२०८३, कार्तिक ११ गते बुधबार

सिसा, धातु र प्लास्टिकजन्य फोहर व्यवस्थापन

सिसा, धातु र प्लास्टिकजन्य फोहर व्यवस्थापन


  • मेरोभ्यूज
  • चैत्र २५, २०८१ सोमबार

  • सिसा, धातु र प्लास्टिकजन्य फोहर व्यवस्थापन

    म्याग्दी । मुस्ताङमा नकुहिने सिसा, धातु र प्लास्टिकजन्य फोहर व्यवस्थापन अभियान सञ्चालन भएको छ ।

    स्थानीय तह, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), आमा समूह र युवा क्लबहरूले प्रदूषण न्यूनीकरण गर्न प्लास्टिक, धातु र सिसाजन्य फोहर व्यवस्थापनमा जुटेका हुन् ।

    एक्याप जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले पदमार्ग र बस्तीमा नकुहिने फोहर सङ्कलन गरेर पोखरा पठाउने व्यवस्था मिलाएको जानकारी दिए ।

    “हिमाली भूगोल भएको मुस्ताङमा प्लास्टिक र सिसाजन्य फोहरका कारण प्रदूषण बढ्न थालेको, मानिस, घरपालुवा जनावर र वन्यजन्तुको स्वास्थ्यमा असर पर्ने देखिएकाले व्यवस्थापन अभियान चलाएको हो”, उनले भने, “टोल र वडास्तरमा सिसा र प्लास्टिकजन्य फोहर राख्ने ठाउँ बनाइएको छ ।”

    सङ्कलन हुने फोहरलाई एक्यापले गाडीमा ढुवानी गरेर पोखरा पुनःप्रशोधन केन्द्रमा पठाउने व्यवस्था मिलाएको रेग्मीले जानकारी दिए ।

    मुस्ताङको नकुहिने फोहर व्यवस्थापनका लागि पोखराको ग्रिन रोड वेष्ट म्यानेजमेन्ट प्रा.लि.सँग सम्झौता भएको छ । ग्रिन वेष्ट म्यानेजमेन्टले फोहरलाई प्रशोधन गरेर पुनःप्रयोग गर्न मिल्ने र अन्य सामग्री बनाउने गर्छ ।

    घरपझोङ गाउँपालिका–४ जोमसोम र वडा नं. ३ पुथाङमा सङ्कलन भएको एक सय २९ बोरा (एक हजार नौ सय ८६ किलोग्राम) प्लास्टिक, सिसा र टिनजन्य फोहर यसै हप्ता पोखरा पठाइएको एक्याप जोमसोमले जनाएको छ ।

    यसअघि गत माघ ३ गते घरपझोङको स्याङ र ठिनीबाट ५४ बोरा र २६ कार्टुन (एक हजार दुई सय ३८ दशमलव पाँच) किलोग्राम फोहर पोखरा पठाइएको थियो ।

    गत कात्तिक पहिलो हप्ता चार हजार पाँच सय १६ मिटर उचाइमा रहेको थोराङ्ला पासमा प्रहरी र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका जनप्रतिनिधिको सहभागितामा करिब ३० बोरा नकुहिने फोहर सङ्कलन र व्यवस्थापन गरिएको थियो ।

    घर तथा होटलमा हुने र सार्वजनिकस्थलका सिसा, प्लास्टिक र टिनजन्य फोहरलाई सङ्कलन केन्द्रमा राख्ने गरिएको छ ।

    फोहरका कारण दीर्घकालीन हिसाबले वातावरण प्रदूषण हुनुका साथै वन्यजन्तु र घरपालुवा बस्तुले खाएर उनीहरू बिरामी पर्ने समस्या देखिएपछि व्यवस्थापन गर्न थालिएको एक्याप जोमसोमका प्रमुख रेग्मीले बताए ।

    एक्यापले यस वर्ष घाँसा, लेते र कोवाङमा थप फोहर सङ्कलन केन्द्र बनाउने तयारी गरेको छ ।

    घरपझोङ गाउँपालिकाले प्रदूषण नियन्त्रणका लागि सिसाजन्य मदिराको बिक्री वितरणमा कडाइ गरेको र प्लास्टिकको झोलाको विकल्पमा कपडाको झोला प्रयोगको अभियान सञ्चालन गरेको अध्यक्ष मोहनसिङ लालचनले जानकारी दिए ।


    प्रकाशित : सोमबार, चैत्र २५ २०८१०८:५६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार