२०८३, कार्तिक ११ गते बुधबार

उदाहरणीय कृषक भीमकान्त भन्छ-कृषिमा युवालाई आकर्षिक गर्नुपर्छ

उदाहरणीय कृषक भीमकान्त भन्छ-कृषिमा युवालाई आकर्षिक गर्नुपर्छ


  • मेरोभ्यूज
  • चैत्र १७, २०८१ आइतबार

  • उदाहरणीय कृषक भीमकान्त भन्छ-कृषिमा युवालाई आकर्षिक गर्नुपर्छ

    दाङ । घोराही उपमहानगरपालिका-१७ बाउन डाँडाका ६२ वर्षीय भीमकान्त चापागाई गोलभेँडा खेती गरी आर्थिकरूपमा सक्षम र सफल बनेको छ । उनले पाँच विगाहा जमिनमा गोलभेँडा खेती गरी वार्षिकरूपमा दसदेखि १२ लाख रूपैयाँ बचत गर्न सकेको बताए ।

    व्यावसायिक गोलभेँडा खेतीबाट अब्बल किसानका रूपमा चिनिन सफल छन् चापागाई । उनको गोलभेँडा खेती यो क्षेत्रकै नमूना पनि बनेको छ, जसले उपभोक्ता मात्र होइन देख्नेजति सबैलाई लोभ्याउने गर्दछ । उनको बारीमा अहिले लटरम्म फलेका गोलभेँडा कतै पाकेका छन्, केही पाक्ने तयारीमा छन् ।

    त्यही गोलभेँडा खेतीले उनलाई एक सफल एवं उत्कृष्ट किसानको परिचय दिएको छ । आफूलाई एक सफल कृषकका रूपमा स्थापित गर्न उनले धेरै मेहेनत पनि गरेको छ ।

    वि.स. २०७५ मा रू. चार लाखको लगानीमा अरूको जमिन भाडामा लिएर सो खेती सुरू गरेको बताउने चापागाई अहिलेसम्म गोलभेँडा खेतीमा रू. वीस लाखको हाराहारीमा लगानी गरेको बताउँछन् ।

    वार्षिक प्रतिकठ्ठा तीन हजारका दरले उनले जमिनको भाडा तिर्नुपर्छ । उनको कृषि फारममा अहिले छ जनाले रोजगारी पनि पाएका छन् । उनी भन्छन् - सबै खर्च कटाएर बार्षिक रु. १२ लाखसम्म बचत गर्न सकेको छु ।

    उनकी श्रीमती पनि यसै व्यवसायमा लागेको छ । दुई छोरा भने कामका लागि जिल्ला बाहिर छन् । एक वर्षमा गोलभेँडा खेतीबाटै यति कमाइ गर्न सक्नु सामान्य कुरा होइन । उनी भन्छन्, “म आफ्नो व्यावसायबाट सन्तुष्ट छु, खुसी छु । आफ्नै माटोमा खेलेको छु, माटोको माया बढ्दो छ ।” अहिले उनलाई बारीमै आएर ग्राहकहरूले गोलभेँडा खुर्सानीलगायतका तरकारी किनेर लग्दा आनन्द आउने गरेको सुनाए ।

    बर्दियाको गेरूवा गाउँपालिका-३ पर्सेनीमा स्थायी घर रहेका उनको खेतीयोग्य जमिन पनि छ । पर्याप्त मात्रामा सिचाईंको सुविधा पुगेको छ तर बजार अभाव र तरकारी खेतीका लागि आवश्यक पर्ने तापक्रमका कारण आफू खेती गर्नका लागि यहाँ आएको बताए ।

    उनी भन्छन्, “दाङमा धेरै नजिकका आफन्त रहेका र आफन्तहरूले गरेको गोलभेँडा तथा तरकारी खेती देखेपछि आफू यस खेतीतर्फ आकर्षित भइ सुरूवात गरेको हुँ । सुरूमा घोराहीस्थित मसिनामा एक बिघा जमिन भाडामा लिएँ । त्यहाँ गोलभेँडा खेती गरेँ ।” खेतीका लागि आवश्यक पर्ने जमिन अपुग भइ साँघुरो भएपछि त्यहाँ छाडेर विगत पाँच वर्षदेखि यस ठाउँमा खेती सुरू गरेको हुँ ।

    उनले अन्य जातका तरकारी भन्दा गोलभेँडा खेतीबाट धेरै लाभ लिन सकिने र एकपटक रोपेपछि लामो समयसम्म फल्ने र आम्दानी लिन सकिने भएकाले धेरै जमिनमा गोलभेँडा खेती गरेको बताए ।

    चापागाईले गोलभेँडासहित काँक्रो, खुर्सानी, बोडी, सिमीलगायतका तरकारी पनि लगाएको छ । उत्पादन भएको तरकारी लिन फार्ममै थोक व्यापारीहरू पुग्ने गरेका छन् । उनले अहिले टमाटरको सिजन भएकाले प्रतिकेजी रू. ३० मा बिक्री गर्नु परेको दुःखेसो पोखे । यसअघि गोलभेँडा प्रतिकेजी रू. ९० देखि सयसम्म बिक्री हुने गरेको थियो ।

    उनको बारीको गोलभेँडा दाङका विभिन्न बजार, बुटवल, पोखरा, नेपालगञ्जलगायतका सहरमा जाने गरेको छ । उनले कृषि प्रधान हाम्रो देशमा कृषिको अत्यन्तै राम्रो सम्भावना रहेको तर राज्य भने अझै पनि यस क्षेत्रका समस्या समाधानमा गम्भीर नभएको गुनासो गरे ।

    कृषिमा देशको अर्थतन्त्रको ठूलो योगदान रहेको भए पनि पछिल्लो समयमा कृषि उत्पादन अथवा कृषिजन्य वस्तुहरू बाहिरबाट आयात गर्नु दुःखद हो, चापागाईं भन्छन् । उनी नेपालमा तरकारी तथा कृषिजन्य उत्पादनहरू आयात गर्ने कामलाई निरूत्साहित गर्नुपर्ने सुझाव दिन्छन् ।

    राज्यले समयमा नै कृषिलाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउनुपर्ने यस क्षेत्रका दक्ष जनशक्ति विदेश पलायन भइरहेको अवस्थालाई रोक्नुपर्ने पनि उनले सुनाए । “देशभित्रै सीपमूलक कृषि कार्यक्रम सञ्चालन गर्नुपर्ने र विदेशीने युवालाई लक्षित गरेर स्वदेशमै रोक्न एकीकृत कृषि व्यवसाय फारम सञ्चालनमा ल्याउनु पर्दछ ।”

    आफ्नै माटोमा पसिना र पौरख पोख्न सके सुन फल्छ भन्दै किसान चापागाईं बर्सेनी कामका लागि विदेशीने युवालाई आफ्नै माटोमा पसिना पोख्न सुझाउँछन् । “हाम्रो धर्ती मलिलो छ, यहीँ रोपौँ जे पनि फल्छ, कामका लागि विदेशीनु पर्दैन ।”

    सरकारले खेती किसान गर्ने मानिसलाई वातावरण निर्माण गरिदिन, आवश्यक ऋण सकेसम्म सस्तोमा दिन र उत्पादित वस्तुको बजार सुनिश्चित गरिदिन सरकारसँग उनले आग्रह पनि गरे ।


    प्रकाशित : आइतबार, चैत्र १७ २०८१०८:१२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार