२०८३, कार्तिक १२ गते बिहीबार

लौका बेचर मासिक रु.  ४० हजार आम्दानी

लौका बेचर मासिक रु.  ४० हजार आम्दानी


  • मेरोभ्यूज
  • बैशाख १, २०८२ सोमबार

  • लौका बेचर मासिक रु.  ४० हजार आम्दानी

    इलाम । जिल्लाको चुलाचुली गाउँपालिका-२ की हिमादेवी भण्डारीले लौका बेचर मासिक रु. ४० हजार आम्दानी गर्दै आएकी छिन ।

    कृषि पेसाबाट केही हुँदैन भन्नेका लागि उनी परिवार र समाज समृद्ध बन्नसक्ने उदाहरणीय पात्र बनेकी छिन ।

    भण्डारी बिहान सबेरैदेखि तरकारी बारीमा भेटिन्छिन । दिउँसो उत्पादित वस्तु बजार लैजाने, बेच्ने र बेलुका पुनः करेसाबारीमा खटिने उनको दैनिकी हो ।

    सिजनमा मात्रै तरकारी र फलफूल उत्पादन हुने बताउँदै उनले बेमौसमी तरकारीखेती गर्नसके मनग्ये आम्दानी गर्न सकिने धारणा राखिन ।

    भण्डारीले दस बिघा जमिनमा विभिन्न कृषिउपजको खेती गरेको बताइन । “अहिले हरियो मकै खानेबेला भएको छ, विभिन्न तरकारी पनि छन् । आफ्नो छ कट्ठा मात्र जमिन छ । बाँकी भाडामा लिएर खेती गरिरहेका छौँ”, उनले भनिन ।

    बारीमा अधिकांश समय लौका हुने उनको भनाइ छ । गत असोजदेखि उत्पादन सुरु भएको लौका अहिलेसम्म बिक्री भइरहेको छ । सुरुमा प्रतिलौका रु. एक सय ७० मा बिक्री गर्दै आएकी उनले अहिले भने रु. ५० मा बिक्री हुने गरेको बताइन ।

    उनले उत्पादित कृषिउपज झापाको दमकमा लगेर बिक्री गर्छिन । करिब सात किलोमिटरमा पर्ने यो बजारमा उनी दैनिक जसो जाने गर्छिन ।

    भण्डारीले मासिक रु. ४० हजार बढी लौकाबाट आम्दानी हुने गरेको बताइन । उनले भनिन, “लौका बेचेर छोरा बुहारीलाई जापान पठाएँ । दैनिक घरव्यवहार चलाउन समस्या छैन ।” छोरा बुहारीलाई जापान पठाउन लिएको ऋण रु. १५ लाख तिरिसक्न लागेको उनले उल्लेख गरिन ।

    लौकाबाहेक स्थानीय कुरिलो, बोडी, मुन्टा, अन्य तरकारी र मेवा उत्पादन भइरहेको भण्डारीले बताइन । घरमा दही जमाएर मोही र नौनी घिउ पनि बिक्री गर्ने गरेको बताउँदै उनले आफ्नो उत्पादनसँगै गाउँमा उत्पादित वस्तु पनि उनले बजार लगेर बिक्री गर्छिन ।

    “दही, मोही बेचेको देखेर कतिपयले दहीवाली दिदी पनि भन्छन् । कर्मले दहीवाली दिदीसमेत बनाएको छ । यो नामले बोउँदा झन खुसी लाग्छ”, भण्डारीले सुनाइन ।

    उनका श्रीमान भुपू प्रहरी हुन् । श्रीमानले उत्पादित वस्तु चुलाचुलीको गाउँमा लैजाने गरेको भण्डारीको भनाइ छ । “बस्ती बाक्लो भएका ठाउँमा डुलाउन पर्दैन । डुलाएर बेच्दा भने मूल्य महँगो पर्दछ”, उनले भनिन ।

    भण्डारीले १७ वर्षअघिदेखि यो पेसालाई निरन्तर दिँदै अहिले व्यावसायिक तरकारीखेतीमा संलग्न भएको बताइन । हालै स्थानीय निकायबाट अनुदानका कार्यक्रममा सहभागी भएको उनले जानकारी दिइन ।

    दीपज्योति कृषि फार्म सञ्चालन गरेकी भण्डारीले मौसमीभन्दा बेमौसमी तरकारीखेतीले प्रशस्त आम्दानी हुने अनुभव सुनाइन । कृषिमा अर्ग्यानिक उत्पादनमा गर्नुपर्नेमा जोड दिँदै उनले घर भएका गाई र बाख्राको मल प्रयोग गर्ने गरेको जानकारी दिइन ।

    आफूले दस जनालाई रोजगारी दिएको जनाउँदै भण्डारीले कतिपयलाई घण्टाका आधारमा र कतिपयलाई दैनिक ज्यालादारीमा कामदार राखेको बताइन । प्रेसर, सुगर भएकाहरूले लौका खोज्दै घरसम्म आउने उनको भनाइ छ ।

    एउटै लौकाको पाँच हजार

    भण्डारीले एउटै लौकाबाट रु. पाँचदेखि रु. सात हजारसम्म आम्दानी गरेको जानकारी दिइन । लौका तरकारीका रूपमा बेच्दा रु. दुई सयसम्म परे पनि यसको बीउबाट बढी फाइदा लिन सकिने उनले बताइन । रु. ५० को तीन वटा बीउ घरबाट बिक्री हुने उनले जानकारी दिइन ।

    “ध्वाँसे र घिउ लौका बजारमा बढी माग हुन्छ । यसको बजारीकरणमा समस्या छैन । ठूलो दाना भएको लौकामा बढी बीउ हुने भएकाले मूल्य साट्ने पनि गर्छौँ । सानो दानामा कम बीउ हुँदा कम मूल्य पर्दछ । लौकाको बीउका साथै बोडी, काँक्रा, सिमीलगायत तरकारीको बीउ पनि उत्तिकै बिक्री हुन्छ”, भण्डारीले जानकारी दिइन ।


    प्रकाशित : सोमबार, बैशाख १ २०८२१०:३२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार