२०८३, कार्तिक १७ गते मंगलबार

कफी उत्पादन प्रविधि तालिम

कफी उत्पादन प्रविधि तालिम


  • मेरोभ्यूज
  • बैशाख २, २०८२ मंगलबार

  • कफी उत्पादन प्रविधि तालिम

    काभ्रेपलाञ्चोक । महाभारत गाउँपालिका–५ का कफी उत्पादक किसानलाई उत्पादन र प्रशोधन प्रविधिसम्बन्धी तालिम दिइएको छ ।

    बागमती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सहयोगमा कृषि विकास कार्यालय र महाभारत साना किसान कृषि सहकारी संस्थाको समन्वयमा ‘समुदायमा आधारित एक वडा एक उत्पादन’ कार्यक्रमअन्तर्गत किसानलाई तालिम दिइएको हो ।

    बागमती प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले ‘एक वडा एक उत्पादन’ कार्यक्रमलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने सन्दर्भमा महाभारत र खानीखोला गाउँपालिका, मण्डदेउपुर नगरपालिका र कोशीपारिका भुम्लु र चौँरीदेउराली गाउँपालिका कफी उत्पादनका निम्ति सम्भावनायुक्त भएकाले स्थानीय तहसँगको साझेदारीमा ती क्षेत्रलाई कफी पकेट इलाकाका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए ।

    महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले कृषिलाई उद्यमका रूपमा विकास गर्न सर्वप्रथम बाटो र बिजुलीलगायत पूर्वाधार निर्माण आवश्यक भएकाले पालिकाले त्यसलाई नै प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

    कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले महाभारत गाउँपालिकामा गत वर्षदेखि सामुदायमा आधारित 'एक वडा एक उत्पादन' कार्यक्रम सञ्चालन हुँदै आएकामा यस वर्ष कफी उत्पादन वृद्धिका लागि तालिमको व्यवस्था गरिरहेको बताए ।

    कृषि विकास कार्यालयले यस वर्ष ४० हजार कफीका बिरुवा वितरण गर्ने योजना रहेको उनले जानकारी दिए । यस वर्ष सो वडामा प्रदेश सरकारको रु. ३० लाख, गाउँपालिका र किसानको रु. १०/१० लाख गरी रु. ५० लाख लागत साझेदारीमा कफी प्रशोधनमा प्रविधि भित्र्याइने जनाएको छ ।

    महाभारत साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हस्तबहादुर दर्लामीले नवीन प्रविधि भित्रिएपछि उत्पादकत्व वृद्धि हुने विश्वास व्यक्त गरे । त्रिदिवसीय तालिममा ९० जना किसान सहभागी थिए ।


    प्रकाशित : मंगलबार, बैशाख २ २०८२११:४२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार