२०८३, कार्तिक १३ गते शुक्रबार

प्राचीन धरोहर लिच्छवीकालीन ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने महानगरको योजना

प्राचीन धरोहर लिच्छवीकालीन ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने महानगरको योजना


  • मेरोभ्यूज
  • माघ २३, २०८१ बुधबार

  • प्राचीन धरोहर लिच्छवीकालीन ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने महानगरको योजना

    ललितपुर । ललितपुरका प्राचीन धरोहर लिच्छवीकालीन ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने योजना शीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै ललितपुर महानगरपालिकाले लगनखेलबाट टीकाभैरवसम्म राजकुलो पुनःनिर्माण सुरु गरेको छ ।

    राजकुलो विस्तारका लागि महानगरले रु २२ करोड बजेट छुट्टयाएको छ । महानगरका प्रमुख चिरिबाबु महर्जनले लगनखेलबाट टीकाभैरवसम्मको १४.२ किलोमिटर राजकुलो विस्तार जारी रहेको तथा हालसम्म रु छ करोडको लागतमा तीन दशमलव ४४ किलोमिटर कुलो खनिएको जानकारी दिए । विसं २०२७ सालमा चक्रपथ विस्तार गर्ने क्रममा कुलो मासिएको उनले बताए ।

    लगनखेलको सप्ता ताल पोखरी पुनःनिर्माण गरी राजकुलोको पानी त्यहाँ जम्मा गरिने र त्यहाँबाट आसपासका ढुङ्गेधारामा पानी झार्ने महानगरको योजना रहेको उनले सुनाए । महानगरप्रमुख महर्जनका अनुसार ललितपुरमा हालसम्म ५० भन्दा बढी ढुङ्गेधारा रहेका छन् ।

    आल्को हिटी, कोन्टी हिटी, च्यासः हिटी, टङ्ग हिटी, पुच्व हिटी, जावलाखेल हिटी, लगनखेल हिटी, गुइटोल हिटी र मङ्गल हिटी सातौँ शताब्दीमा निर्माण भएका हुन् । मङ्गल हिटीमा बाह्रैमास पानी आउने गरेको छ ।

    ललितपुर महानगरपालिका–६ सुन्धाराका सन्तमान महर्जन ढुङ्गेधारामा बाह्रै महिना पानी ल्याउने योजना चाँडोभन्दा चाँडो कार्यान्वयन गर्नुपर्नेमा जोड दिन्छ ।

    ललितपुर महानगरपालिका–६ र वडा नं १७ मा पर्ने सुन्धारा टोलमा अवस्थित लिच्छीविकालदेखिको ऐतिहासिक सुन्धारा (लुँ हिति) अहिले सुकेको छ । तीनवटा धारा रहेको सुन्धारामा सात महिना मात्रै पानी आउने स्थानीय राज श्रेष्ठ बताउछ ।

    ललितपुरको सम्पदा र पहिचान जोगाउन ‘ऐतिहासिक ढुङ्गेधारा संरक्षण गर्नु सबैको दायित्व’ निर्वाह गर्नुपर्ने ठानेर २०६५ सालमा ललितपुर महानगरपालिका र स्थानीय जनसमुदायले लुँ हिटी पुनःनिर्माण गरेका थिए । पुनः निर्माणपश्चात बाह्रैमास धारामा पानी झरे पनि केही वर्ष यता पानी आउन छाडेको छ ।

    ललितपुरका स्थानीय राजकुलो भत्काएर विभिन्न संरचना निर्माण गरिँदा ऐतिहासिक ढुङ्गेधारा सुक्ने अवस्थामा पुगेको बताउँछन् ।

    ललितपुर महानगरपालिका–६ का स्थानीय रमेश श्रेष्ठ घर तथा सडक निर्माण गर्दा राजकुलो जोगाउनुपर्ने बताउछन ।

    लिच्छिवीकालदेखिको इतिहास बोकेका ढुङ्घेधारा संरक्षण गर्नु ललितपुर महानगरसहित जिम्मेवार निकायले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

    -----


    प्रकाशित : बुधबार, माघ २३ २०८११०:०३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार