गुल्मी । जिल्लामा फेला परेका चरा प्रजातिको सङ्ख्या तीन सय ५५ पुगेको छ । पछिल्लो गणनाअनुसार ३० प्रजातिका नयाँ चरा थपिएसँगै जिल्लामा हालसम्म फेला परेका चरा प्रजातिको सङ्ख्या तीन सय ५५ पुगेको हो ।
नेपाल पन्छी संरक्षण सङ्घले जिल्लामा गरेको पछिल्लो गणनाको क्रममा थाप्ले सत्यवती वन क्षेत्रमा थप ३० प्रजातिका नयाँ चरा फेला परेका हुन् ।
जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा गरिएको चरा सर्वेक्षणका क्रममा उक्त चरा फेला परेको नेपाल पन्क्षी संरक्षण सङ्घका परियोजना अधिकृत शम्भु भट्टराईले जानकारी दिए ।
यसअघि रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा वर्षमा दुई पटक चरा सर्वेक्षण गरिँदै आएको थियो । सर्वेक्षणका क्रममा नयाँ फेला परेका चरामा तिलहरी, मोटो ठूँडे, पुष्प कोकिला, उमाचाँचर, तिबिल्चे, मुरालिडे ढिकुरे भ्याकुर, निलो लघुपँख, हटचुर चाँचर, हलीमुख, सिम कुखुरालगायत रहेको परियोजना अधिकृत भट्टराईले जानकारी दिए ।
गुल्मीको रेसुङ्गा, मदाने र थाप्ले सत्यवती क्षेत्र आजभोलि दुर्लभ चराको मुख्य बासस्थान बनेको छ । विश्वमा पाइने दुर्लभ चरामध्ये गुल्मीमा छ प्रजातिका चरा फेला परेका हुन् ।
दुर्लभ प्रजातिका चरामध्ये रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालीज, रणमत्त महाचिल, डङ्गर गिद्ध, सेतो गिद्ध, सुन गिद्ध र गोमायो महाचिल रहेका छन् ।
नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन क्षेत्रमा रेकर्ड गरिएको छ ।
नेपालमा पाइने नौ सय तीन प्रजातिका चरामध्ये गुल्मीमा विभिन्न प्रजातिका ४० प्रतिशत चरा फेला परेको परियोजना अधिकृत भट्टराईले जानकारी दिए ।

