२०८३, कार्तिक १७ गते मंगलबार

बारीमा १६ किलोको लौका

बारीमा १६ किलोको लौका


  • मेरोभ्यूज
  • चैत्र ३, २०८१ आइतबार

  • बारीमा १६ किलोको लौका

    सुदूरपश्चिम । कैलालीको गौरीगङ्गा नगरपालिका–११ पिरेनी गाउँकी सूर्यकुमारी चौधरीको बारीमा १६ किलोग्रामको एउटै लौका फलेको छ ।

    गत जेठमा रोपिएको स्थानीय जातको लौकाको लहरामा कुनै रासायनिक मल र विषादी प्रयोग नगरेरै सो लौका फलाएको उनले बताए ।

    “रासायनिक मल र अन्य विषादी केही प्रयोग गरिएन, केवल गोबर मल प्रयोग गरेर लौका फलाइएको लागेको हो”, चौधरीले भने ।

    गौरीगङ्गा नगरपालिका–९ मा सञ्चालित एकता जैविक संरक्षण कृषि सहकारी (बीउ बैंक)की सदस्यसमेत रहेकी चौधरीले आफ्नै संस्थाबाट लिएको रैथाने जातको लौकाको बीउ रोपेका थिए ।

    संस्थाका अध्यक्ष भक्तिराम सापकोटाले संस्थाले रैथाने जातको धान, गहुँ, सिमी, तरकारीलगायत बालीको बीउ संरक्षण गरी किसानलाई बिक्री वितरण गर्दै आएको बताए ।

    “हाइब्रिड जातको बीउको तुलनामा रैथाने जातको बीउबाट उत्पादकत्व केही कम हुने गरेको छ तर रैथाने जातको बीउबाट खेती गर्दा लागत खर्च कम र रोगकिराको समस्या पनि कम हुन्छ ।

    कुनै विषादी वा रासायनिक मल प्रयोगबिना उत्पादित कृषिउपज मानव स्वास्थ्यका लागिसमेत हानिकारक हुँदैन । त्यही भएर हामीले यस्तो कार्यलाई प्रोत्साहन गरिरहेका छौँ”, उनले भने ।

    धनगढीमा लागेको प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेलामा प्रदर्शनीका लागि राखिएको यो लौका अवलोकन गर्नेहरूको भीड लाग्ने गरेको छ । मेलामा रैथाने जातका अन्नबाली, तरकारीको बीउबिजनका साथै कृषिजन्य सामग्री तथा उपकरण पनि प्रदर्शनीमा राखिएका छन् ।

    कृषि निर्देशनालय दीपायलको पहलमा कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायीकरण र औद्योगिकीकरणमा टेवा पुर्याउने लक्ष्यसहित धनगढीमा चारदिने प्रदेशस्तरीय कृषि तथा पशुपक्षी मेला प्रदर्शनी २०८१ सञ्चालन भइरहेको छ ।


    प्रकाशित : आइतबार, चैत्र ३ २०८११०:१२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार