२०८३, कार्तिक ११ गते बुधबार

पर्यटकको रोजाइमा ‘पुरन्धरा झरना’

पर्यटकको रोजाइमा ‘पुरन्धरा झरना’


  • मेरोभ्यूज
  • जेठ १८, २०८३ सोमबार

  • पर्यटकको रोजाइमा ‘पुरन्धरा झरना’

     

    दाङ । पश्चिम दाङको बबई गाउँपालिकामा पर्ने ‘पुरन्धरा झरना’ पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ । झरनासम्म पुग्ने बाटो पक्की निर्माण भएसँगै अवलोकनका लागि आउने पर्यटकको सङ्ख्या बढ्नुका साथै यहाँ आन्तरिक पर्यटकको चहल-पहल बढ्न थालेको हो ।

    तीनतिरबाट वनजङ्गलले घेरेको पश्चिमतर्फ भने कलकल बग्ने बबई नदी र त्यही नदीको करिब १० मिटर टाढा पूर्वतर्फ प्राकृतिक पुरन्धरा झरना छ । करिब ४५ फिट उचाइको यो झरनाबाट खस्ने पानीको मनमोहक दृश्यले पर्यटकलाई आकर्षित गरेको स्थानीय बताउँछन् ।

    झरनाबाट खसेको पानी पोखरीजस्तै आकारमा जम्मा हुन्छ । सोही पानी विस्तारै बबई नदीमा गएर मिसिन्छ । झरनाको अवलोकन गर्न यहाँ पुग्ने जोकोही पनि यो दृश्यले थप आकर्षित हुनुका साथै यस यामको गर्मी शुरु भएकाले झरनाको तल बनेको पोखरीमा पौडी खेल्नेको सङ्ख्या पनि पछिल्ला दिनमा बढिरहेको झरना संरक्षणका लागि खटिएका कर्मचारी गेदलाल केसीले जानकारी दिए ।

    झरनाको अवलोकनका लागि जिल्लाका विभिन्नस्थान तथा अन्य छिमेकी जिल्लाका साथै भारतका विभिन्न ठाउँबाट पनि पर्यटक आउने गरेका कर्मचारी केसीले बताए ।

    उनका अनुसार अहिले दैनिक दुईसयदेखि तीनसयसम्म आन्तरिक पर्यटक आउने गरेका छन् ।

    सार्वजनिक बिखा तथा शनिबारका दिनमा झरनाको अवलोकन गर्न आउनेको सङ्ख्या पाँच सयसम्म पुग्ने केसीले बताए । उनका अनुसार झरना अवलोकन गर्न आउने पर्यटकबाट व्यक्तिगत शुल्क नलिए पनि सवारी साधन बापत पार्किङ शुल्क लिने गरिएको छ ।

    झरनाको अवलोकन तथा वनभोज खान आउनेले ल्याउने सवारीसाधनबाट भएको आम्दानी बबई गाउँपालिकाको खातामा दाखिला हुने जनाउँदै यहाँ कार्यरत कर्मचारीलाई तलब गाउँपालिकाले प्रदान गर्ने बताए ।

    जिल्ला अदालत देउखुरीका न्यायाधीश प्रकाशराज पण्डितले आफू यहाँ पुग्दा आनन्द महशुस भएको प्रतिक्रिया दिए । उनले यसलाई अझै व्यवस्थित बनाउँदै सरसफाइमा ध्यान दिनसके पर्यटन आगमन बढ्नु साथै स्थानीयको आयस्तर पनि बढुने धारणा राखे ।

    इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख उपसचिव पुष्प पौडेलले झरनाको संरक्षण तथा संवर्द्धन गरी शौचालय, चमेना गृहलगायत भौतिक पूवर्धार निर्माण गर्नसके पश्चिम दाङको मुहार फेरिने बताए । यसबाट स्थानीयको जीवनस्तर सुधार हुनुका साथै रोजगारीका अवसर पनि सिर्जना हुने उनको भनाइ छ ।

    उच्च सरकारी वकिल कार्यालय तुलसीपुरका प्रमुख चन्द्रबहादुर सिजाली, सशस्त्र प्रहरी तुलसीपुरका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक राम भण्डारीलगायतको टोलीले सबैले झरनाको विकासमा सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिँदै यहाँ आउने पर्यटकका लागि बबई नदीमा जलविहार, प्राकृतिक पदयात्रा, जङ्गली जनावर, चरा तथा जीवजन्तुको अवलोकन गर्ने/गराउने वतावरण बनाउन सके यो क्षेत्रलाई पश्चिम दाङको प्रमुख आकर्षक पर्यटकीय गन्तव्य बनउन सकिने बताए ।

     

    यसरी पत्ता लागेको थियो झरना

    यो झरना एकान्त ठाउँमा अवस्थित छ । यहाँ वरपर कुनै बस्ती छैनन् । “शताब्दीभन्दा पुरानो इतिहास बोकेको यो झरना वरिपरि पहिल घनघोर जङ्गल रहेको र जङ्गलको बीचमा स–साना बाटो बनाएर मानिस गाईवस्तु लिएर चराउन जाने, घाँस-दाउरा गर्न तथा खर काट्न जाने, गोठ बनाएर बस्नेलगायत गविधि सञ्चालन हुन्थ्यो”, कर्मचारी केसीले भए, “यहाँ बनाइएका गोठमा बस्ने क्रममा आवत-जावत गर्दा मानिसले झरना रहेको पत्ता लगाएका थिए ।”

    उनका अनुसार झरनाको करिब एक सय मिटरको दूरीमा सिद्धेश्वर महादेवको मन्दिर अवस्थित छ ।

    मन्दिरमा शिवरात्रिका अवसरमा ठूलो मेला लाग्ने गरेको बबई गाउँपालिकाका अध्यक्ष कुलप्रसाद केसीले जानकारी दिए ।

    झरनाको विकासका लागि पालिकाले गुरुयोजना बनाई पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको उनले बताए । उनले झरनालाई जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र बनाउनका लागि आफूहरू लागिपरेको उल्लेख गरे ।

    यसअघि झरनाको विकासका लागि बबई गाउँपालिका, लुम्बिनी प्रदेश सरकार, पर्यर्टन बोर्ड नेपालगञ्जबाट विनियोजन भइ पूर्वाधारका निर्माणलाई तीव्रता दिइएको अध्यक्ष केसीले जानकारी दिए ।

    उनका अनुसार सङ्घीय सरकारबाट प्राप्त रकमले झरनासम्म पुग्न पक्की बाटो तथा सिँढी निर्माणलगायत काम सम्पन्न भइसकेका छन् ।

    उनले झरनाको सौन्दर्यता जोगाउनका लागि विज्ञको टोलीबाट यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी सोही अनुरुप कार्यान्वयन भइरहेको जानकारी दिए ।

    जिल्लामा आउने पर्यटकको रोजाइमा झरना पर्न थालेपछि यसको संरक्षण, प्रचार-प्रसार र प्रवर्द्धनमा योजनाबद्ध काम थालिएको उनको भनाइ छ ।

    विगतका समयमा बाटो पक्की नहुँदा झरना क्षेत्रको अवलोकन बर्षा याममा गर्न समस्या हुने गरेकामा अहिले सहज भएको भएको स्थानीय बताउँछन् ।

    अहिले पक्की बाटोसहित आवश्यक पूर्वाधार निर्माण हुन थालेपछि जुनसुकै समयमा पनि यहाँसम्म पुग्न सकिने अध्यक्ष केसीले बताए ।

    तुलसीपुर, हापुरे, सुर्खेतखण्डको टवाङ खोलाबाट करिब आठ किमी दक्षिण-पचिश्ममा पर्ने यो झरनासम्म पुग्ने बाटो पक्की भएकाले बाह्रै महिना पर्यटकको आगमन हुन थालेको झरना संरक्षणमा खटिएका कर्मचारी केसीले बताए । यसलाई अझ सहज र व्यवस्थित बनाउँदै लैजानुपर्नेमा उनले जोड दिए ।


    प्रकाशित : सोमबार, जेठ १८ २०८३०९:३५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार