धादिङ । नेवारी खानाको परिकार धादिङ लोक सांस्कृतिक महोत्सवको आकर्षणका रूपमा परिचित बनेको छ ।
समयबजी, नेवारी खाजा सेट, छोइला, भुटन, योमरी, सपुमिचा, बारालगायत विभिन्न स्वादका परिकारले महोत्सवमा पुगेका सबैको ध्यान आकर्षित गराएको हो ।
महोत्सवको मञ्च नजिकै झिङ्गु नेवाः समाज धादिङले सञ्चालन गरिरहेको नेवारी खाजा स्टलमा नेवारी स्वाद चाख्ने र ‘वासा’मा रम्नेहरूको घुइँचो देखिन्छ ।
स्टलमा खटिएर स्वाद चखाउँदै गरेका हरिकुमार श्रेष्ठले भने, “यहाँ आइपुग्ने सबैले नेवारी खानेकुरा चाखौँ न भन्छ, व्यापार सोचेभन्दा धेरै नै राम्रो छ ।” महोत्सवमा अन्य खाजाका परिकार खुवाउने स्टल भए पनि मौलिक स्वाद लिन खोज्ने ग्राहक नेवारी खाजा स्टलमा आइपुग्ने गरेको उनले बताए ।
एकपटक स्वाद चाखेर फर्किएका अर्को पटक परिवारलाई लिएर आउने गरेका झिँगु नेवाः समाज धादिङका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।
नेवारी परिकार अन्य खाना, खाजाको भन्दा फरक स्वाद हुने भएकाले पनि अवलोकनमा आइपुग्नेको रोजाइमा परेको उनको भनाइ छ ।
“नेवारी परिकार धादिङका बजारमा सहजै नपाइने र पाइए पनि नाम मात्रैका हुन्थ्यो”, गल्छी गाउँपालिका–८ बाट महोत्सव अवलोकनमा आएका कान्छोनारायण श्रेष्ठले भने, “यहाँ आउँदा अर्गानिक नेवारी परिकारका स्वाद खान पाइयो ।”
सुरुका दिनमा खासै चहल-पहल नभए पनि दोस्रो, तेस्रो दिनदेखि भ्याइनभ्याइ भएको व्यापारी श्रेष्ठले बताए । उनले भने, “यहाँ आउने ग्राहकले अन्य परिकारको तुलनामा योमरी सबैभन्दा बढी मन पराइदिएको छ ।”
हेर्दा म:मः जस्तै लाग्ने तथा म:मः पकाउने भाँडोमा उसिनेर तयार पारिने योमरी बनाउन निक्कै समय खर्चिनुपर्ने उनको भनाइ छ ।
सयौँ वर्षदेखि योमरी पुन्हीका दिन नेवार समुदायले योमरी बनाई खाने प्रचलन भए पनि विस्तारै बजारमा योमरी बनाई बेच्ने चलन आएपछि अरु समुदायको पनि यो परिकारप्रति आकर्षण बढेको हो । अध्यक्ष श्रेष्ठका अनुसार दैनिक रु ७० हजारदेखि ८० हजारसम्म कारोबार हुने गरेको छ ।
नेवारी खाजाको प्रचार-प्रसारका लागि महोत्सवमा स्टल राखिएको र यसबाट भएको केही आम्दानी समाजको कोषमा राखिने समाजका अध्यक्ष श्रेष्ठले बताए ।
नेवारी खाजा सदरमुकामवासीका लागि नयाँ परिकार नभए पनि जिल्लाका गाउँबस्तीबाट आएकाको लागि भने नौलो खाजा बन्न पुगेको छ ।
“पछिल्लो समय यसको लोकप्रियता बढ्दै गएको छ । केही समय अगाडि सामाजिक विकास मन्त्रालयअन्तर्गत सामाजिक विकास कार्यालय गजुरीले नेवारी परिकार बनाउने तालिम उपलब्ध गराएपछि सदरमुकाम धादिङबेँसीमा नेवारी खानाको परिकारको लोकप्रियता अझ बढेको हो”, उनले जानकारी दिए ।
गत मङ्सिर २९ र ३० गते धादिङबेँसीमा झिगु नेवाः समाजले प्रथम धादिङबेँसी सडक नेवा खाना उत्सव आयोजना गरेर सदरमुकामवासीलाई नेवारी खानाको स्वाद चखाएको थियो ।

