काठमाडौं । जनता समाजवादी (जसपा) का उपमहासचिव एवं खानेपानी मन्त्री प्रदीप यादवले वीरगञ्जमा शान्ति र सदभाव कायम राख्न आमनागरिकमा अपिल गरेका छन् ।
पछिल्लो केही दिनयतादेखि वीरगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच द्वन्द्व भइरहेकाले उनले आज सामाजिक सञ्जालमार्फत शान्ति र सद्भाव कायम राख्न सबै समुदाय एवं नागरिकमा अपिल गरेका हुन् ।
मन्त्री यादवले वीरगञ्ज क्षेत्रमा एक अर्का समुदायको पर्व–यात्रामा मिलिजुली मनाउने, सहयोग तथा सद्भाव राख्ने गौरवशाली परम्परा रहिआएको तथा यहाँका बासिन्दाको सुझबुझ र समझदारीले गर्दा देखापर्ने पारस्परिक तनाव वा असमझदारीलाई आपसी संवादको माध्यमबाट समाधान गर्ने गरिएको विगत रहेको उल्लेख गरेका छन् ।
वीरगञ्ज सबैको साझा फूलबारी भएको र यहाँ शान्ति, सद्भाव एवं मेल–मिलाप कायम राख्नु सबैको साझा जिम्मेदारी भएको उनले बताए ।

