२०८३, कार्तिक ११ गते बुधबार

मौलिक पोसाक भाडामा लगाएर आम्दानी गर्दै रत्नेचौरका स्थानीयवासी

मौलिक पोसाक भाडामा लगाएर आम्दानी गर्दै रत्नेचौरका स्थानीयवासी


  • मेरोभ्यूज
  • माघ २७, २०८१ आइतबार

  • मौलिक पोसाक भाडामा लगाएर आम्दानी गर्दै रत्नेचौरका स्थानीयवासी

    म्याग्दी । यहाँको बेनी नगरपालिका-१ रत्नेचौरका स्थानीयवासीले गाउँमा घुम्न आउने पर्यटकलाई विभिन्न जातीय समुदायको पोसाक भाडामा लगाएर आम्दानी गर्न थालेको छ ।

    अहिले तोरी फुलेर मनमोहक बनेको रत्नेचौरमा रमाउन आउने पर्यटकहरुले मगर, क्षेत्री, थकाली, ब्रह्माणलगायत जातजातिको पोसाक लगाएर तस्बिर, श्रव्यदृश्य खिच्ने गर्दछ । पर्यटकलाई जातजातिको मौलिक पोसाक भाडामा लगाएर स्थानीयले आम्दानी गर्न थालेका हो ।

    स्थानीय रामकृष्ण पुनले एक जोडा पोसाक एक घण्टा प्रयोग गरेबापत रु दुई सयदेखि तीन सय ५० सम्म लिने गरेको बताए ।

    “मसँग १५ जोर मगर ड्रेस छन्,” उनले भने, “दिनमा १० देखि १५ जनाले भाडामा लैजानु हुन्छ ।” रेष्टुरेन्ट सञ्चालकसमेत रहेका थापाले पर्यटकको तस्बिर पनि खिचिदिने गरेको छ । एउटा तस्बिर खिचेबापत रु २० लिने गरेको थापाले बताए ।

    रत्नेचौरमा महिला सहकारी संस्था र अन्य रेष्टुरेन्ट तथा पसलहरुले पनि जातीय पोसाक भाडामा लगाउने गरेको छ । आकर्षक देखिने भएकाले जातीय पोसाक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

    बागलुङबाट रत्नेचौर आएकी स्मृति रानाले मौलिक पोसाकमा सजिएर खिचेको तस्बिर र बनाएको भिडियो स्मरणयोग्य भएको बताए ।

    केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित रत्नेचौर पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ ।

    कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्दछ । कात्तिक-मङ्सिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको दृश्यावलोकन तथा पुस-माघमा पहेँलै फुलेको तोरीको आकर्षक दृश्य हेर्दै रमाउन र वनभोज खान आउनको यहाँ भीड लाग्ने गरेको वडाध्यक्ष टेकबहादुर थापाले बताए ।

    यहाँ दैनिक तीन सयदेखि पाँच सयजना आउने गरेका स्थानीय कुशल शर्माले बताए । उत्तरतिर सेता हिमशृङ्खला ।

    पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बीचमा चिटिक्क परेको कालोपत्र सडकमा रमाउन पर्यटक आउने गरेको हो ।

    रत्नेचौर र बागलुङको कुडुले (फेदी) जोड्ने तीनसय ८८ मिटर लामो झोलुङ्गे पुल पनि यहाँ आउने पर्यटकका लागि अर्को आकर्षणको केन्द्र हो ।


    प्रकाशित : आइतबार, माघ २७ २०८११२:०३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार