२०८३, कार्तिक १७ गते मंगलबार

फूल मेलामा रमाइरहेका ‘फूलप्रेमी’

फूल मेलामा रमाइरहेका ‘फूलप्रेमी’


  • मेरोभ्यूज
  • चैत्र ७, २०८१ बिहीबार

  • फूल मेलामा रमाइरहेका ‘फूलप्रेमी’

    काठमाडौँ । भृकुटीमण्डप प्रवेश गर्नेबित्तिकै फूलैफूलको द्वार देख्न सकिन्छ । द्वार(गेट) प्रवेश गर्नेबित्तिकै लाग्छ विभिन्न रङगीचङ्गी फूलहरूले स्वागत गरिरहेका छन् । थरिथरिका फूल तथा बोटबिरूवामा मौरीझैँ झुम्मिएका देखिन्छन् फूलप्रेमीहरू ।

    फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा सुरू भएको २६औँ पुष्प मेला (फ्लोरा एक्स्पो)को दृश्य हो यो । फूलैफूलको संसारमा रमाइरहेको भेटियो, प्रतिनिधिसभाअन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापा ।

    पुष्प मेलामा फूल किन्दै गर्दै भेटिएकी थापाको हातमा ‘जेरानियम’ फूलको बोट थियो भने अर्को हातमा थप अरू फूलका बिरूवाहरू ।

    उनी बोटबिरूवाको सौखिन छन् । उनलाई मौसमअनुसारको फलफूल तथा तरकारी आफैँ फलाएर खाने इच्छा लाग्छ । कौसीखेती गर्दै आएकी उनीले सागसब्जी, फूलहरू रोपेको छ ।

    सकेसम्म अर्ग्यानिक खाने प्रयत्न गर्छन् थापा । “यस्तो मेला लाग्नेबित्तिकै एकपटक छिरिहाल्छु । फुर्सद हुँदासम्म आफैँ रोप्ने, बोटबिरूवाको स्याहार्ने काम गर्छु”, थापाले भने ।

    पुष्प मेला हेर्न भक्तपुरबाट आएकी समृद्धि राईले छ वटा फूलहरू किने । उनी हरेक वर्ष मेलामा आउँछन् र मनपरेका फूलहरू किनेर लाग्छन् । उनले भने, “फूलप्रेमीलाई त मेला औधी रमाइलो लाग्छ । मैले थुप्रै फूलहरू रोपेकी छु । फूलको सङ्कलन गर्न मनपर्छ । घरभरि नै सजाएर राखेको छु ।”

    मेलामा कसैको आँखा गमलामा तथा कसैको आँखा ठूलो फुल्ने फूलहरूमा देखिन्थ्यो । मौसमअनुसारको फुल्ने फूलहरूमा धेरैको चासो गइरहेको थियो । मेलामा जेरानियम, लाहुरे फूल, सिनारेरिया, पेटुनिया, गुलाब, लिली, कार्नेसनलगायत सयौँ प्रकारका आउटडोर तथा इन्डोर फूल तथा बोटबिरूवा प्रदर्शनीमा राखिएका थिए ।

    कीर्तिपुरका साहिल श्रेष्ठ ‘अर्किड’को सङ्कलन गर्न मन पराउँछन् । उनी मेलामा विभिन्न प्रकारका अर्किडको खोजीमा आएका थिए । तर भनेजस्तो पाएनन् । उनी भन्छन्, “खासै खोजेजस्तो पाइएन । मसित भएका नै रहेछन् प्रायः मूल्य पनि नर्सरीभन्दा अलि बढीजस्तो लाग्यो ।”

    भृकुटीमण्डप प्रदर्शनी हलमा ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ चैत १ देखि ४ गतेसम्म मेला लाग्नेछ । आयोजकका अनुसार मेलामा ८२ वटा प्रदर्शनी कक्ष राखिएका छन् ।

    मेलामा विभिन्न प्रजातिका फूल, मल, गमलालगायत पुष्प सामग्री रहेका छन् । मेला संयोजक रामबहादुर तामाङले मेलामा करिब ६० हजार मानिसले अवलोकन गर्ने अनुमान गरिएको बताए ।


    प्रकाशित : बिहीबार , चैत्र ७ २०८११०:४१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार