२०८३, कार्तिक १२ गते बिहीबार

नौमती बाजा बजाउँदै

नौमती बाजा बजाउँदै


  • मेरोभ्यूज
  • बैशाख १६, २०८२ मंगलबार

  • नौमती बाजा बजाउँदै

    बागलुङ । चैतेदसैँको अवसरमा कालिका मन्दिर पुग्ने जङ्गलको बीच भागमा नौ जनाले नौमती बाजा बजाएर घरखर्चको जोहो गरिरहेका छन् ।

    पोखरा आसपासको क्षेत्रमा बसोबास गर्ने उनीहरूले शुक्रबारदेखि कालिका मन्दिर परिसरमा नौमती बाजा बजाएर घरखर्चको जोहो गरिरहेको हो । नौमध्ये दुई जना मात्रै सवलाङ्ग छन् । उनीहरूको समूहमा दुई महिला र सात जना पुरुष सहभागी छन् ।

    बागलुङको कालिका मन्दिर दर्शनका लागि कालिका बालउद्यानबाट मन्दिरतर्फ जाने बाटोमा ह्विलचियरमा बसेर बाजा बजाएको दृश्यले सबैलाई आकर्षित गर्दछ ।

    नौमती बजाउनेमध्ये सात जना शारीरिकरूपमा अशक्त रहेको ध्रुव नेपालीले बताए । ह्विलचियरमा बसेर नौमती बाजा बजाउन सिकेको उल्लेख गर्दै यो सीपले जीविकोपार्जनमा सहज भएको बाजा बजाउँदै उनले जानकारी दिए ।

    “अपाङ्गता भएकाहरू एकजुट भएर बाजा बजाउन सिकेका हौँ । ढाड भाँचिए पनि परिवारको खर्च जुटाउनुपर्ने बाध्यता छ । त्यसै मागेर हिड्नुभन्दा नौमती बाजा बजाएर कलाको संरक्षणसँगै खर्च सङ्कलनको पहल थालेका हौँ । बाजा मन पर्नेले दिएको रकमबाट घर खर्च चल्ने गरेको छ”, उनले भने, “कामसहित प्रतिभा देखाए सबैले माया गर्छन् । सङ्कलन भएको रकम नौ जनाले बाढेर घर खर्चको जोहो गर्दछौँ ।”

    दाताहरूले दिएको थोरै रकमले पनि आफूहरूलाई राहत मिल्ने गरेको जनाउँदै मेला, पर्व तथा मानिसको आवत-जावत र घुइँचो बढी हुने क्षेत्रमा ह्विलचियरमै बसेर नौमती बाजा बजाउने गरेको भुमिराज थापाले बताए ।

    समूहमा सात जना अपाङ्गता भएका व्यक्ति रहेको जनाउँदै उनले सातै जनाको ढाडसम्बन्धी समस्या रहेको उल्लेख गरे । कसैको भिरबाट लडेर, कसैको सवारी दुर्घटनामा परेर ढाड भाँचिएपछि ह्विलचियरको सहारा लिँदै आएको उनको भनाइ छ ।

    “सबैमा ढाडको समस्या छ, उनीहरू हिड्न सक्दैनन् । ह्विलचियरमा बसेरै बाजा बजाएर सङ्कलन भएको रकमले घर खर्चको जोहो हुँदै आएको छ । चैतेदसैँ मेलामा अझै तीन दिन बाजा बजाएर पोखरा फर्कर्ने योजना छ”, थापाले भने, “अपाङ्गताले प्रतिभालाई छेक्ने रहेनछ, अहिले मेला महोत्सवमा बाजा बजाउँदा धेरैले माया र सम्मान गर्छन् ।”

    शारीरिक अपाङ्गता भएकाले टाढा-टाढा जान भने समस्या भएको धना मगरले गुनासो गरे । “शारीरिकरूपमा अशक्त भएपनि कला र प्रतिभा देखाउन सकेमा यसको संरक्षण हुनुका साथै जीविकोपार्जनमा पनि सहजता हुन्छ”, उनले भने ।

    उनले सडकको पहुँच पुगेका स्थानमा बाजा बजाउन जान सहज हुने बताउँदै मेला, पर्वमा आफूहरू बाजा बजाउँदै आएको अनुभव सुनाए ।


    प्रकाशित : मंगलबार, बैशाख १६ २०८२१०:०९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार