२०८३, कार्तिक ११ गते बुधबार

लुरी गुम्बा ओझेलमा

लुरी गुम्बा ओझेलमा


  • मेरोभ्यूज
  • चैत्र ४, २०८१ सोमबार

  • लुरी गुम्बा ओझेलमा

    म्याग्दी । मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ ।

    धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचार-प्रसार अभावमा ओझेल परेको आठ सय वर्ष पुरानो गुफाभित्र रहेको गुम्बा संरक्षणको पनि पर्खाइमा छ ।

    गुम्बाकी आनी थाक्पा ढोल्करका अनुसार तान्त्रिक बौद्ध धर्मसँग नजिक निङ्मापा सम्प्रदायको लुरीघाङ गुम्बा १२औं शताब्दीमा बनेको हो ।

    समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा याराको पूर्वी कुनाको पहराको चेपमा रहेको लुरी गुम्बा अनौठो धार्मिक सम्पदा हो ।

    गोरेटो र सिँढी हुँदै पहाडको बीच भागमा रहेको तीनवटा गुफामा रहेको गुम्बामा पुगिन्छ । आँगनमा पुग्ने बेलामा काठको भर्याङ राखिएको छ । गुम्बाको मुख्य भाग, लामाको तपस्यास्थल पहराभित्र छिरेको गुफामा रहेको छ । लुरी गुम्बाको छोर्तेन प्राकृतिक भएको आनी ढोल्करले जानकारी गराए ।

    आकर्षक भित्तेचित्र भएको छोर्तेनको वरपर परिक्रमा गर्न मिल्ने सानो भाग पनि छ । यहाँका चित्रहरू पन्ध्रौँ शताब्दीमा बनाइएको हो ।

    पहराको ढुङ्गालाई नै थामको रूप दिइ बनाइएकाले गुम्बामा भित्तेचित्र, पुस्तक, पुराना थाङ्का र पद्मसम्भवको मूर्ति रहेको छ ।

    भुटानी कन्या विवाह गरेका तत्कालीन ल्होका राजाले आफ्नी पत्नीलाई खुसी पार्न लुरी गुम्बा बनाएको इतिहास छ ।

    स्थानीयवासीले यसलाई लुरी कावुङ भन्ने गर्छन् । अर्को किंवदन्तीअनुसार यारागाउँमा जन्मिएका उड्ने सिद्ध पाएका कुन्छाङ झलु नाम गरेका लामाले तपस्या गरेर ज्ञान आर्जन गरेका थिए ।

    गुम्बापारिको पहाडको चुचुरोलाई स्थानीयवासी कुन्छाङ झलु लामाको बासस्थान मान्ने गरेका छन् ।

    मुख्य गुम्बाभन्दा केही तल पेयुङखोलाको किनारमा अर्को गुम्बा पनि बनाइएको छ । दुवै ठाउँको गुम्बामा नियमित पूजाआजा हुने आनी ढोलकरले बताए । लुरी गुम्बाको नजिकैको यारा र घारागाउँमा धर्मशाला र होटलको सुविधा छ ।

    लोघेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङबाट ध्यखोला, ध्ये, सुर्खाङ, यारा हुँदै एक घण्टा सवारीसाधनको यात्रापछि पुगिने घारागाउँबाट २० मिनेटको पैदलयात्रा गरेपछि दामोदरकुण्ड जाने बाटोमै रहेको लुरी गुम्बा पुगिन्छ ।

    लोमान्थाङबाट लुरी सर्किट पदमार्गको प्रयोग गरेर पनि यहाँ जान सकिन्छ ।

    चराङबाट घारा जाने क्रममा ध्ये, सुर्खाङ र यारागाउँ, अनौठा आकृति भएको पहाड अवलोकन गर्न पाइन्छ ।

    लोघेकर दामोदरकुण्ड गाउँपालिका र गण्डकी प्रदेश सरकारले सडकबाट लुरी गुम्बा पुग्ने ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाएका छन् ।

    गाउँपालिका र प्रदेश सरकारको रु. १५/१५ लाख बजेटमा उकालोमा करिब तीन सय मिटर पक्की पदमार्ग निर्माण भएको वडाध्यक्ष पासाङ गुरुङले बताए । यस वर्ष सार्वजनिक शौचालय बनाउन रु. पाँच लाख बजेट विनियोजन गरेको वडाध्यक्ष गुरुङले बताए ।


    प्रकाशित : सोमबार, चैत्र ४ २०८१११:३८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार