२०८३, कार्तिक ११ गते बुधबार

तापक्रम वृद्धिको असर सुन्तलाखेतीमा

तापक्रम वृद्धिको असर सुन्तलाखेतीमा


  • मेरोभ्यूज
  • चैत्र १०, २०८१ आइतबार

  • तापक्रम वृद्धिको असर सुन्तलाखेतीमा

    म्याग्दी । तीन दशकअघिसम्म लटरम्म सुन्तला फल्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटका नीलकण्ठ सुवेदीको बगैँचा अहिले रितिएको छ ।

    “स्वादिलो, रसिलो हुने भएकाले गलेश्वर र बेनीमा मौवाफाँटको सुन्तला खोसाखोस हुन्थ्यो”, सुवेदीले स्मरण गरे, “अहिले मौवाफाँटमा सुन्तला उत्पादन हुनै छाड्यो । बगैँचा पनि नासियो ।” कुनै समय राम्रो चर्चा र धेरै माग हुने मौवाफाँटको सुन्तला हाल एकादेशको कथाजस्तै भएको सुवेदीले बताए ।

    उनीकहाँ मात्र नभएर मौवाफाँटमा अहिले कसैको घरमा पनि बगैँचा छैन । एक जनाको एक सय बोटसम्म सुन्तलाको बगैँचा थियो । बीसभन्दा बढी बगैँचा थिए ।

    चिमखोला, दग्नाम, कुइनेमङ्गलेका बासिन्दाले कोदो, मकै, आलु ल्याएर मौवाफाँटबाट सुन्तला साटेर लैजान्थे । आलु र सुन्तलाको वस्तु विनिमय गर्ने चलन थियो । मौवाफाँटका क्षेत्री, बाहुन, ठकुरी र चिमखोला, दग्नामका मगर, कुइनेङ्गलेका छन्त्याल जातिबीच मितेरी साइनो लगाउने चलन पनि थियो ।

    केही वर्षयता घरायसी उपभोगका लागि लगाएको सुन्तलाको बोटमा पनि फल लाग्न छाडेको मौवाफाँटका बासिन्दा हरि सुवेदीले बताए ।

    तापक्रम वृद्धिको असर र माटोमा अम्लियपना बढेका कारण मौवाफाँटबाट सुन्तला नासिएको उनले बताए । टुनीको रूखहरू फैलिँदा सुन्तला खेतीमा असर परेको पनि उनको अनुभव छ ।

    दाना सानो लाग्ने, पात पहेँलो भएर झर्ने, हाँगा सुक्नेजस्ता समस्या देखिएको सुवेदीले बताए । रघुगङ्गा गाउँपालिकाको केन्द्र रहेको मौवाफाँट समुद्री सतहदेखि एक हजार दुई सयदेखि एक हजार चार सय मिटरको उचाइमा छ । मौवाफाँट त्यसभन्दा माथिल्लो क्षेत्रमा पर्ने फूलबारी, दुलेपानी र बुक्लमा सुन्तलाखेती राम्रो हुन थालेको छ ।

    फूलबारी, दुलेपानी र बुक्ल समुद्री सतहदेखि एक हजार पाँच सय मिटर हाराहारीको उचाइमा छन् । तापक्रम वृद्धिको असर सुन्तलाखेतीमा देखिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बास्तोलाले बताए ।

    “सुन्तलाखेतीका लागि समुद्री सतहदेखि नौ सयदेखि एक हजार पाँच सय मिटर उचाइको भूगोल उपयुक्त भए पनि पछिल्लो समय माथिल्लो क्षेत्रमा खेती हुन थालेको छ”, उनले भने - “यसअघि सुन्तला फल्ने तल्लो क्षेत्रमा उत्पादन नहुने र माथिल्लो क्षेत्रमा राम्रो उत्पादन हुन थाल्नुलाई तापक्रम वृद्धिको असरका रूपमा लिएका छौँ ।”

    हावापानी, मौसम र माटोको परीक्षण गरेर मात्र सुन्तला बगैँचा स्थापना गर्नुपर्ने उनले कृषकलाई सुझाव दिए । पुराना बगैँचामा फल टिपेपछि मल र पानी हाल्न, बोडोपेष्ट लगाउन बास्तोलाले सुझाए ।

    म्याग्दीमा आठ सय दस हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएकोमा चार सय २५ हेक्टरमा फल लाग्ने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।

    राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रून्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरूङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा छन् ।

    गत वर्ष तीन हजार छ सय मेट्रिक टन सुन्तला उत्पादन भएको म्याग्दीमा यो वर्ष चार हजार सात सय ८१ मेट्रिक टन उत्पादन भएको छ ।

    म्याग्दीका कृषकले यस वर्ष रू. ३३ करोड ४६ लाख मूल्य बराबरको सुन्तला बिक्री गरेका कृषि ज्ञान केन्द्रका प्रमुख बास्तोलले बताए ।

    गत वर्ष रू. २४ करोड मूल्य बराबरको सुन्तला बिक्री भएको थियो । सरदर प्रतिकिलो रू ७० का दरले सुन्तला बिक्री भएको छ । यस वर्ष प्रतिहेक्टर ११ दशमलब २५ मेट्रिक टनका दरले सुन्तला उत्पादन भएको छ । गत वर्ष प्रतिहेक्टर आठ दशमलव छ मेट्रिक टनका दरले सुन्तला उत्पादन भएको थियो ।

    कृषि ज्ञान केन्द्रका प्राविधिकहरूले ‘क्रप कटिङ’ विधिबाट सुन्तलाको उत्पादनको अवस्थाको बारेमा उत्पादनको अवस्था पहिचान गरेका हुन् । नयाँ बगैँचा विस्तार, अनुकूल मौसम र रोगकीराको समस्या नियन्त्रण भएकाले सुन्तलाको उत्पादन गत वर्षको तुलनामा करिब २५ प्रतिशतले बढेको हो ।

    जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौं, पोखरा, मुग्लिनलगायतका बजारमा सुन्तला बिक्री भएको छ ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र र स्थानीय तहको कृषि शाखाले सुन्तलाका बिरूवा वितरण, प्राविधिक तालिम, बगैँचा ब्यवस्थापन, साना सिँचाइ र बजारीकरणमा सहयोग गर्दै आएका छन् ।

    यस वर्ष चार सय रोपनीमा सुन्तला बगैँचा सुदृढीकरण कार्यक्रम सञ्चालन र थप ४० रोपनीमा खेती विस्तार गर्ने कार्यक्रम रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । सुन्तला म्याग्दीमा बिक्री हुने प्रमुख कृषिउपज हो ।


    प्रकाशित : आइतबार, चैत्र १० २०८१११:५५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार