२०८३, कार्तिक ११ गते बुधबार

स्वदेश फर्किने कामदार बने तस्करकाे भरिया, अवैधरूपमा सुन ल्याउने १७ पक्राउ

स्वदेश फर्किने कामदार बने तस्करकाे भरिया, अवैधरूपमा सुन ल्याउने १७ पक्राउ

नचिनेका व्यक्तिकाे अनुरोध वा प्रलोभनमा परेर सुनलगायतका बहुमुल्य वस्तुहरुको भरिया नबन्न दाेहास्थित नेपाली दूतावासकाे आग्रह


  • मेरोभ्यूज
  • आश्विन १४, २०७८ बिहीबार

  • स्वदेश फर्किने कामदार बने तस्करकाे भरिया, अवैधरूपमा सुन ल्याउने १७ पक्राउ

    काठमाडाैं । चाडपर्वमा नेपाली कामदार स्वदेश फर्किने क्रमसँगै उनीहरूलाई भरिया बनाउने गरेकाे पाइएकाे छ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीबाट फर्किएका १७ जनालाई अवैध सुनसहित पक्राउ गरेपछि कामदारलाई भरियाका रूपमा प्रयाेग गरेकाे पाइएकाे हाे । 

    आइतबारयता अवैधरूपमा ल्याइएको ८ सय ९९ ग्राम सुन बरामद भएको भन्दै प्रहरीले  पक्राउ परेका सबैजना भरिया रहेको बताएको छ । प्रहरीले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढीका समुन्द्र दंगाल र काठमाडौं बूढानीलकण्ठका सन्तवीर राई लगायतलाई पक्राउ गरेकोे थियोे ।

    घर फर्किने नेपाली कामदारलाई विदेशी विमानस्थलमा तस्करहरूले विभिन्न बहाना र केही रकमको लोभ देखाएर काठमाडौं विमानस्थलमा लिन आउने आफ्ना मान्छेलाई दिनू भनेर पठाउने गरेको प्रहरीको भनाइ छ । विशेषगरी खाडी र मलेसियाबाट काठमाडौं आउने यात्रुहरुलाई तस्करीका लागि दुरुपयोग गर्ने गरिएको बताइएको छ । 

    तस्करहरुले परफ्युम, बच्चाको डाइपर, मोबाइलको ब्याट्रीको भित्रि भागमा लुकाई स्वदेश फर्किने कामदारलाई बोकाएर नयाँ शैलीमा सुन पठाउने गरेकोे विमानस्थलस्थित सुरक्षा स्रोतले बतायो । प्रहरीले सानो परिमाणमा हुने सुन तस्करीको तरिका थाहा पाएपछि तस्करहरुले पटकपटक  शैली परिवर्तन गर्ने गरेको सुरक्षा स्रोतको भनाइ छ । 

    तस्करहरुले सोझा कामदारहरुलाई भरिया बनाएपछि कतारस्थित नेपाली दूतावासले सूचना जारी गर्दै कतारबाट नेपाल फर्किने कामदारहरुलाई नचिनेका व्यक्तिहरुले अनुरोध वा प्रलोभनमा परेर सुनलगायतका बहुमुल्य वस्तुहरुको भरिया बनाउने गरेको भन्दै सचेत रहन आग्रह गरेको थियो ।

    शिक्षा र चेतनाका दृष्टिले कमजोर र न्यून आय भएका कामदारहरु सचेत हुन नसक्दा भरिया भई अनाहकमा जेलसमेत पर्ने गरेका छन् । पक्राउ परेका कामदारहरु भरिया नै भएको स्पष्ट भएपनि मुद्दा चलाउनु पर्ने कानूनी बाध्यताले थुनामा पठाउने गरेकोे प्रहरीले बताउने गरेको छ ।


    प्रकाशित : बिहीबार , आश्विन १४ २०७८०५:३१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार