सर्लाही । सिराहाको औरही गाउँपालिका–५, मा महायज्ञको नाममा जातीय विभेद गरेको घटनाको सेलाएको छैन । त्यसविपरीत सर्लाहीमा भने विभिन्न नाममा हुने विभेदका घटनालाई चुनौती दुवै समुदाय मिलेर महायज्ञ आयोजना गरिएको छ ।
जिल्लाको चन्द्रनगर गाउँपालिका–२, बबरगन्जमा दलित र गैरदलित समुदायका अगुवाहरूको नेतृत्वमा विश्वकल्याणको कामनासहित चैत २० गतेबाट नवाह महायज्ञ सञ्चालन भएको छ । बबरगन्जस्थित सवरी कुटी हनुमान मन्दिर परिसरमा सामूहिकरूपमा महायज्ञको आयोजना गरिएको वडाध्यक्ष शम्भु साह तेलीले जानकारी दिए ।
महायज्ञमा दलित समुदायलाई प्रतिनिधित्व गर्ने गुरुद्वय रामचन्द्र दास र बिसुनी दासले कथावाचन गरिरहेको छ ।
महायज्ञ नौ दिनसम्म सञ्चालन हुने आयोजक समितिका संयोजक मनोज दासले जानकारी दिए ।
कथाश्रवणका लागि नजिकैका गाउँबाट सबै समुदायका सयौँ स्थानीय दैनिकजसो सहभागी भइरहेका उनले बताए ।
आयोजक समिति सदस्य देवनारायण महतोले सबैको सल्लाहबमोजिम सामाजिक सन्देश प्रवाह गर्ने गरी मन्दिरमा महायज्ञ आयोजना गरिएको बताए ।
भगवान र धर्मको नाममा उचनीच भेदभाव गर्न नहुने सन्देश दिन महायज्ञ सफल हुने उनको विश्वास छ । “धर्म र भगवानको कुरा गर्दा सबै समान छौँ । सानो ठूलो भनेर जातको कुरा र विभेद गरे कसरी पुण्य हुन्छ ?”, उनले प्रश्न गरे, “यो त अपमान भयो, भगवानको घरमा हामी सबै समान हौँ । कसैलाई उनले काखा र पाखा गर्छन । त्यो भावना पालेर गरिने काम धर्म होइन ।”
समितिका अर्का सदस्य रुपलाल महतोले आफ्नो समाजमा हरेक मठ मन्दिरमा हुने पूजा-आजामा सबैको साझा प्रतिनिधित्व रहेको बताए ।
गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले मधेशमा जातीय हिसाबले दलित भनेर हेपिएका दास समुदायकै युवाहरूको अगुवाईमा सुरु भएको महायज्ञले समाजमा जातका पक्षपातीलाई गतिलो जवाफ दिएको बताए । यस महायज्ञले समाजलाई एकताको सूत्रमा बाँध्ने काम गरेको उनको भनाइ छ ।
“केही दिन पहिला मात्र महायज्ञ लगाउने नाममा सर्लाहीमा दलित परिवारको उठिबास लगाएको घटना बाहिरिएको थियो । त्यति मात्रै होइन दलित परिवारको घरले चर्चेको स्थानको माटो खनेर फालेको खबर पनि सुन्यौँ”, अध्यक्ष महतोले भने, “यहाँ दलित र गैरदलित समुदायको आयोजनामा भएको नवाह महायज्ञमा दलित समुदायका दुई जना गुरुहरूले कथावाचन गरिरहेको छ । त्यसको आनन्द सबै समुदायका नागरिकले लिइरहेका छन् । यो एक उदाहरणीय कार्य हो । धर्मले समाजलाई तोड्ने नभइ जोड्ने काम गर्नुपर्छ । त्यो सन्देश दिन सफल भएका छौँ ।”
महायज्ञ स्थलमा भगवान विष्णुका ५२ अवतारको प्रतिमासमेत निर्माण गरिएका छन् । स्थानीय मूर्तिकार तनकी दासले उक्त मूर्ति निर्माण गरेको महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक दासले बताए । गाउँका स्थानीय अगुवा तथा सामाजिक व्यक्तिहरूको सहभागितामा माना मुठी सहयोग सङ्कलन गरेर महायज्ञ भइरहेको उनले जानकारी दिए ।
महायज्ञमा दैनिक पाठ पारायण, भजनकीर्तन तथा झाकी प्रदर्शन भइरहेको आयोजक समिति सदस्य संजीप साहले बताए । समितिमा गैरदलित समुदायबाट राम इकवाल महतो, परशुराम झा, वंशिलाल महतो र गौरी महतोलगायत रहेका छन ।

