२०८३, कार्तिक १२ गते बिहीबार

पूर्वाधारका पर्खाइमा सुनछहरा

पूर्वाधारका पर्खाइमा सुनछहरा


  • मेरोभ्यूज
  • चैत्र ३, २०८१ आइतबार

  • पूर्वाधारका पर्खाइमा सुनछहरा

    म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सुनछहरा पूर्वाधार र पर्यटकको पर्खाइमा छ ।

    प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचार-प्रसारको अभावका कारण सुनछहरा ओझेलमा परेको छ ।

    व्यवस्थित पदमार्गको साथै झोलुङ्गे पुलको अभावका कारण सुनछहरामा पर्यटकहरु पुग्न सकेका छैनन् ।

    प्रचार-प्रसारका अभावमा सुनछहराको विशेषता स्थानीयस्तरमै सिमित भएको चिमखोलाका बासिन्दा ललित गर्बुजाले बताए ।

    “धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा पर्ने सुनछहराको धार्मिक र पर्यटकीय सम्भावना भएपनि ओझेलमा परेको छ,” उनले भने “सुनछहरामा पूर्वाधार विकास र प्रवर्द्धनको आवश्यकता छ ।”

    भारतीय सेनामा कार्यरत गर्बुजाको अगुवाईमा मण्डली युवा क्लवका पदाधिकारी, पर्यटन ब्यवसायी र सञ्चारकर्मीहरुको टोली गत हप्ता समुन्द्री सतहदेखि तीन हजार नौ सय पचास मिटर उचाइमा रहेको सुनछहरा पुगेर फर्किएको थियो ।

    किम्बदन्ती अनुसार परापूर्वकालमा ध्यान बस्नका लागि झरनामा पुगेका एक जना बाजा बजाउने व्यक्तिलाई भगवान प्रशन्न भएर बर माग्न अनुरोध गरेका थिए । ती बाजा बजाउने व्यक्तिले सुनको बर मागेछन् ।

    भगवानले छहराको गुफाबाट हातमा अटाउने जति सुन लैजान आर्शिवाद दिएपनि ती व्यक्तिले धेरै निकाल्न खोज्दा बाढी आएर बगाएको र पछि त्यसको नाम सुनछहरा रहन गएको बुढापाका बताउँछन् ।

    छहराको भित्र रहेको गुफाको भित्ताहरु पहेलो रंगको भएकाले पनि त्यसलाई सुनछहरा भन्ने गरिएको रघुगंङ्गा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकबहादुर पाईजा (रिम)ले बताए । विभिन्न देवीदेवता र जनावरको आकृति देखिने छहराको भित्र रहेको गुफामा हिर्काउदा बाजाको आवाज सुनिन्छ ।

    धौलागिरि आधार शिविर पुग्ने पदमार्ग बनाउन थालिएको र सुनछहरा जाने पदमार्ग तथा बाटोमा पर्ने रघुगङ्गा नदीमा झोलुङ्गे पुल बनाउन पहल गरेको वडाध्यक्ष पाईजाले जानकारी दिए ।

    हिउँदयाममा चिसोले छहराको पानी जमेर हिउँमा परिणत भएको हेर्न पाउनु सुनछहराको थप बिशेषता हो । छहरा करिब १५ मिटर अग्लो छ भने त्यहाँभित्र करिब पाँच मिटर लामो गुफा छ । सुनछहरामा पुगेर दर्शन तथा पूजाआजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास छ ।

    बेनीदेखि चिमखोलाहुँदै सुगुरथलासम्म चार घण्टा सवारी साधनको यात्रापछि पुगिन्छ । सुगरथलादेखि थप एक दिन यात्रा गरेपछि पुगिने सुनछहरामा यार्सा संकलन गर्ने स्थानीयहरु वैशाख, जेठ महिनामा बास बस्ने गर्दछन् । सुगुरथलासम्म मात्र होटल तथा रेष्टुरेन्टको सुविधा छ । सुगरथला भन्दा माथि आफै बन्दोबस्तिको सामान लिएर जानुपर्छ ।

    पोखराका पर्यटन व्यवसायी तारा गर्बुजाले सुनछहरा पुग्ने व्यवस्थित पदमार्ग र झोलुङ्गे पुल बनाउन सकेमा पर्यटकलाई सहज हुने बताए । झोलुङ्गे पुल नहुँदा राहुघाट वारपार गर्न जङघार तर्नुपर्छ । बर्खा याममा खोलाबाट वारपार गर्न सकिदैन् ।

    पदमार्ग नहुँदा भिरमा जोखिम मोलेर यात्रा गर्नुपर्छ । नक्सा बनाउन र सङ्केत चिन्हहरु पनि राख्नुपर्ने अध्ययन टोलीमा जानुभएका सुरेन गुरुङले बताए । सुनछहराहुँदै रिखार, धौलागिरि आधार शिविरको अस्ट्रेलियन क्याम्प, कालीबराह र मुस्ताङ पनि जान सकिन्छ । बाटो चिनेका गोठाला बाहेक अरुसँग यात्रा गर्दा हराउने जोखिम छ ।


    प्रकाशित : आइतबार, चैत्र ३ २०८११०:१०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार