२०८३, कार्तिक ११ गते बुधबार

गुल्मीमा चरा प्रजातिको सङ्ख्या तीन सय ५५ पुग्यो

गुल्मीमा चरा प्रजातिको सङ्ख्या तीन सय ५५ पुग्यो


  • मेरोभ्यूज
  • चैत्र ३, २०८२ मंगलबार

  • गुल्मीमा चरा प्रजातिको सङ्ख्या तीन सय ५५ पुग्यो

     

    गुल्मी । थप ३० नयाँ प्रजातिको चरा फेला परेसँगै हालसम्म जिल्लामा प्राप्त चरा प्रजातिहरुको सङ्ख्या जम्मा तीन सय ५५ पुगेको छ । नेपाल पन्छी संरक्षण सङ्घले जिल्लामा हालै गरेको चरा गणनामा थप ३० नयाँ प्रजातिको चरा फेला पारेका हुन् ।

    जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवतीको वन संरक्षण क्षेत्रमा गरिएको चरा सर्वेक्षणमा उक्त चराहरु फेला परेको नेपाल पन्छी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत शम्भु भट्टराईले जानकारी दिए ।

    सर्वेक्षणको क्रममा रेसुङ्गा वन संरक्षण क्षेत्र, मदाने वन संरक्षण क्षेत्र र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा नयाँ २५ प्रजातिका चराहरु फेला परेको परियोजना अधिकृत भट्टराईले बताए ।

    यसअघि रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा वर्षमा दुई पटक चरा सर्वेक्षण गरिँदै आएकामा यस पटकको सर्वेक्षणमा थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा पनि चरा सर्वेक्षण गरिएको थियो ।

    नयाँ फेला परेका चराका प्रजातिहरुमा तिलहरी, मोटो ठूँडे पुष्प कोकिला, उमाचाँचर, तिबिल्चे, मुरालिडे ढिकुरे भ्याकुर, निलो लघुपङ्ख, हटचुर चाँचर, हलीमुख, सिम कुखुरालगायत रहेको जनाइएको छ ।

    विश्वमा पाइने दुर्लभ चराहरुमध्ये गुल्मीमा छ प्रजातिका चराहरु पाइन्छन् । ती चराहरुमा रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालीज, रणमत्त महाचिल, डङ्गर गिद्द, सेतो गिद्द, सुन गिद्द र गोमायो माहाचिल छन् । काँडे भ्याकुर रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन क्षेत्रमा रेकर्ड गरिएको छ ।

    नेपालमा पाइने नौ सय तीन प्रजातिका चरामध्ये गुल्मीमा करिब ४० प्रतिशत चरा फेला परेको नेपाल पन्छी संरक्षण सङ्घले जनाएको छ ।

    सङ्घले विभिन्न समयमा गरेको पन्छी सर्वेक्षण अनुसार रेसुङ्गा वन क्षेत्रमा दुई सय ७६ प्रजाति र मदाने वन संरक्षण क्षेत्रमा दुई सय ८९ प्रजाति र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा एक सय ९६ प्रजातिका चरा फेला परेका छन् ।

    तीनवटै वन संरक्षण क्षेत्रमा गरिएको पछिल्लो सर्वेक्षणअनुसार जम्मा तीन सय ५५ प्रजातिका चराहरुको तथ्याङ्क अभिलेख गरिएको छ ।

    सङ्घले वन क्षेत्रसँग जोडिएका स्थानीयवासीहरुलाई वन जङ्गलको संरक्षण र सम्वर्द्धनसँगै जीविकोपार्जनमा टेवा पुर्याउने कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

    जिल्लामा चरा पर्यापर्यटनको प्रचुर सम्भावना रहेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए ।


    प्रकाशित : मंगलबार, चैत्र ३ २०८२१०:३१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार