काठमडौं । बबरमहलस्थित नेपाल कला परिषदमा पाँच महिला कलाकारले संयुक्त कला प्रदर्शनी सुरु गरेका छन ।
‘टुगेदरनेस’ शीर्षकमा सुरु भएको प्रदर्शनीमा अवलोकनकर्ताले कलाकृतिबारे खुलेर प्रसंशा गरेका छन् ।
प्रदर्शनीमा कृति शाह चन्द, कीपा राणा, पूजा अग्रवाल, सन्ध्यासिंह महर्जन र सगुन शाह सिंहका सृजना राखिएका छन । प्रदर्शनी यही चैत २५ गते सञ्चालन हुनेछ ।
कलाकार कृति शाह चन्दले आफूले आरोह अवरोह शीर्षकको अमूर्त कलामा मानवीय जीवनका उतारचढावलाई क्यानभासमा उतारेको बताइन । उनले भनिन, “मान्छेको जीवनमा सुख, दुःखसहितका उतारचढाव आइरहन्छ, त्यसलाई आत्मसात् गर्दै अघि बढ्नुपर्छ भन्ने सन्देश कलामार्फत प्रस्तुत गर्ने प्रयास गरेकी हुँ ।”
उनले आफूले जीवनमा भोगेका विभिन्न परिस्थितिलाई कुचीमार्फत क्यानभासमा उतारेको सुनाए । उनका पारसमणि, अटुमन लभ, शान्तिको प्रतिक स्वयम्भूनाथलगातका कला प्रदर्शनीमा राखिएकी छिन ।
कलाकार कीपा राणाले दैविशक्तिको सशक्त धारलाई क्यानभासमा उतारेकी छिन । उनले भनिन, “म शिवजीको भक्त हुँ, उनका सबै स्वरुपहरु चित्ताकर्षक लाग्छन्, त्यही समर्पण भावलाई कलामा समेट्ने प्रयास गरेकी हुँ ।”
पौभा कलालाई मूलधारमा समेट्दै अघि बढेकी कलाकार सन्ध्यासिंह महर्जनका कलाले पनि धेरैको मन तानेकी छिन । नेपाली कलाको धरोहर मानिने लोककला विधाको पौभामा उनका कृति उत्कृष्ट देखिएका छन् ।
उनले भनिन, “सहस्रभुजा लोकेश्वरको पौभा बनाउन साढे दुई वर्ष लाग्यो, महाकालको पौभा कला बनाउन दुई वर्ष लाग्यो ।” उनको ‘न्यूड आर्ट’मा पनि धेरै अवलोकनकर्ताले रुचिपूर्वक हेरेका थिए ।
कलाकार पूजा अग्रवालले आफूले यथार्थ र भ्रमको परिकल्पनाका आधारमा कला सिर्जना गरेकी बताइन । उनले भनिन, “वास्तविक जीवनमा हामीले भगवानको स्वरुप देखेका छैनौँ र सानो छँदा आमाले सही र गलतबीचको फरक फूलको बिरुवाको उदारहण दिँदै बताएकी थिइन, त्यसैलाई कल्पना गर्दै क्यानभासमा उतारेकी हुँ ।”
कलाकार सगुन शाह सिंहको कलामा भगावन गणेशका अनेक भावहरु समेटिएकी छिन् । मनमोहक गणेश, सौम्य गणेश, रङ्गीन स्वभावका गणेशका चित्र र चरित्रहरु क्यानभासमा उतारिएकी उनले बताइन ।
उनले भनिन, “सानैदेखि म गणेश भगवान्को व्रत बस्थे, गणेश भगवानप्रतिको लगाव नै चित्रहरुमा कुँदिएकी छु ।”
ललितकला गुठीको आयोजनामा सुरु भएको प्रदर्शनीले महिला कलाकारको सामूहिकता र कलाको निखारता दुवैलाई एकसाथ समेटेको गुठीका संस्थापक उत्तम डङ्गोलले बताए ।
वरिष्ठ कलाकार शशिविक्रम शाहले नारी शक्ति पुरुष शक्तिभन्दा सशक्त रहेको टिप्पणी गरे । महिलाको संयुक्त प्रयासले समाजमा कलामार्फत गहन प्रभाव पारेको उनको भनाइ थियो ।
वरिष्ठ साहित्यकार पदमावती सिंहले सबै महिला कलाकारको संयुक्त प्रयासले कला पारखीको मन छुन सफल भएको बताइन ।
प्रदर्शनीका क्युरेटर स्मृति कर्माचार्यले महिलालाई कला क्षेत्रमा अघि बढाउनका लागि यसले सहयोग गरेकी बताइन ।

