२०८३, कार्तिक १७ गते मंगलबार

काठमाडौँमा पनि कार्यान्वयनमा आयो नागरिकताको अनलाइन सिफारिस सेवा

काठमाडौँमा पनि कार्यान्वयनमा आयो नागरिकताको अनलाइन सिफारिस सेवा


  • मेरोभ्यूज
  • चैत्र १९, २०८१ मंगलबार

  • काठमाडौँमा पनि कार्यान्वयनमा आयो नागरिकताको अनलाइन सिफारिस सेवा

    काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस सुरुआत गरेको छ । काठमाडौँ उपत्यकाभित्र पहिलोपटक नगरपालिकाले वडा नं १२ बलम्बुबाट सो सेवाको थालनी गरेको हो । यसका लागि गृहमन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वय र सहकार्यमा नगरपालिकाले कार्यपालिका सदस्य एवं १५ वटै वडाका सचिवलाई आवश्यक तालिम प्रदान गरेको थियो ।

    नगरप्रमुख घनश्याम गिरी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले चन्द्रागिरि-१२ बलम्बु निवासी अनुज महर्जन र टिसा श्रेष्ठलाई अनलाइन सिफारिस प्रदान गरेर सो सेवाको सोमबार थालनी गरे । गृह मन्त्रालयका अनुसार पुस मसान्तसम्म २८ जिल्लाका दुई हजार वडाले अनलाइन सिफारिस सुरुआत गरिसकेका छन् । मन्त्रालयले नागरिकता प्राप्ति प्रक्रियालाई थप सहज बनाउने ध्येयले विसं २०८० देखि नवलपरासीको गैँडाकोटबाट सो सेवा सुरु गरेको थियो भने यो कार्य सबै पालिकाबाट कार्यान्वयनमा आउने जनाएको छ । अनलाइन सेवाबाट अभिलेखीकरणमा सहजता, सेवा प्रवाहमा छरितो, किर्ते विवरण भरेर नागरिकता लिने कार्य रोकिने बताइएको छ ।

    चन्द्रागिरि नगरपालिकाले सबै वडामा नागरिकताको अनलाइन सिफारिस सेवा प्रदान गर्ने जनाएको छ । नगरपालिकाबाट प्रदान गरिने सेवालाई अनलाइनमार्फत प्रदान गर्ने नीतिअनुरुप हाल नक्सापास, राजस्व र पञ्जीकरण सेवा अनलाइनमार्फत भइरहेको छ । कार्यक्रममा नगरप्रमुख गिरीले नगरपालिकाले आफ्ना सेवालाई प्रविधिमैत्री बनाउँदै जाने नीति लिएको जानकारी दिँदै विद्युतीय हस्ताक्षर (डिजिटल सिक्नेचर) छिट्टै कार्यान्वयनमा ल्याइने जानकारी दिए ।

    प्रमुख प्रशासकीय अधिकृत अर्यालले नागरिकताको अनलाइन सिफारिस हुँदा नाम, थर, ठेगानालगायत अन्य आवश्यक कुरा अशुद्ध हुने समस्या सकेसम्म अन्त्य हुने र सेवाग्राहीले बिनाझन्झट सेवा पाउने जनाउँदै नगरपालिकाका अन्य सेवालाई पनि अनलाइनमार्फत प्रदान गरिँदै लगिने बताए । नगर उपप्रमुख वसन्ती श्रेष्ठले प्रविधिमैत्री सेवाका लागि सेवाग्राही पनि प्रविधिमैत्री बन्नुपर्छ भने ।

    सहायक प्रमुख जिल्ला अधिकारी काठमाडौँका मुक्तिराम रिजालले काठमाडौँ उपत्यकाभित्र पहिलोपटक चन्द्रागिरि नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस सेवा सुरु गरेकामा नगरपालिकालाई धन्यवाद दिँदै यो सेवा काठमाडौँका सबै पालिकामा कार्यान्वयमा ल्याइने जानकारी दिए । गृह मन्त्रालयका कम्प्युटर इञ्जिनियर दिवस कार्कीका अनुसार नागरिकताको अनलाइन सिफारिस सेवाले नागरिकता प्राप्तिमा थप सहजता हुने छ । हाल वंशज, वैवाहिक, अङ्गीकृत र गैरआवासीय नागरिकताका लागि अनलाइन सिफारिस लिन सकिने छ । चन्द्रागिरि-१२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनले नागरिकताको अनलाइन सिफारिस सेवाले सेवाग्राहीलाई नागरिकता प्राप्तिका लागि थप सहज बनाएको बताए ।


    प्रकाशित : मंगलबार, चैत्र १९ २०८११०:२६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार