माल्टा । तामाङ समाज माल्टाले भव्यताका साथ सोनाम ल्होछार मनाएको छ ।
मञ्जुश्री सम्बत् २८६१ डुल स पुख्री (सर्प बर्ग) ल्होको अवसरमा हालै समाजले विशेष कार्यक्रमका साथ सोनाम ल्होछार मनाएको हो ।
माल्टाको जिरा स्थित अर्फियम थेयटरमा बृहत् साँस्कृतिक कार्यक्रमको आयोजना गरेर धुमधामका साथ ल्होछार मनाइएको समाजका महासचिव अशिम लोप्चनले जानकारी दिए ।
सोही क्रममा तामाङ समुदायको सँस्कृति झल्कने खालका विशेष सांगीतिक प्रस्तुति, परम्परागत नृत्य, संगीत र तामाङ संस्कृतिसँग सम्बन्धित विविध साँस्कृतिक झलकहरु प्रस्तुत गरिएको थियो ।
सो अवसरमा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले बिदेशमा आर्जन गरेको ज्ञान र सीपलाई नेपाल भित्र्याउन जोड दिँदै नेपाली उत्पादनसँग जोड्न आग्रह गरे ।
यसैगरी माल्टाका विभिन्न संघ/सस्थाका प्रतिनिधिहरु तामाङ समुदायका सदस्यहरू, बिभिन्न सामाजिक संघ/संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । सांस्कृतिक प्रस्तुति, परम्परागत नृत्य, संगीत र तामाङ संस्कृतिसँग सम्बन्धित विविध प्रस्तुतीहरूले थप उल्लासमय बनेको थियो ।
प्रमुख अतिथि तथा विशिष्ट पाहुनाहरूले तामाङ समुदायको योगदानको प्रशंसा गर्दै आपसी सद्भाव र एकताको सन्देश दिएका थिए । सोनाम ल्होछार तामाङ समुदायको नयाँ वर्षको उत्सव हो । जसलाई विशेषरूपमा परम्परागत रीतिरिवाज र धार्मिक आस्थासँग जोडेर मनाइन्छ ।
सो क्रममा वक्ताहरूले तामाङ संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनको महत्त्वमाथि जोड दिएका थिए । एनसिसि माल्टा तमु समाज, मगर समाज र नेपाली समाजका अध्यक्ष, पदाधिकारीहरु र समाजका स्वयंसेवकहरूको सक्रियतामा आयोजना गरिएको यस कार्यक्रमले सहभागीहरूबीच उत्साह र आपसी समझदारी बढाएको थियो ।
सफल आयोजकले तामाङ समुदायलाई आफ्नो मौलिकता र पहिचानप्रति गर्व गर्न प्रेरित गरेको छ । यस अवसरमा, तामाङ परिकारहरूको विशेष स्वाद, परम्परागत पोशाक र लामा गुरुहरूको धार्मिक अनुष्ठानले सबैलाई सांस्कृतिक मूल्यमाथि पुन:स्मरण गराएको थियो । सहभागी सबैले यो कार्यक्रमलाई ऐतिहासिक र सम्झन लायक मानेका छन् ।
तामाङ समुदायको संस्कृति, परम्परा र एकता प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको समाजले जनाएको छ । समाजका अध्यक्ष सुनिल दोङको अध्यक्षता, सह-कोषाध्यक्ष अमृत तामाङको संयोजन तथा प्रचार-प्रसार बिभाग प्रमुख रबिन तामाङ र हेमा लामालगायतले कार्यक्रम सञ्चालन गरेका थिए ।

