२०८३, कार्तिक १२ गते बिहीबार

डेढ करोड लगानीमा कागतीखेती

डेढ करोड लगानीमा कागतीखेती


  • मेरोभ्यूज
  • माघ ३०, २०८१ बुधबार

  • डेढ करोड लगानीमा कागतीखेती

    ढोरपाटन । बसाइँ-सराइका कारण रित्तिँदै गएको गाउँमा बागलुङ नगरपालिका-१४ बलेवाका किसानले व्यावसायिक कागतीखेती गर्न थालेका छन् । किसानले समूह बनाएर साढे दुई सय रोपनी जग्गा भाडामा लिएर कागतीखेती सुरु गरेको हो ।

    बलेवाका ५२ किसानले झाडीले ढाकिएको खेतीयोग्य जमिन सदुपयोग गरी कागती लगाएको छ । विसं २०७७ देखि ‘चासो कृषक समूह’ले सुरु गरेको कागतीखेती फस्टाउन थालेको छ ।

    कागतीखेती गर्न रु एक करोड ५० लाखभन्दा बढी लगानी भएको समूहका अध्यक्ष केशव सुवेदीले जानकारी दिए ।

    गत वर्षदेखि नै कागती उत्पादन हुन थालेको उनको भनाइ छ । यस वर्ष झण्डै रु पाँच लाखको बिक्री गरेको अध्यक्ष सुवेदीले बताए ।

    कागतीखेतीका लागि कृषि ज्ञान केन्द्रले रु छ लाख र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले रु १५ लाख अनुदान दिएको थियो । किसानले झण्डै रु एक करोड ३० लाख लगानी गरेको अध्यक्ष सुवेदीले बताए ।

    गाउँका नागरिक सेवा र सुविधाको खोजीमा बजार झर्न थालेपछि खेतीयोग्य जमिनको सदुपयोगका लागि कागतीखेती सुरु गरेको उनको भनाइ छ ।

    अध्यक्ष सुवेदीका अनुसार हाल कागती बगानमा चार हजार बिरुवा हुर्किरहेको छ । गाउँमा बाँदर आतङ्क बढ्दा अरु खेती गर्न छाडेर कागतीखेती गरिएको हो । कागतीखेती गरेपछि बाँदर आतङ्क केही कम भएको छ । बर्सेनी उत्पादन बढ्दै जाने र आम्दानी पनि बढ्ने छ । यस वर्ष रु पाँच लाखको कागती बागलुङ, कुश्मालगायत बजारमा बिक्री भएको छ ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङका प्रमुख नारायण पौडेलले दुई वर्षदेखि उक्त कृषक समूहलाई प्राविधिक सहयोग र आर्थिक अनुदान दिँदै आएको बताए । विसं २०७९ मा चक्लाबन्दीका लागि रु दस लाख र गत वर्ष कागती ग्रेडिङ तथा भण्डारणका लागि रु पाँच लाख सहयोग गरेको उनले जानकारी दिए ।

    प्रमुख पौडेलले भने, “अन्य किसानका लागि पनि यो अध्ययन केन्द्र बन्न सक्छ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले दुई वर्षदेखि निरन्तर सहयोग गर्दै आएको छ । विषादी र अन्य प्राविधिक सहयोग गरेका छौँ, बोटले विस्तारै फल दिन थालेपछि किसान पनि उत्साहित छ ।


    प्रकाशित : बुधबार, माघ ३० २०८११०:१०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार