२०८३, कार्तिक ११ गते बुधबार

बेनीका किसानलाई उत्पादनमा आधारित अनुदान

बेनीका किसानलाई उत्पादनमा आधारित अनुदान


  • मेरोभ्यूज
  • फाल्गुण ६, २०८१ मंगलबार

  • बेनीका किसानलाई उत्पादनमा आधारित अनुदान

    म्याग्दी । जिल्लाको बेनी नगरपालिकाले पशुपालक किसानलाई उत्पादनमा आधारित अनुदान दिन थालेको छ । सुरुमा अनुदान दिँदा कृषकहरू व्यावसायिक बन्न नसकेपछि उत्पादन गरेपछि प्रोत्साहन पाउने नीति लिएको हो ।

    गत आर्थिक वर्षदेखि सुरु भएको यो कार्यक्रमलाई नगरपालिकाले चालु आवमा पनि निरन्तरता दिएको छ । कृषकहरूलाई मासु र दूधमा आत्मनिर्भर बनाउन सञ्चालित उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमलाई चालु आवमा पनि निरन्तरता दिइएको नगरप्रमुख सुरत केसीले बताए ।

    उनका अनुसार चालु आवमा न्यूनतम दस वटा माउ बाख्रापालक कृषकलाई प्रोत्साहनका लागि रु सात लाख ५० हजार, दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि रु पाँच लाख ५० हजार र पशुपंक्षी तथा माछाको बिमा प्रिमियम शुल्कमा १० प्रतिशत अनुदान दिन रु एक लाख ५० हजार विनियोजन गरेको छ ।

    उक्त अनुदान पाउन ३० बाख्रा र १९ वटा गाईभैँसी फार्मले आवेदन पेस गरेका बताउँदै छनोटका लागि स्थलगत रूपमा मूल्याङ्कनको क्रममा रहेको नगरको पशु सेवा शाखाका प्राविधिक प्रदिप गौतमले बताए । उनका अनुसार नगरले त्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन कार्यविधि, २०८० बनाएर कार्यान्वयनमा ल्याएको हो ।

    बाख्रातर्फ १० देखि १४ को रु १२ हजार, १५ देखि १९ को रु १८ हजार, २० देखि २९ को रु ३५ हजार र ३० भन्दाबढीको रु ४० हजार अनुदान पाउने व्यवस्था मिलाइएको गौतमले जानकारी दिए ।

    गाईभैँसीतर्फ तीनदेखि चार वटाको रु १० हजार, पाँचदेखि आठ वटाको रु २० हजार, नौदेखि १३ वटाको रु ३५ हजार र १४ भन्दाबढीको रु ४५ हजार अनुदान पाउने मापदण्ड रहेको छ ।

    पालेका पशुको सङ्ख्या र उत्पादनको आधारमा अनुदान पाउने नगरपालिकाको नीतिले कृषकहरूलाई व्यावसायिक बन्न प्रोत्साहन मिलेको, प्रभावकारी र व्यवहारिक भएको बेनी-४ बास्कुनाका कृषक तिलक गुरुङले जानकारी दिए । सानो सङ्ख्यामा पशुपालन गर्ने कृषकलाई पनि समेट्न कार्यविधि संशोधन गर्न उनले सुझाव दिए ।

    गत वर्ष ३२ जना बाख्रापालक कृषकले रु छ लाख ४४ हजार नौ सय ८० र १८ जना दूग्ध उत्पादक कृषकले रु पाँच लाख अनुदान पाएका थिए । पशुपालक कृषकलाई व्यावसायिक बनाउन र टिकाउन कार्यक्रमले सहयोग पुगेको बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले बताए ।

    कृषि क्षेत्रमा आत्मनिर्भर हुन किसान केन्द्रित विविध कार्यक्रमलाई जोड दिएको बेनी नगरपालिका-४ सिङ्गामा चिस्यान गृह सञ्चालन गरिएको नगर कार्यालयले जनाएको छ । बेनी-८ कालीपुलमा कृषि उपज बजारको भवन निर्माण सुरु गरिएको छ ।


    प्रकाशित : मंगलबार, फाल्गुण ६ २०८१११:४९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार