२०८३, कार्तिक ११ गते बुधबार

दामोदरकुण्ड - याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि बजेटको स्रोत सुनिश्चित

दामोदरकुण्ड - याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि बजेटको स्रोत सुनिश्चित


  • मेरोभ्यूज
  • चैत्र १०, २०८१ आइतबार

  • दामोदरकुण्ड - याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि बजेटको स्रोत सुनिश्चित

    म्याग्दी । गण्डकी प्रदेश सरकारले मुस्ताङको दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि रु. दस करोड बजेटको स्रोत सुनिश्चितता गरेको छ ।

    आर्थिक मामिला मन्त्रालयले भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालय अन्तर्गत चालु आर्थिक वर्ष २०८१/८२ मा ठेक्का प्रक्रिया अघि बढाउने गरि मुस्ताङका दुई सडकलाई रु. पाँच/पाँच करोड बजेटको स्रोत सुनिश्चितता गरेको हो ।

    घरपझोङ गाउँपालिका–२ मार्फादेखि धमाङ–आलुबारी–याकखर्क र लोघेकर–दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङदेखि सुरखाङ–यारा–घारा हुँदै घुयुमा ठाटीसम्मको सडक स्तरोन्नति योजना छनौट भएको मुस्ताङ १(२) बाट निर्वाचित प्रदेश सभा सदस्य बिकल शेरचनले जानकारी दिए ।

    “भौतिक मन्त्रालयले छनौट र अर्थ मन्त्रालयले स्रोत सहमति दिएपछि पूर्वाधार विकास कार्यालय मुस्ताङलाई ठेक्का प्रक्रिया अघि बढाउने बाटो खुलेको छ,” उनले भने “दुई वटै सडक पर्यटन, पशुपालन र कृषिको हिसाबले महत्वपूर्ण छ ।”

    करिब १३ किलोमिटर दूरीको मार्फा–धमाङ–आलुबारी सडकमा पर्ने मार्फाको पुरानो वस्ति धमाङमा ठूलो स्याउ बगैचा छ । परापुर्व कालमा मार्फाका बासिन्दाले आलु खेती गर्ने आलुबारी क्षेत्र जडिवुटी खेती र दृष्य अवलोकनका हिसाबले महत्वपूर्ण छ ।

    याकखर्क धौलागिरी चक्रिय पदमार्ग हुँदै म्याग्दीतर्फ जाने र आउने बाटोमा पर्छ । यसबाट धौलागिरी हिमाल आरोहण र पदयात्राका लागि जाने आउने पर्यटकहरुलाई सहज हुनेछ् । याकखर्क, आलुबारी क्षेत्रमा याकचौरीको खर्क छ ।

    हिन्दु र वौद्ध धर्मवालम्बीहरुको साझा तिर्थस्थल दामोदरकुण्ड जाने चराङदेखि सुरखाङ–यारा–घारा हुँदै घुयुमा ठाटी सडकबाट स्थानीयबासीका साथै दामोदरकुण्ड जाने आउने तिर्थयात्री र पर्यटकहरुलाई सहज हुने मुस्ताङ १(१) बाट निर्वाचित प्रदेश सांसद नम्दु गुरुङले बताए । धार्मिक, पर्यटन र पशुपालनका हिसाबले यो सडकको महत्व भएको उनले बताए ।

    गत वर्ष वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको १, २ र ३ नम्बर वडा जोड्ने रानीपौवा–झोङ–तेताङ र गुरुङको निर्वाचन क्षेत्रमा लोमान्थाङको पर्खाल वरपरको सडकलाई पक्की बनाउने रु. दस/दस करोड बजेटको योजना सुरु भएको थियो ।

    रानीपौवा–झोङ–तेताङ सडकलाई कालीगण्डकी कोरिडोरको जोमसोम–कोरला सडकको छुसाङ–कागबेनीखण्डको विकल्पका रुपमा पनि प्रयोग गर्न सकिन्छ । कागबेनी–मुक्तिनाथ–उपल्लो मुस्ताङ आवत-जावत गर्न सहज हुनेछ ।

    दुईवटै योजना ठेक्कामार्फत निर्माणाधिन रहेका पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले बताए । यस वर्ष झोङ–छेङ्गुर सडकमा पर्ने खोलामा मोटरेबल पुल निर्माणका लागि रु. नौ करोड १२ लाख बजेटको स्रोत सुनिश्चितता गराउने प्रक्रिया अन्तिम चरणमा रहेको प्रदेश सांसद शेरचनले बताए ।


    प्रकाशित : आइतबार, चैत्र १० २०८१११:५२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार