२०८३, कार्तिक १२ गते बिहीबार

राधाकृष्ण नाच संरक्षणमा ताकमका युवा

राधाकृष्ण नाच संरक्षणमा ताकमका युवा


  • मेरोभ्यूज
  • फाल्गुण २५, २०८१ आइतबार

  • राधाकृष्ण नाच संरक्षणमा ताकमका युवा

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका युवा मौलिक राधाकृष्ण नाच संरक्षणमा जुटेका छन् ।

    ताकम धार्मिक नाट्य समूहले लोप हुन लागेको राधाकृष्ण नृत्यको कलालाई नयाँ पुस्तालाई हस्तान्तरण गरेका हुन् ।

    राधाकृष्ण नाचका कलाकार गोपाल आचार्यले नयाँ पुस्तालाई यो नाचको कला र सिप हस्तान्तरण गरेर संरक्षणको प्रयास भएको बताए ।

    उनका अनुसार ताकममा मानव वस्तिरहेदेखिनै राधाकृष्ण नाच देखाउने चलन छ । कलाकारहरु वृद्ध भएका र केहीको निधन भएपछि राधाकृष्ण नाच संकटमा परेको थियो ।

    ताकम र धवलागिरी गाउँपालिकाका साथै जिल्ला सदरमुकाम बेनीमा हुने सभा, सभारोह, मेला महोत्सवमा प्रर्दशन हुन थालेको छ । यो नाच म्याग्दीको ताकममा मात्र नाच्ने गरिन्छ ।

    राधाकृष्ण नाचका लागि समूहले गीतको रचना गरेका छन् । यो नाचका लागि हिन्दुधर्मवलम्बिहरुको भगवान शिव, पार्वती, उनीहरुका छोरा गणेश, राधा र कृष्ण अनी लाखे पात्र हुन्छन् ।

    परापूर्वकालमा देवी-देवता र भगवानको माया प्रेम, जीवनमा आइपर्ने सुःख र दुःखका क्षणलाई गीतमार्फत व्यक्त गरेर नाचमा अभिनय गरिन्छ । सबै कलाकार पुरुष हुन्छन् । पार्वती र राधाको भूमिका पनि पुरुष कलाकारले निभाउँछन् ।

    पच्चिस मिनेटदेखि ४५ मिनेटसम्म यो नाच प्रस्तुत गरिन्छ । राधाकृष्ण नाचका लागि छ जना, बाद्यबाधन र गायनका लागि थप सात जना कलाकार आवश्यक पर्छ ।

    ताकमका अधिकांश समुदाय जुम्लाबाट बसाई सरेर आएका हुन् । उनीहरुले नै यो नाच भित्र्याएको बुढापाका बताउँछन् ।

    अहिलेको जस्तो सूचना प्रबिधिको बिकास नभएको अवस्थामा समाजमा मनोरञ्जनका लागि चाडपर्व र मेलामा राधाकृष्ण नाच देखाउने गरिएको थियो ।

    बिशेष सभा समारोह र मेला महोत्सवमा पनि ताकमको राधाकृष्ण नृत्य आकर्षण बन्न थालेको छ । कलाकारहरुका लागि पोषाक र बाद्यबाधनका सामग्रीको आवश्यकता छ । समूहको नियमित आम्दानीको स्रोत छैन् ।

    सरकारी स्तरबाट सहयोग आवश्यक रहेको कलाकार गोविन्द पौडेलले बताए । कलाकारहरु विदेशिने र बसाई-सराई गर्नु राधाकृष्ण नाच संरक्षणको लागि चुनौती बनेको छ ।

    धवलागिरी गाउँपालिका–७ का वडा अध्यक्ष अशोक खत्रीले राधाकृष्ण नाच संरक्षण र पुस्तान्तरणका लागि पहल गर्ने प्रतिवद्धता जनाए । संस्कृति संरक्षणको साथै पर्यटन प्रर्वद्धन गर्ने उनले बताए ।


    प्रकाशित : आइतबार, फाल्गुण २५ २०८११०:५०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार