२०८३, कार्तिक १७ गते मंगलबार

वि.सं. २०८४ सम्म म प्रधानमन्त्री बन्ने रेसमा छैन : अध्यक्ष प्रचण्ड

वि.सं. २०८४ सम्म म प्रधानमन्त्री बन्ने रेसमा छैन : अध्यक्ष प्रचण्ड


  • मेरोभ्यूज
  • चैत्र ८, २०८१ शुक्रबार

  • वि.सं. २०८४ सम्म म प्रधानमन्त्री बन्ने रेसमा छैन : अध्यक्ष प्रचण्ड

    पर्सा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू हाल प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेको छ ।

    नेकपा (माओवादी केन्द्र)द्वारा सञ्चालित तराई–मधेस जागरण अभियानमा सहभागी हुन वीरगञ्ज आएका अध्यक्ष प्रचण्डले प्रेस सेन्टर नेपाल, पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा वि.सं. २०८४ सम्म प्रधानमन्त्री बन्ने होडमा आफू नरहेको धारणा राखे ।

    अध्यक्ष प्रचण्डले सरकारमा हुँदा एक कुरा र सरकार बाहिर हुँदा अर्कै कुरा गर्ने आरोप माओवादीलाई उपयुक्त नहुने बताए ।

    सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध जेहाद नै छेडिएको भन्दै उनले मिटरब्याज पीडितका पक्षमा ऐन निर्माणदेखि नागरिकताविहीन युवाहरूका समस्यामा मलमपट्टी लगाउने काम सरकारमा रहँदा गरिएको स्पष्ट पारे ।

    आर्थिक विकासको गति दिन र सुशासन कायम गर्न सरकार बाहिर हुँदा पनि निरन्तर आवाज उठाइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, "सरकारमा हुँदा वा सरकार बाहिर, माओवादी एउटै हो ।"

    अध्यक्ष प्रचण्डले ओली नेतृत्वको सरकारले भ्रष्टाचार र वेथिति प्रोत्साहन गरेको आरोप लगाउँदै राम्रा काम गर्नेहरूलाई हतोत्साहित गरेको टिप्पणी गरे ।

    यसअघि आयोजित नागरिक संवाद कार्यक्रममा अध्यक्ष प्रचण्डले वीरगञ्जको विकाससँगै देशभर देखिएका स्वास्थ्य, शिक्षा, पूर्वाधार र सुशासनका सवालमा जनताको साथ आवश्यक रहेको उल्लेख गर्दै जागरण अभियान जनसम्पर्कको उद्देश्यले अघि बढाइएको बताए ।

    संविधान निर्माणको क्रममा नै दश वर्षभित्र संविधानको समीक्षा र परिमार्जन गर्ने विषय प्रष्ट पारिएको उल्लेख गर्दै अध्यक्ष दाहालले अब त्यो समयावधि पूरा हुन लागेको भन्दै संविधानको समीक्षा र परिमार्जन आवश्यक रहेको धारणा राखे ।

    त्यसका लागि जनताको साथ अपरिहार्य भएकाले पार्टीले हुलाकी सडक केन्द्रित तराई–मधेस जागरण अभियान थालेको र चाँडै मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गरिने जानकारी दिए ।

    कार्यक्रममा नागरिक समाजका प्रतिनिधि तथा विभिन्न संघ/संस्थाका प्रतिनिधिहरुले आफ्ना समस्या र सुझाव राखेका थिए ।

    त्यस्तै, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय पदाधिकारी, मधेस प्रदेशका केन्द्रीय सदस्य, जिल्ला इञ्चार्ज, विभिन्न तहका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

    त्यसअघि शुक्रबार बिहान अध्यक्ष प्रचण्डले वीरगञ्जका विभिन्न स्थानमा मर्निङवाक गर्दै स्थानीय जनतासँग भेटघाट गरेका थिए ।

    अध्यक्ष दाहालसहितको टोलीले गण्डक बहुअरीबाट मर्निङवाक सुरु गरी घण्टाघर, मकालु चोक, आदर्शनगर चोक, घडिअर्वा पोखरी, माईस्थान चोक हुँदै विभिन्न स्थानको अवलोकन र स्थानीयसँग संवाद गरेका थिए ।

    सो अवसरमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले अध्यक्ष प्रचण्डलाई स्वागत गर्दै वीरगञ्जका समस्या र आवश्यकताबारे जानकारी गराएका थिए ।


    प्रकाशित : शुक्रबार, चैत्र ८ २०८११०:११
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार