानलाई जोगाउँदै देश तथा विदेशका पर्यटक भित्र्याउनेगरी योजना बनाउनुपर्ने उनले बताए ।

    प्रदेश राजधानीमा रहेको बुलबुले, काँक्रेबिहार र देउती बज्यैजस्ता पर्यटकीय क्षेत्रलाई व्यवस्थित तथा प्रचार-प्रसार गरी आन्तरिक आम्दानी बढाउन सकिने सरोकारवालाको सुझाव छ ।

    कर्णाली प्रदेश सरकारले पर्यटकीय क्षेत्रको पहिचानसँगै कर्णाली घुम्न आउने वातावरण बनाउनेगरी योजना बनाइएको भन्दै सबै पक्षलाई कार्यान्वयन गर्न सहयोग गर्न आग्रह गरेको छ ।


    प्रकाशित : बिहीबार , माघ १० २०८११०:५१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार