२०८३, कार्तिक ११ गते बुधबार

पर्यटकका रोजाइमा नारच्याङमा रहेको अन्नपूर्ण आधार शिविर

पर्यटकका रोजाइमा नारच्याङमा रहेको अन्नपूर्ण आधार शिविर


  • मेरोभ्यूज
  • फाल्गुण ४, २०८१ आइतबार

  • पर्यटकका रोजाइमा नारच्याङमा रहेको अन्नपूर्ण आधार शिविर

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा रहेको अन्नपूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्गमा रु एक करोड २५ लाखको लागतमा पूर्वाधार निर्माण थालिएको छ ।

    अन्नपूर्ण गाउँपालिकाको रु एक करोड, नेपाल पर्यटन बोर्डको रु २० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को रु पाँच लाख बजेटबाट आश्रयस्थल, शौचालय, खानेपानी, पदमार्ग, चिया पसल र खुला सङ्ग्राहलय निर्माण थालिएको हो ।

    अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले अन्नपूर्ण आधार शिविर र पञ्चकुण्ड ताल क्षेत्रमा अस्थायी संरचना निर्माण गर्न लागेको जानकारी दिए ।

    “एक्यापमा पर्ने भएकाले स्थायी संरचना निर्माण गर्न नीतिगत समस्या भएपछि पर्यटकको सहजताका लागि अस्थायी संरचना बनाउन थालिएको हो”, उनले भने, “अन्नपूर्ण आधार शिविर र पदमार्गमा चिया तथा खाजा पसल सञ्चालनको गाउँपालिकाले ठेक्का आह्वान गरेको छ ।”

    योजनाको सर्वेक्षण, लागत अनुमान तयार र उपभोक्ता समिति गठन भइसकेको अन्नपूर्णका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कँडेलले जानकारी दिए ।

    सन्धीखर्क, भुसकेट, पञ्चकुण्ड ताल परिसरमा रु ४० लाखको लागतमा तीन वटा आश्रयस्थल निर्माण गर्न लागेको छ । हुमखोला, फुतफुते झरना, गुफाफाट, भुसकेट र पञ्चकुण्डमा खानेपानी र शौचालय निर्माणका लागि रु ३० लाख विनियोजन भएको छ ।

    फुटफुते झरना परिसरमा चिया पसल र आधार शिविरमा खुला सङ्ग्रहालय निर्माणका लागि रु १०/१० लाख विनियोजन भएको छ ।

    खुला सङ्ग्रहालयमा आधार शिविरमा रहेका अभिलेखलाई सङ्कलन र संरक्षण गर्ने लक्ष्य रहेको अन्नपूर्ण गाउँपालिकाका सवइञ्जिनियर बालकृष्ण पौडेलले बताए ।

    पदमार्ग निर्माण र सुधारका लागि पर्यटन बोर्डको रु २० लाख, गाउँपालिकाको रु १० लाख र एक्यापको रु पाँच लाख बजेट परिचालन गर्ने गरी उपभोक्ता समिति गठन भएको छ । प्रमुख प्रशासकीय अधिकृत कँडेल, सव-इञ्जिनियर पौडेल र समुन्त यादवको टोली गत हप्ता आधार शिविर पुगेर योजना निर्माणस्थलको निरिक्षण गरेर फर्किएको थिए ।

    मानव बस्तीदेखि टाढा, होटल र रेष्टुराँ नभएको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण आधार शिविर जाने पर्यटकलाई खाना, बस्न र फोहर व्यवस्थापनमा समस्या भएपछि पूर्वाधार निर्माण थालिएको हो ।

    अन्नपूर्ण गाउँपालिका-४ का वडाध्यक्ष लोकबहादुर फगामीका अनुसार दसैँ-तिहारको समयमा करिब पाँच हजार जना आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका थिए ।

    मौरिस हर्गोज पदमार्गमा झोलुङ्गे पुल, सञ्चार, विद्युत् सुविधा विस्तार र पर्यटक चेकपोष्ट राख्नका लागि पनि पहल भएको उनले बताए ।

    अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ ।

    अन्नपूर्ण हिमालको फेदीमा रहेको नीलो रङको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो ।

    तीन दिनको छोटो अवधीमा साहासिक पदयात्रा गर्न सकिने भएकाले पर्यटकको रोजाइमा अन्नपूर्ण आधार शिविर परेको हो । हर्जोगको टोलीले अन्नपूर्ण चढ्न प्रयोग गरेको बाटो पछ्याउँदै नारच्याङका तेज गुरुङको अगुवाइमा विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो ।

    सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले ‘मौरिस हर्जोग’ नामकरण गरेको छ । नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूतस्तरको २२ किमी पदमार्ग तयार भएको छ ।


    प्रकाशित : आइतबार, फाल्गुण ४ २०८११०:१०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार