२०८३, कार्तिक १७ गते मंगलबार

शिक्षकका मागलाई कम आँकिए यसको परिणाम राम्रो हुँदैन : अध्यक्ष प्रचण्ड

शिक्षकका मागलाई कम आँकिए यसको परिणाम राम्रो हुँदैन : अध्यक्ष प्रचण्ड


  • मेरोभ्यूज
  • चैत्र २, २०८१ शनिबार

  • शिक्षकका मागलाई कम आँकिए यसको परिणाम राम्रो हुँदैन : अध्यक्ष प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आन्दोलनरत शिक्षकहरूको मागलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताएका छन् ।

    विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग राख्दै आन्दोलनरत नेपाल शिक्षक महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा अध्यक्ष प्रचण्डले शिक्षकलाई कम आँकिए यसको परिणाम राम्रो नहुने बताए ।

    विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गर्न चुनौतिपूर्ण रहेको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले विधेयकलाई तत्काल पारित गर्न जोड दिए ।

    "अहिले जे-जति संशोधन दर्ता भए पनि कतिपय एउटै प्रकृतिका छन् । उपसमिति बनाएर भए पनि तत्काल पारित गर्नेतर्फ जान सकिन्छ," उनले भने, "तर, मुख्य कुरा इच्छाशक्तिको हो । शिक्षा र शिक्षकको विषय सरकारको प्राथमिकतामा नपर्दा यसमा ढिलाइ भएको छ।"

    शिक्षकका माग र समग्र शैक्षिक क्षेत्रबारे एउटै दृष्टिकोण बन्न नसकेको बताउँदै अध्यक्ष दाहालले देशको विकास र समृद्धिको मुख्य आधार शिक्षा नै भएकोमा जोड दिए ।

    शिक्षा भौतिक पूर्वाधारको पनि पूर्वाधार हो । विकासले गति नलिनु, अराजकता फैलिनु, नैतिक मूल्यमा ह्रास आउनुको मुख्य कारण शिक्षाबारे सही र एकरूप बुझाइ नहुनु हो, उनले भने, "म सरकारमा हुँदा विद्यालय शिक्षा सुधारसम्बन्धी विज्ञको प्रतिवेदन संकलन गर्नै धेरै समय लाग्यो । पछि त्यसलाई कार्यान्वयन गर्न खोजिए पनि अहिले सरकारले अघि बढाउन खोजेको छैन ।"

    अध्यक्ष प्रचण्डले शिक्षक महासंघले उठाएका विषयमा सडक र संसद दुवै ठाउँबाट पार्टीले सशक्त भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

    आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिहरूले प्रचण्ड नेतृत्वको सरकारले नै विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराएको स्मरण गराउँदै, विधेयक पारित गराउन माओवादी केन्द्रको विशेष भूमिका रहनेमा जोड दिए ।

    "डू एण्ड डाइको अवस्थामा छौं," शिक्षक महासंघका प्रतिनिधिहरूले भने, "विगतमा पनि शिक्षकका मागमा माओवादी र प्रचण्ड सतिसालझैं उभिए । यसपटक पनि काँध थाप्न अनुरोध छ । माओवादीले संसदमा दबाबमूलक भूमिका खेलोस्।"


    प्रकाशित : शनिबार, चैत्र २ २०८१११:५२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार