काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा कटहरका रुख सुक्न थालेपछि किसान चिन्तित बनेका छन् ।
कटहरका लागि परिचित मण्डनदेउपुर क्षेत्रमा कटहरका रुख सुक्न थालेपछि किसानको आम्दानीमा असर परेको छ ।
विगत चार वर्षदेखि कटहरका बोट सुक्न सुरु गरेको यहाँका किसानको भनाइ छ । यस अवधिमा करिब एक हजार दुईसय कटहरका बोट सुकिसकेको स्थानीय ज्ञानमणि नेपालले बताए ।
“चार वर्षदेखि कटहरका रुख सुक्न थालेपछि यहाँका किसान निकै चिन्तित देखिएका छन्, किसानहरु अहिले उपचार खोजिरहेका छन्”, उनले भने ।
कटहर फल्ने मण्डनदेउपुरको ज्वानेटार, जोगीटार, कान्तिटार तथा माथिल्लो भेग श्रीचौर तथा ज्याम्दीलगायतमा रहेका सयौँको सङ्ख्यामा बोट सुकिसकेका छन् ।
यस भेगमा तरकारी खाद्यान्नसँगै कटहरलाई आम्दानीको गतिलो स्रोत मान्ने गरेका किसान अहिले निरास भएको स्थानीय नेपालको भनाइ छ ।
उनी भन्छन्, “किन कटहरका रुख सुक्दै, मर्दै गए भन्नेमा किसान त अनविज्ञ छन् नै, कतैबाट सुक्नुका कारण पत्ता लागेको छैन, याममा एउटै बोटबाट रु. दस हजारदेखि रु. २५ हजारसम्म आम्दानी हुने गरेकोमा अहिले आम्दानी शून्य जस्तै भएको छ ।”
किसान पशुपति श्रेष्ठको बारी कान्लामा केही वर्षअघिसम्म एक दर्जनभन्दा बढी कटहरका रुख थिए । जसमध्ये अहिले आठ वटा सुकिसकेको उनले बताए । बर्सेनी रु. ४० हजारको कटहर बेच्दै आएका उनले अहिले कटहर बेच्नै नपाउने अवस्थामा पुगेको छ । “अलिअलि फल्दैछन्, ती बाँकी बोट पनि कहिले सुक्ने हुन्, अब त रुख काटेर बाल्नुपर्ने अवस्था आउन थाल्यो”, श्रेष्ठको भनाइ छ ।
एउटै बोटमा तीनसयदेखि चारसय वटासम्म कटहर फल्ने गरेकोमा अहिले एकसय ५० वटा फल्म पनि मुस्किल हुन थालेको छ । कटहरका रुख मात्र सुक्न थालेपछि किसानहरु यसबारे अध्ययन हुनुपर्नेमा माग गर्दै आएका छन् ।
यस क्षेत्रमा करिब दुई हजारको हाराहारीमा कटहरका रुख छन् । यो कृषि-विज्ञका लागि चुनौतीको विषय बनेको चण्डेनीमण्डनका सामाजिक अगुवा अध्यक्ष हरिप्रसाद नेपालको बुझाइ छ ।
“कृषि विज्ञको टोलीले अनुसन्धान गरिरहेका छन्, रुखको जरामा ढुसी परेकोले सुकेको भन्ने प्रारम्भिक प्रतिवेदन आएको सुनिएको छ”, उनले भने ।
जिल्ला कृषि विकास कार्यालय धुलिखेलले गरेको अनुसन्धानले रुख कटहरको जरामै ढुसी-किराको प्रकोप देखिएको जनाएको छ । “तर यही रोग हो भनेर अझै प्रमाणित हुन भने सकेका छैन, थप अनुसन्धान हुन जरुरी देखिन्छ”, कृषि अधिकृत रमा कार्कीले भने ।

