इलाम । अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका-६ स्थित हात्तीढुङ्गेको १४ रोपनी भिरालो जमिनमा वन तरुलको व्यावसायिक खेती थालिएको छ ।
हात्तीढुङ्गे टोलका १३ जनाले कृषक समूह गठन गरी व्यावसायिक वन तरुल खेती सुरु गरेका हुन् ।
हात्तीढुङ्गे कृषक समूहका अध्यक्ष प्रेमकुमार राईका अनुसार वार्षिक रु. २५ हजार भाडा तिर्नेगरी भिरालो जग्गामा तरुल खेती सुरु गरिएको हो ।
समूहलाई माङसेबुङ गाउँपालिकाले रु. एक लाख सहयोग गरेको छ । माङसेबुङ गाउँपालिकाले परम्परागत कन्दमूल खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत उक्त रकम उपलब्ध गराएको हो ।
किसान समूहले वन तरुलसँगै गिठा र भ्याकुरको समेत खेती गर्न थालेको छ । हाल बगानमा १६ हजार बोट वन तरुल, चार सय ५० बोट भ्याकुर र एक सय ५० बोट गिठा हुर्काएको छ । तीन वर्षपछि मात्र तरुल उत्पादन हुने जनाइएको छ । खेती विस्तारका लागि बीउ जङ्गलबाट नै सङ्कलन हुने गरेको छ ।
गहिरो खाल्डो खनेर प्रशस्त मल राखेर एक पटक बीउ रोपेपछि पटक-पटक रेखदेख गर्न नपर्ने भएकाले तरुल खेती अन्य खेतीभन्दा सजिलो भएको उनले जनाए ।

